डिजिटल कारोबारमा छलाङ
नगदबाटै कारोबार गर्दै आएको नेपाली समाजको किनमेल र भुक्तानीको परम्परागत तरिकालाई डिजिटल कारोबारले चमत्कारिक ढंगमा बदलेको छ ।
पछिल्ला महीनामा बजारमा सर्वसाधारणको हातमा पुग्ने नोटको परिमाण बढेको छैन। साढे तीन वर्षअघि कोभिड-१९ महामारीको प्रभाव नेपालमा शुरू भएको वेला सर्वसाधारणको हातमा साढे चार खर्ब रुपैयाँ हाराहारीको कागजी नोट थियो। महामारीको प्रभाव उत्कर्षमा पुग्दै गर्दा चलनचल्तीमा रहेको नोटको परिमाण पनि बढ्दै गयो। २०७८ असोजमा पुग्दा त ६ खर्ब २५ अर्ब रुपैयाँ बराबरको नोट सर्वसाधारणको हातमा पुग्यो।
तर त्यसपछि चलनचल्तीको नोटको परिमाण घट्दै गएको छ। गत भदौसम्म चार खर्ब ९६ अर्ब रुपैयाँका नोट मात्रै सर्वसाधारणको हातमा रहेको नेपाल राष्ट्र ब्यांकको तथ्यांक छ। यसमा ब्यांक तथा वित्तीय संस्थामा रहेको नगद जोडिएको छैन।
कारोबारका लागि चाहिने चलनचल्तीको नोटको परिमाण बढ्दै जानुपर्नेमा किन घट्यो त? नेपाल राष्ट्र ब्यांकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ अन्य आर्थिक कारणका अतिरिक्त बजारमा स्थापित भएको कारोबारको नयाँ तरीकाले पनि नोटको प्रचलन घटाउन मद्दत गरेको बताउँछन्। डा. श्रेष्ठ भन्छन्, “नगदरहित डिजिटल कारोबार बढ्दै गएसँगै किनबेच र भुक्तानीका लागि नोट नै नचाहिने भयो। यसले गर्दा तीव्र गतिमा नगदरहित कारोबार बढिरहेको हो।”
कोभिड-१९ महामारीले जनस्वास्थ्य र अर्थतन्त्रमा लामो समयका लागि गहिरो प्रभाव छोडे पनि यो नेपालमा डिजिटल कारोबारको नयाँ दैलो उघार्ने प्रस्थानबिन्दु पनि बन्न पुग्यो। बन्दाबन्दी शुरू भएपछि भुक्तानीको तौरतरीका फेरियो र नगदरहित डिजिटल कारोबारले व्यापकता पायो। उदाहरणका लागि २०७६ चैतको बन्दाबन्दीको पहिलो महीना चैतमा मोबाइल ब्यांकिङ मार्फत पाँच अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको थियो।
चार महीनापछि २०७७ असारसम्म डिजिटल माध्यमको कारोबार रकम तीन गुणाले बढेर १८ अर्ब ८४ करोड रुपैयाँ पुग्यो। अहिले त मोबाइल ब्यांकिङ मार्फत एक दिनमै सरदर आठ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालिसकेको छ।
नेपालको सर्वाधिक ठूलो भुक्तानी सेवाप्रदायक फोनपेले असोज ३० मा एकै दिन १० अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी भएको जनाएको छ। त्यो दिन ग्राहकले वस्तु र सेवा खरीद गरेर विक्रेतालाई तिरेको रकम मात्रै एक अर्ब ८० करोड रुपैयाँ नाघेको फोनपेका प्रमुख सञ्चालन अधिकृत पारस कुँवरले बताए।
