गंगामाया अधिकारीलाई भेट्न पुगेका पूर्व बालसेना प्रहरीको ‘नजरबन्द’ मा
नेपाल प्रहरीले पूर्व माओवादी कार्यकर्ता तथा बालसेना लेनिन विष्टलाई वीर अस्पतालमा ‘नजरबन्द’ मा राखेको छ।
वीर अस्पतालमा अनशन बसिरहेकी द्वन्द्वपीडित गंगामाया अधिकारीलाई भेट्न अस्पताल पुगेका विष्ट र अर्का द्वन्द्वपीडित भोजराज तिमिल्सिनालाई वीर अस्पतालबाट प्रहरीले निस्कन नदिएको विष्टले बताए। उनका अनुसार प्रहरीले माथिको आदेश भनेर निस्कन दिएको छैन।
द्वन्द्वपीडितहरूले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपाल भ्रमणमा आएको अवसर पारेर संक्रमणकालीन न्याय प्रक्रियालाई निष्कर्षमा पुर्याउन योगदान होस् भनेर ध्यानाकर्षण कार्यक्रम गरेका थिए। आज बबरमहल, काठमाडौं र ललितपुर संयुक्त राष्ट्रसंघको कार्यालयअघि उनीहरूले ध्यानाकर्षण गराएका थिए। त्यही ध्यानाकर्षण कार्यक्रमबाट अस्पताल पुगेका विष्टलाई त्यहाँबाट प्रहरीले निस्किन दिएको छैन।
“बालसेनाको विषय उठाउँछ भनेर होला, उहाँहरूले मलाई निस्कन दिनुभएको छैन। नागरिकको स्वतन्त्र रूपले हिंड्न पाउने हकलाई प्रहरीले हनन गरेको छ,” विष्टले हिमालखबरसँग भने।
प्रहरीले पनि विष्टलाई रोकेको स्विकारेको छ। काठमाडौं उपत्यका प्रहरी कार्यलयका प्रवक्ता एसपी कुमुद ढुंगेलले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको सवारीको वेला सडकमा निस्कन खोजेको शंका लागेर रोकेको बताए। प्रवक्ता ढुंगेलले भने, “उहाँको (एन्टोनियो गुटेरेस) सवारीमा कुनै अवरोध नहोस् भनेर प्रहरीले सतर्कता अपनाएको हो।”