जसपाले आफ्नै केन्द्रीय भवन बनाउने
जनता समाजवादी पार्टी (जसपा)ले ललितपुरको रानीबुमा केन्द्रीय कार्यालय भवन निर्माण गर्ने भएको छ।
जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले केन्द्रीय कार्यकारिणी समिति सदस्य लालबाबु राउतको संयोजकत्वमा पाँच सदस्यीय भवन निर्माण समिति गठन गरेको छ। समितिमा अमरेशनारायण झा, बलराम महतो, न्हुच्छेलाल महर्जन र सीताराम साह सदस्य छन्। जसपाको केन्द्रीय कार्यालय बालकुमारीस्थित भाडाको घरमा छ।
यस्तै, बैठकले मधेश प्रदेश सभा सदस्यको रिक्त स्थानमा सिरहाकी सञ्जिलाकुमारी यादवलाई निर्वाचन आयोग समक्ष सिफारिश गर्ने निर्णय गरेको जसपा प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए। बस्नेतका अनुसार गंगाराम यादव, विमलप्रसाद साह, शैलेश चौधरीलाई सल्लाहकार समितिमा र वीरेन्द्र यादवलाई सामाजिक सुरक्षा समितिमा मनोनयन गरिएको छ।