यसले नेपाली समाजमा कारोबार गर्ने शैलीमा आइरहेको फेरबदललाई संकेत गर्छ। थैली, सन्दुक वा सेफमा नगद राखेर लेनदेन गर्दै आएको नेपाली समाज द्रुत गतिमा नगदरहित डिजिटल कारोबारमा अभ्यस्त हुन खोजिरहेको देखिन्छ। नेपाल राष्ट्र ब्यांकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल भन्छन्, “आश्चर्यजनक विस्तार भनिहाल्न त मिल्दैन। तर डिजिटल कारोबारमा भइरहेको प्रगति निकै उत्साहप्रद छ।”
फेरिएको भुक्तानी
सिंगल्स डे भनिने ११ नोभेम्बर आउँदै छ। यो दिन उत्तरी छिमेकी चीनका अनलाइन किनमेल प्लेटफर्महरूमा छूट सहितको ठूलो मेला लाग्छ। नोभेम्बर ११ को २४ घण्टामा चीनको लोकप्रिय अनलाइन किनमेलको बजार अलिबाबामा मात्रै ८४ अर्ब डलरभन्दा बढीको किनबेच हुन्छ। यो नेपालको अर्थतन्त्रको आकारका तुलनामा झन्डै दोब्बर रकम हो। यसले नगदरहित डिजिटल कारोबारको छनक दिन्छ।
उत्तरी छिमेकी मात्रै होइन, दक्षिणी छिमेकी भारतमा पनि अनलाइन किनमेलको बजार र नगदरहित डिजिटल कारोबारमा आश्चर्यजनक विस्तार भइरहेको छ। सन् २०२२ मा त डिजिटल भुक्तानीमा चीनलाई समेत जितेर भारत सर्वाधिक धेरै डिजिटल भुक्तानी गर्ने मुलुक बन्न पुग्यो। भारतको सूचना प्रविधि मन्त्रालयका अनुसार सन् २०२१/२२ मा भारतमा तीन हजार २१ लाख करोड भारतीय रुपैयाँ बराबरको डिजिटल कारोबार भयो।
स्मार्टफोनको विस्तार र इन्टरनेट पहुँच एवं मध्यम वर्गको विस्तारसँगै दुई छिमेकमा परम्परागत भुक्तानीको शैलीमा ठूलो परिवर्तन आइरहेको छ। भारतमा खासगरी सन् २०१६ को नोटबन्दीपछि नगदरहित डिजिटल कारोबारले ठूलो गति समातेको थियो।
नेपालमा भने कोभिड-१९ महामारी डिजिटल फड्कोका लागि प्रस्थानबिन्दु बन्न पुग्यो। त्यसैले अहिले पैसाको सानो एकाइदेखि लाखौं रुपैयाँसम्म तत्काल इन्टरनेट जोडिएको मोबाइल मार्फत लेनदेन गर्न मिल्छ। बजारमा तरकारी, खाद्यान्न किन्नदेखि ट्याक्सी चढ्नसम्म खल्तीमा नगद बोकिरहन पर्दैन। मोबाइल फोन, खानेपानी, विद्युत् शुल्क तिर्ने, इन्टरनेट वा टेलिभिजनको महसूल बुझाउन लाइन बसिरहनु पर्दैन, मोबाइलबाटै काम हुन्छ।
ब्यांक तथा वित्तीय संस्था तथा अन्य सेवाप्रदायकको फैलावटका कारण मोबाइल ब्यांकिङ, क्यूआर पेमेन्ट, वालेट, इन्टरनेट ब्यांकिङ जस्ता माध्यमबाट डिजिटल कारोबार सहज बनिरहेको छ। शहरका मात्रै होइन, गाउँघरका पसल र विक्रेताले पनि क्यूआर मार्फत भुक्तानी लिन हिचकिच नमान्न थालेका छन्। त्यसो भन्दैमा थैली, खल्ती, सन्दुक वा सेफमा नगद राखेर लेनदेन गर्ने चलन हराइसकेको भने होइन।
केन्द्रीय ब्यांकको तथ्यांकले पछिल्लो तीन वर्षमा नेपालमा डिजिटल कारोबारमा अभूतपूर्व र उत्साहजनक वृद्धि भइरहेको दखाएको छ। सामान्य खरीददारी मात्रै होइन, व्यापारिक कारोबारको भुक्तानी पनि मोबाइल वा कम्प्युटर मार्फत नगदरहित भइरहेको छ। उदाहरणका लागि तीन वर्षअघि २०७७ भदौमा कनेक्ट आईपीएसमार्फत ६१ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो। अर्थात्, हरेक दिन करीब दुई अर्ब रुपैयाँको कारोबार हुन्थ्यो।
