सडकमा फोहोर फ्याँक्नेहरूबाट वीरगन्ज महानगरले उठायो रु. ६ लाख जरिवाना
वीरगन्ज महानगरपालिकाले चालू आर्थिक वर्ष २०८०/८१ को तीन महीनामा जरिवाना बापत रु. ६ लाखभन्दा बढी राजस्व संकलन गरेको छ।
गत २०७९ पुस १७ गतेदेखि सडकमा जथाभावी फोहर फ्याँक्नेहरूलाई जरिवाना तिराउन शुरू गरेको महानगरले गत साउनदेखि हालसम्म विभिन्न व्यक्ति तथा संघसंस्थाबाट रु.६ लाख १७ हजार जरिवाना संकलन गरेको हो।
वीरगन्ज महानगरपालिकाले अब जथाभावी फोहर फ्याल्नेलाई जरिवानासँगै सार्वजनिक अपराध कसूर सम्बन्धी मुद्दा समेत चलाउने तयारी गरेको महानगरपालिकाका सरसफाइ शाखा प्रमुख सर्फद्दीन मियाँले जानकारी दिए। मियाँका अनुसार गत आव २०७९/८० मा जरिवाना बापत रु.१५ लाख ३६ हजार ५०५ राजस्व संकलन भएको थियो।
विगतमा ‘डम्पिङ साइट’ नहुँदा फोहोरमैला व्यवस्थापनमा समस्या हुँदै आएकामा चार वर्षअघि महानगरले आफ्नै डम्पिङ साइट बनाएपछि फोहोरमैला व्यवस्थापनमा अहिले कुनै समस्या नरहेको पनि उनले बताए।