द्वन्द्वपीडितहरूलाई नभेट्दा अधुरै रह्यो महासचिव गुटेरेसको भ्रमण: नागरिक अगुवा
नागरिक अगुवाहरूले द्वन्द्वपीडितहरूको आग्रहका बावजूद उनीहरूलाई भेट नदिंदा संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटेरेसको नेपाल भ्रमण अधुरो रहेको निष्कर्ष निकालेका छन्।
महासचिवसँग भेटका लागि आग्रह गरेर बेपत्ता परिवार समाजका अध्यक्ष रूपेश शाह, अपांगता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र केसी, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालकी अध्यक्ष सिर्जना सिंह, द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका अध्यक्ष गोपाल शाह र द्वन्द्वपीडित साझा चौतारीका कार्यकारी अध्यक्ष कल्याण बुढाथोकीले पत्र लेखेका थिए। उनीहरूले भेट्न नपाएपछि नागरिक अगुवाहरूले यस्तो प्रतिक्रिया जनाएका हुन्।
दशक लामो सशस्त्र द्वन्द्वका पीडितहरूले भेटघाट गर्न नपाउँदा नेपाल भ्रमण अधुरो रहेको नागरिक अगुवाहरूले मंगलबार गुटेरेसलाई पठाएको पत्रमा उल्लेख छ। पत्रमा राष्ट्रिय मानव अधिकार आयोगका पूर्व सदस्यद्वय डा. गौरीशंकरलाल दास र सुशील प्याकुरेल, राष्ट्रिय सभाकी सांसद डा. विमला राई पौड्याल, अधिकारकर्मी हिरा विश्वकर्मा, पूर्व राष्ट्रपतिका सल्लाहकार टीका ढकाल र लेखक तथा पत्रकार कनकमणि दीक्षितले हस्ताक्षर गरेका छन्।
इजरायल–प्यालेस्टाइन युद्धका कारण गाजा क्षेत्रमा देखिएको मानवीय संकट, जलवायु संकट, सिद्धार्थ गौतमको जन्मस्थलले दिने शान्तिको सन्देश र संक्रमणकालीन न्याय प्रक्रियाको सफल निष्कर्षका लागि राखिएका शर्तहरूको सन्दर्भमा भने गुटेरेसको प्रशंसा गरिएको छ।
चारदिने नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्दै पीडितलाई केन्द्रमा नराखेसम्म संक्रमणकालीन न्याय सफल हुन नसक्ने धारणा राखेका थिए। महासचिव गुटेरेसले संक्रमणकालीन न्यायले पीडित, तिनका परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्नेमा जोड दिएका छन्।