तर अहिले कनेक्ट आईपीएस मार्फत हरेक दिन १२ अर्ब रुपैयाँभन्दा बढीको कारोबार हुन थालेको छ। अर्थात्, कारोबार रकम ६ गुणाले वृद्धि भएको छ। भदौ महीनामा मात्रै कनेक्ट आईपीएस मार्फत तीन खर्ब ७१ अर्ब रुपैयाँ भुक्तानी भएको थियो। सरकारी राजस्व तिर्नदेखि शेयर किनबेच, ठूला व्यापारिक लेनदेन आदिमा कनेक्ट आईपीएस बढी प्रयोग हुन्छ।
थोक कारोबार मात्रै होइन, किनमेलको खुद्रा भुक्तानीमा बढी प्रयोग हुने मोबाइल ब्यांकिङको कारोबार विस्तार पनि निकै उत्साहजनक छ। २०७७ भदौमा २० अर्ब ३४ करोड रुपैयाँ बराबरको भुक्तानी मोबाइल ब्यांकिङ मार्फत भएकोमा २०८० को भदौमा यो रकम बढेर दुई खर्ब ४२ अर्ब रुपैयाँ पुगेको छ। अर्थात्, हरेक दिन मोबाइल ब्यांकिङ मार्फत आठ अर्ब सात करोड रुपैयाँ भुक्तानी हुन्छ। यो हरेक मिनेटमा भाग लगाउने हो भने प्रत्येक मिनेटमा ५६ लाख रुपैयाँ बराबरको कारोबार हो।
फोनपेका प्रमुख सञ्चालन अधिकृत पारस कुँवर व्यापारिक कारोबारभन्दा खुद्रा किनमेलमा डिजिटल प्रयोग बढ्नु सही अर्थमा नगदरहित कारोबार भएको बताउँछन्। कुँवर भन्छन्, “दक्षिणएशियामा मोबाइल ब्यांकिङमा सम्भवतः भारतपछि नेपाल नै अर्को सफल उदाहरण होला। मोबाइल ब्यांकिङ, क्यूआर, वालेट भुक्तानीमा भइरहेको विस्तार निकै उत्साहजनक मान्नुपर्छ।”
मोबाइल ब्यांकिङ र कनेक्ट आईपीएस मार्फत हरेक महीना हुने कारोबार रकमलाई जोड्ने हो भने सर्वसाधारणको हातमा रहेको रकमभन्दा पनि धेरै हुन पुग्छ। त्यसो त क्यूआर र डिजिटल वालेट मार्फत हुने भुक्तानीमा पनि अभूतपूर्व विस्तार भइरहेको छ। राष्ट्र ब्यांकका अनुसार २०७७ भदौमा क्यूआर मार्फत ६५ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियो। तर यो रकमभन्दा डेढ गुणा बढीको कारोबार त अहिले हरेक दिन हुन थालेको छ। राष्ट्र ब्यांकका अनुसार गत भदौ महीनामा क्यूआर मार्फत मात्रै ३० अर्ब ५६ करोड रुपैयाँको कारोबार भयो।
डिजिटल भुक्तानीको अर्को सजिलो माध्यम डिजिटल वालेटको कारोबारमा पनि ठूलो बढोत्तरी छ। तीन वर्षअघि २०७७ भदौमा ईसेवा, खल्ती, आईएमई पे जस्ता डिजिटल वालेट मार्फत सात अर्ब ३४ करोड रुपैयाँको कारोबार भएकोमा गत भदौमा रकम बढेर २१ अर्ब रुपैयाँ नाघ्यो। अर्थात्, डिजिटल वालेटको कारोबारमा पनि तीन गुणा वृद्धि भएको छ।
यद्यपि नेपाल राष्ट्र ब्यांकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठ डिजिटल कारोबारमा अहिलेको विस्तार अझै बढ्नुपर्ने देख्छन्। श्रेष्ठ भन्छन्, “अहिलेको गति अझै बढ्नुपर्छ र नगद कारोबार घट्नुपर्छ।”
