मेस्सीलाई आठौं पटक बलोन डी ओर
सर्वकालीन महान् फूटबलर लियोनल मेस्सीले आफ्नो करिअरकाे आठौं बलोन डी ओर जित्दै अभूतपूर्व कीर्तिमान बनाएका छन्।
मेस्सीले नर्वेजियन तथा म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालान्ड र फ्रेन्च तथा पेरिस सेन्ट जर्मेनका फरवार्ड किलियन एमबाप्पेलाई पछि पार्दै पुरुषतर्फ बलोन डी ओर २०२३ जितेका हुन्। बलोन डी ओर वर्षकाे सर्वोत्कृष्ट फूटबलरलाई दिइने पुरस्कार हो।
गत वर्ष अर्जेन्टिनालाई विश्वकपको उपाधि दिलाएका ३६ वर्षीय मेस्सी अहिले अमेरिकी मेजर लीग सकरकाे टीम इन्टर मियामीमा आबद्ध छन्।
मेस्सीले यसअघि सन् २००९, २०१०, २०११, २०१२, २०१५, २०१९ र २०२१ मा बलोन डी ओर जितेका थिए। उनी बराबर यो पुरस्कार अरू कुनै फूटबलरले जितेका छैनन्। मेस्सीका निकट प्रतिद्वन्द्वी पोर्चुगिज फूटबलर क्रिस्टियानो रोनाल्डोले पाँच बलोन डी ओर जितेका छन्।
गए राति पेरिसमा भएको पुरस्कार समारोहमा मेस्सीले अर्का सर्वकालीन महान् फूटबलर डिएगो म्याराडोनालाई पनि सम्झिए र आफ्नो आठौं बलोन डी ओर म्याराडोनालाई पनि समर्पित गरे। म्याराडोना जीवित भएका भए हिजो उनकाे ६३औं जन्मदिन हुने थियो। “तपाईं जता हुनुहुन्छ, यो (पुरस्कार) तपाईंका लागि पनि हो। जन्मदिनकाे शुभकामना डिएगो,” मेस्सीले भने।
मेस्सीले यससँगै तीन फरक दशकमा बलोन डी ओर जित्ने फूटबलरकाे कीर्तिमान पनि बनाएका छन्।
यस्तै, महिलातर्फ स्पेनिस फूटबलर आइटाना बोनमाटीले बलोन डी ओर जितिन्। २५ वर्षीया बोनमाटीले स्पेनलाई महिला विश्वकपको उपाधि जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन्।
बार्सिलोनाले महिलातर्फ वर्षकाे उत्कृष्ट क्लबकाे उपाधि पाउँदा पुरुषतर्फको उत्कृष्ट क्लबकाे उपाधि म्यानचेस्टर सिटीले जित्यो।
कोपा ट्रफी इंग्लिस फूटबलर जुड बेलिङहामले जिते। यो पुरस्कार वर्षको उत्कृष्ट युवा खेलाडीलाई दिइन्छ। अर्जेन्टिनी टोलीका गोलरक्षक एमिलियानो मार्टिनेजले याशिन ट्रफी जिते। याशिन ट्रफी वर्षकाे सर्वोत्कृष्ट गोलरक्षकलाई दिइन्छ।
बलोन डी ओरमा दोस्रो स्थानमा रहेका हालान्डले उत्कृष्ट स्ट्राइकरका रूपमा गर्ड मुलर ट्रफी जिते। मैदान बाहिरको योगदानका लागि भिनिसियस जुनियरले सोक्रेटिस अवार्ड जिते। उनले विश्व फूटबलमा हुने रंगभेदी घटनाको विरुद्ध आवाज उठाउने पनि वाचा गरे।