संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु : महासचिव गुटेरेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश प्रवाह गर्न पाउँदा अत्यन्तै खुशी लागेको बताएका छन्।
नेपाल भ्रमणका क्रममा आज गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका गुटेरेसले इजरायल, प्यालेस्टाइन, युक्रेन, सुडान लगायत देशमा भएको द्वन्द्व अन्त्य गर्न आह्वान पनि गरे। “संसारभर भइरहेका द्वन्द्व अन्त्यका लागि लुम्बिनीबाट आह्वान गर्छु,” लुम्बिनीमा आयोजित पत्रकार सम्मेलनमा गुटेरेसले भने।
गुटेरेसले बुद्धको सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसंघको मिसन मिल्दोजुल्दो भएको पनि बताए। “शान्ति र मानवता अपरिहर्य विषय हुन्। मानवीयता मर्न दिनु हुन्न,” उनले भने, “बुद्धका सन्देश, पञ्चशीलको सिद्धान्त र राष्ट्रसंघको ‘मिसन’ मिल्दाजुल्दा छन्। यो शान्तिको मुहान लुम्बिनी घुमौं र यहाँबाट सबैले सिकौं।”
गुटेरेस लुम्बिनी भ्रमण गर्ने राष्ट्रसंघका छैटौं महासचिव हुन्। राष्ट्रसंघका तत्कालीन महासचिव ऊ थान्तले सन् १९६७ मा राष्ट्रसंघको महासचिवका रूपमा लुम्बिनी भ्रमण गरेका थिए। थान्तको भ्रमणपछि नै लुम्बिनीको योजनाबद्ध विकासको शुरूआत भएको मानिन्छ।