फोनपेका प्रमुख सञ्चालन अधिकृत कुँवर पनि डा. श्रेष्ठसँग सहमत छन्। कुँवर देशको कुल गार्हस्थ्य उत्पादनको तुलनामा चलनचल्तीको मुद्रा रकम १० प्रतिशतभन्दा तल आउनसके मात्रै सही अर्थमा डिजिटल अर्थतन्त्रतिर अग्रसर हुन सकिने बताउँछन्। अहिले देशको कुल गार्हस्थ्य उत्पादनको तुलनामा १४ प्रतिशतभन्दा धेरै चलनचल्तीमा रहेको नोट मुद्रा छ।
खरीददारीको नयाँ तरीका
बालाजुका दिनेश ठकुरीले यस वर्षको दशैं किनमेल अनलाइन मार्फत गरे। लत्ताकपडा, जुत्ता किन्न उनी बजारसम्म नगएको बताउँछन्। भक्तपुरको सिरुटार निवासी सविता बुढाथोकीले पनि यस पालिको दशैंमा आमालाई गिफ्ट अनलाइनबाट साडी किनिदिइन्। बजारसम्म धाएर सामानलाई हातैले छामेर किनमेल गर्ने पुरानो बानीलाई अनलाइन हाटबजारले बदल्न थालेका यी उदाहरण हुन्।
अहिले ठूला व्यवसायीले बजारमा भयावह आर्थिक मन्दी कायम रहेको बताइरहेका छन्। प्रमुख शहरी क्षेत्रमा धमाधम पसल कवल, शटर बन्द हुनुले आर्थिक मन्दीलाई जनाउने व्यवसायीको तर्क छ। तर अर्थ मन्त्रालयका पूर्व सचिव रामेश्वर खनाल बजार र उपभोगको प्रवृत्तिमा आएको परिवर्तनका कारण कतिपय शटर पसलहरू बन्द भएको बताउँछन्। खनाल विगत दुई वर्षमा खरीददारीको तरीकामा आएको अभूतपूर्व परिवर्तनले गर्दा महँगो भाडा भएका र पसल कवल र शटरहरू अप्रतिस्पर्धी हुन पुगेर बन्द भएको देख्छन्।
खासगरी अनलाइन मार्फत किनमेल गर्ने प्रवृत्ति बढेपछि पसलमा पुगेर लत्ताकपडा, विद्युतीय सामान आदि किन्नेको संख्या घटिरहेको उनको तर्क छ। देशका विभिन्न कुना पुगिरहने खनाल शहरमा मात्रै होइन, गाउँका पसलमा पनि क्यूआर मार्फत किनबेच हुन थालेको अनुभव सुनाउँछन्।
राष्ट्र ब्यांकको आर्थिक अनुसन्धान विभागका कार्यकारी निर्देशक श्रेष्ठ त मोबाइलमा अभ्यस्त युवाले पसलमा पुगेर सामान किन्नै छोडेको तर्क गर्छन्। उनी भन्छन्, “अहिले न्यूरोड पुगेर सामान किन्ने ५५-६० वर्षको प्रौढ मात्रै देख्छु। नयाँ पिंढीले केक समेत घरछेउको बेकरीबाट होइन, अनलाइनबाट मगाउन थालेको छ। त्यसैले पसलहरू बन्द हुने क्रम अझै बढ्छ कि जस्तो लाग्छ।”
ललितपुरको इमाडोल बस्ने व्यवसायी उषा दाहालको अनुभवले अर्थविद् खनाल र श्रेष्ठको तर्कलाई पुष्टि गर्छ। दाहालले गत तिज ताका अनलाइनबाट कुर्ता सलवार, साडी जस्ता पोशाक बेच्ने पेशा थालेकी छिन्। थोक पसलबाट ल्याएर फेसबूकको मार्केटप्लेस मार्फत उनले ग्राहकलाई थोरै नाफा राखेर सामान बेच्छिन्।
उनको औपचारिक पसल छैन, ग्राहकले चाहेको सामान थोक विक्रेता मार्फत ल्याउँछिन् र कुरियर सेवाप्रदायक मार्फत ग्राहकको घरमा पुर्याइदिन्छिन्। “व्यवसाय थालेको दुई महीना मात्रै भयो, औपचारिक नाम राख्न समेत भ्याएकी छैन। तर कारोबारबाट म असाध्यै सन्तुष्ट छु। एकै दिनमा ५० वटा साडीको समेत माग भयो,” उनी भन्छिन्।
