प्रधानाध्यापक सर्राफको हत्या आरोपमा ६ जना पक्राउ
बाराको कलैयामा अवस्थित बाल एकता बोर्डिङ स्कूलका प्रधानाध्यापक रूपेश सर्राफको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
सर्राफमाथि सोमबार दिउँसो करीब १ बजे मदर्शा टोलमा दुई वटा मोटरसाइकलमा आएका चार जना अज्ञात व्यक्तिले तीन राउन्ड गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए। घटनास्थल जिल्ला प्रहरी कार्यालयबाट पाँच मिनेटको दूरीमा पर्छ।
गोली लागेर गम्भीर घाइते सर्राफको कलैया प्रादेशिक अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको अस्पतालमै मृत्यु भएको हो।
प्रेम सम्बन्धका कारण सर्राफको हत्या भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।
घटनामा संलग्न एक युवती सहित तीन नेपाली र तीन भारतीयलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा थप दुई जनाको पनि संलग्नता हुन सक्ने प्रहरीको अनुमान छ।
यसअघि पनि गत साउन २८ गते कलैयाको एक होटलमा सर्राफको हत्याको प्रयास गरिएको पक्राउ परेकाहरूले प्रहरी समक्ष बयान दिएको अनुन्धानमा खटिएका एक प्रहरीले जानकारी दिए।
मृतक सर्राफका श्रीमती र दुई छोरा छन्।