अल्पविकसित मुलुकबाट स्तरोन्नति हुन नेपाललाई राष्ट्रसंघले सहयोग गर्छ : महासचिव गुटेरेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने नेपालको प्रक्रियामा राष्ट्रसंघले सघाउने बताएका छन्।
आज संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै महासचिव गुटेरेसले अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने क्रममा नेपालले चाल्ने कदमको सहजीकरणका लागि राष्ट्रसंघले भूमिका खेल्ने बताएका हुन्।
नेपालले सन् २०२६ सम्ममा अल्पविकसित मुलुकबाट स्तरोन्नति हुने लक्ष्य राखेको छ। “नेपाल अल्पविकसित मुलुकबाट स्तरोन्नतिको चरणमा रहेकोमा ‘स्मूथ ट्रान्जिसन’ का लागि संयुक्त राष्ट्रसंघले सहयोग गर्नेछ। अहिले नेपालले अल्पविकसित मुलुकहरूको अध्यक्षता गरिरहेकोमा अरू देशका लागि पनि नेपालले चाल्ने कदमको महत्त्वपूर्ण अर्थ रहन्छ,” उनले भने।
नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय सम्बन्धी गतिविधिको प्रशंसा गर्दै गुटेरेसले विश्व शान्ति स्थापनाका लागि शान्ति सेना मार्फत महत्त्वपूर्ण भूमिका खेलेको स्मरण गरे।
त्यस्तै, जलवायु परिवर्तनका असर न्यूनीकरणको अभियानमा नेपाल एक्लै नरहेको उनको भनाइ छ। “जलवायु परिवर्तनका मुद्दामा नेपाल एक्लै छैन। संयुक्त राष्ट्रसंघले नेपालले लिएको नेतृत्वलाई सम्मान गर्दछ र हामी पनि सँगै छौं। राष्ट्रसंघ सहयोग गर्न तयार छ,” गुटेरेसले भने।