दाहाल पसलको भाडा आदि जोड्दा महँगो पर्ने भएकाले ग्राहकलाई समेत आफूहरू जस्ता घरैबाट बिक्री गर्नेसँग किन्दा फाइदा हुने तर्क गर्छिन्। उनी भन्छिन्, “पसल शटरहरू बन्द हुनुमा अनलाइन व्यापारको ठूलै हात छ। यो रोकिंदा पनि रोकिंदैन।”
नेपालमा दुई दशकअघि सन् २००० तिर अनलाइन व्यापारको प्रयास शुरू भएको थियो। इन्टरनेट पूर्वाधारको विकास, बढ्दो इन्टरनेट प्रयोगकर्ताको संख्या, कुल जनसंख्यामा युवाको बाहुल्य र अनलाइन खरीददारीमा युवाको रुचिका कारण पछिल्ला वर्षहरूमा नेपालमा ई-कमर्शको विस्तारमा सघाउ पुग्यो। अहिले मोबाइल ब्यांकिङबाट मात्रै महीनाको तीन करोड ४५ लाख वटा कारोबार हुन थालिसकेको छ। कारोबार रकम पनि उसैगरी फस्टाएको छ।
नेपालको प्रमुख अनलाइन किनमेलको प्लेटफर्म दराजका एक अधिकारीका अनुसार दराज मार्फत दैनिक सरदरमा दुई करोड हाराहारी मूल्यका सामानको किनबेच हुन्छ। यद्यपि कम्पनीले भने कारोबारको औपचारिक विवरण सार्वजनिक गर्दैन।
नेपालमा सम्भावना देखेर नै अनलाइन कारोबार तथा सूचना प्रविधिको व्यवसायमा अन्तर्राष्ट्रिय ख्याति कमाएको चिनियाँ कन्ग्लोमेरेट अलिबाबा ग्रूप होल्डिङले पाँच वर्षअघि दराज समूहको सम्पूर्ण स्वामित्व खरीद गरेको थियो।
राष्ट्र ब्यांकको भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक गुरु पौडेल डिजिटल कारोबार प्रवर्द्धन गर्ने केन्द्रीय ब्यांकको नीति, कोभिडपछिको फेरिएको अवस्था तथा ब्यांक एवं डिजिटल कारोबारको सेवा दिने संस्थाहरूको पूर्वाधार विकासका कारण डिजिटल कारोबारमा उत्साहजनक फड्को आएको बताउँछन्। उनी अझै पनि सस्तो र गुणस्तरीय इन्टरनेट सेवाको विस्तार, डिजिटल भुक्तानीको मार्केटिङमा थप काम गर्न आवश्यक रहेको बताउँछन्।
साथै, डिजिटल कारोबारको सुरक्षालाई विश्वसनीय बनाउन चेतनास्तर र शिक्षामा वृद्धि गर्न पनि थप काम गर्नुपर्ने उनको तर्क छ। अनौपचारिक र अवैध कारोबारलाई निरुत्साहित गर्ने हुँदा नगदरहित कारोबार भ्रष्टाचार न्यूनीकरणका लागि निकै महत्त्वपूर्ण भएको उनको तर्क छ।
फोनपेका प्रमुख सञ्चालन अधिकृत कुँवर पनि इन्टरनेट सहितका पूर्वाधारमा लगानी र व्यवसायी-उपभोक्तामा डिजिटल कारोबारको चेतना विस्तारमा थप काम हुन सके नेपालमा डिजिटल कारोबारले चामत्कारिक फड्को मार्न सक्ने देख्छन्। उनी भन्छन्, “हामी सेवाप्रदायकको अझै पनि प्रतिस्पर्धा नगदसँग हो, नगद नभए पनि मोबाइल फोनको भरमा सबै भुक्तानी गर्न सकिन्छ भन्ने विश्वास सर्वसाधारणलाई दिलाउन सक्नुपर्ने चुनौती छ। यो हामी जस्ता सेवाप्रदायकलाई अवसर पनि हो।”