राष्ट्रिय सभाका १९ सांसदका लागि माघमा चुनाव गर्ने तयारी
निर्वाचन आयोगले राष्ट्रिय सभाका १९ सांसदका लागि आउँदो माघ दोस्रो साता चुनाव गर्ने तयारी गरेको छ।
राष्ट्रिय सभाका १९ सांसदको आउँदो फागुन २१ गते समयावधि सकिंदै छ। त्यसको एक महीनाअघि माघ दोस्रो साता चुनाव गर्ने तयारी रहेको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताए।
प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा बोल्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले फागुन २१ गते राष्ट्रिय सभाका २० जना सांसदको पद रिक्त रहने र त्यसमध्ये १९ सांसदका लागि निर्वाचन गर्नुपर्ने बताए। त्यसका लागि आयोगले माघको १०, ११ अथवा १२ गतेभित्र चुनाव गर्ने तयारी गरिरहेको थपलियाको भनाइ थियो।
“आगामी फागुन २१ गते रिक्त हुन आउने एकतिहाइ, यो चोटि १९ जना पर्नुभएको छ। २० वटा रिक्त हुँदै छ तर निर्वाचन १९ वटा पदको गर्नुपर्छ,” थपलियाले भने, “माघको दोस्रो साता निर्वाचन सम्पन्न गर्ने गरी आवश्यक तयारी गरेका छौं।”
त्यस्तै, प्रतिनिधि सभा, प्रदेश सभा र स्थानीय तहका विभिन्न रिक्त पदका लागि आगामी वैशाखमा निर्वाचन गर्न सरकारसँग परामर्श भइरहेको पनि उनले बताए।
आयोगका अनुसार प्रतिनिधि सभाको एक, प्रदेश सभाको एक र स्थानीय तहका विभिन्न २४ पदका लागि उपनिर्वाचन गर्नुपर्नेछ। “राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि आउँदो वैशाखतिर त्यो निर्वाचन गर्दा उपयुक्त हुन्छ भन्ने आयोगले अनौपचारिक परामर्श दिएको छ,” थपलियाले भने, “तीन महीनाको समय भयो भने जुनसुकै अवस्थामा पनि निर्वाचन सम्पन्न गर्न सक्छौं। आवश्यक तयारी भइरहेको छ।”