डब्लूएचओको क्षेत्रीय निर्देशकमा बाङ्लादेशकी साइमा वाजिद निर्वाचित
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को दक्षिणपूर्वी एशिया निर्देशकमा बाङ्लादेशकी साइमा वाजिद निर्वाचित भएकी छन्।
नयाँ दिल्लीमा भएको क्षेत्रीय सभा अन्तर्गत बुधबार सम्पन्न निर्वाचनमा नेपालका डा. शम्भुप्रसाद आचार्यलाई पराजित गर्दै वाजिद निर्वाचित भएकी हुन्। निर्वाचनमा म्यानमार बाहेक १० देशका प्रतिनिधि सहभागी थिए।
वाजिदले आठ मत पाइन्। उनका प्रतिस्पर्धी नेपालका डा. आचार्यले दुई मत पाए।
हाल वाजिद विश्व स्वास्थ्य संगठनमा मानसिक रोगविज्ञका रूपमा कार्यरत छिन्। उनको मनोनयनलाई आउँदो जनवरीमा हुने विश्व स्वास्थ्य संगठनको महासभाले अनुमोदन गर्नेछ।
नेपालबाट विश्व स्वास्थ्य संगठनको उच्च भूमिकामा पुगेका आचार्यलाई क्षेत्रीय निर्देशक बनाउन सरकारले मनोनीत गरे पनि भोट माग्न कूटनीतिक पहल गरेको थिएन। त्यसैकारण वाजिदभन्दा अनुभवी भए पनि आचार्यले सदस्य राष्ट्रको मत पाउन सकेनन्।
क्षेत्रीय निर्देशकमा निर्वाचित वाजिदको कार्यक्षेत्र नेपाल सहित भारत, भूटान, श्रीलंका, माल्दिभ्स, म्यानमार, थाइल्यान्ड, बाङ्लादेश, इन्डोनेशिया, उत्तर कोरिया र टिमोर लिस्टे देश हुनेछन्। उनी बाङ्लादेशकी प्रधानमन्त्री शेख हसिनाकी छोरी हुन्।