इजरायल-हमास युद्धमा ३१ पत्रकार मारिए
७ अक्टोबरयताको इजरायल-हमास युद्धमा ३१ पत्रकार मारिएका छन्।
पत्रकारहरूको सुरक्षाका लागि गठित समितिले यसबारे पुष्टि गरेको दी टाइम्स अफ इजरायलले बताएको छ। मारिने पत्रकारहरूमा २६ प्यालेस्टिनी, चार इजरायली र एक लेबनानी छन्। यस्तै, आठ पत्रकार घाइते भएको र नौ जना बेपत्ता वा पक्राउ परेको पनि जनाइएको छ।
कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे)को प्रतिवेदन उद्धृत गर्दै दी टाइम्स अफ इजरायलले पत्रकारहरूले लगातार हमला, पक्राउ, धम्की, सेन्सरशिप र परिवारका सदस्यको हत्याको सामना गर्नुपरिरहेको बताएको छ।
३१ जनामध्ये २६ जना गाजामा र ती २६ मध्ये पनि चार जना ७ अक्टोबरमा इजरायलमा हमासले गरेको हमलाका क्रममा मारिएका थिए। हिज्बुल्लाह लक्षित इजरायली गोलाबारीमा परी लेबनानमा एक पत्रकारको मृत्यु भएको थियो।
“सीपीजेले अन्य पत्रकारहरू मारिएको, बेपत्ता बनाइएको, हिरासतमा राखिएको, चोटपटक वा धम्की दिइएको र मिडिया कार्यालयहरू तथा पत्रकारहरूको घरमा क्षति पुर्याएको धेरै अपुष्ट रिपोर्टहरूको पनि अनुसन्धान गरिरहेको छ,” सीपीजेले भनेको छ।