मझुवागढी जाने पदमार्गलाई ‘फूलको पहाड’ बनाउने अभियान
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अगुवाइमा मझुवागढी जाने पदमार्ग आसपासमा थरीथरीका फूल फुलाइएको छ।
मझुवागढीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न ‘फूलको पहाड’ बनाउने योजना अघि सारिएको नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए। मझुवागढी, कालिका भगवती मन्दिर आसपासका खाली जग्गा र सो स्थानमा पुग्ने पदमार्ग आसपासमा फूल रोपेर आकर्षक बनाउने परिकल्पना गरिएको छ।
दिक्तेल बजारको हाटडाँडाबाट करीब ४५ मिनेट पैदल यात्रापछि ऐतिहासिक मझुवागढी पुगिन्छ।
२०७९ असार ७ गते फूलका बिरुवा रोपेर मझुवागढीलाई ‘फूलको पहाड’ बनाउने महत्त्वाकांक्षी अभियानको शुरूआत गरिएको थियो। त्यसयता विभिन्न फूलका बिरुवा रोपिंदै आएको छ।
नगरपालिकाका अनुसार मझुवागढीमा जाकारान्डा, कल्की, कामिनी, शमी, राजवृक्ष, धूपी, धूपी सल्ला, जाई, कपूर, पुवाले, मसला, असारे फूल, दाँते ओखर, लालीगुराँस लगायत बिरुवा रोप्ने काम भइरहेको छ।