साढे १४ लाख परिवार ब्यांक तथा सहकारीको ऋणमा, मधेशमा धेरै
देशका अन्य प्रदेशको तुलनामा मधेश प्रदेशका धेरै परिवारले ब्यांक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको पाइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार देशभरका एकचौथाइ परिवार ऋणमा छन्। देशभर ६६ लाख ६० हजार ८४१ मध्ये करीब १४ लाख ६२ हजार अर्थात् २५.५९ प्रतिशत परिवार ऋणमा रहेको पाइएको छ।
राष्ट्रिय जनगणना २०७८ अन्तर्गत तथ्यांक कार्यालयले दुई चरणमा घरपरिवार सम्बन्धी पनि विवरण संकलन गरेको थियो। २०७८ भदौ ३० देखि असोज १८ सम्म घर तथा परिवार सम्बन्धी र कात्तिक २५ देखि मंसीर ९ सम्म प्रत्येक व्यक्ति तथा परिवारबारे विवरण संकलन गरेको थियो। त्यसको नतीजा कात्तिक १३ मा सार्वजनिक गरेको छ।
यस नतीजा अनुसार देशभरका एकचौथाइ परिवारले ब्यांक तथा वित्तीय संस्था वा सहकारी संस्थाबाट ऋण लिएको पाइएको छ। जसमध्ये सबैभन्दा धेरै मधेश प्रदेशमा २८.८८ प्रतिशत परिवारले ऋण लिएको पाइएको छ भने सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २१.९६ प्रतिशत परिवारले ऋण लिएका छन्।
त्यस्तै, देशभरका १० मध्ये एक परिवारले घर निर्माण गर्दा सरकारी अनुदान लिएका छन्। तथ्यांक कार्यालयका अनुसार १०.२५ परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएका हुन्।
घर निर्माण गर्दा सरकारी अनुदान लिनेमा भने बागमती प्रदेशका धेरै छन्। बागमतीका २६.६४ प्रतिशतले र सबैभन्दा कम सुदूरपश्चिमका २.८९ प्रतिशत परिवारले आवासीय घर बनाउँदा सरकारी अनुदान लिएका छन्।
देशभर ७५ लाख ५२ हजार ६६ घर रहेको पाइएको छ। जसमध्ये ५९.८२ प्रतिशत घर एकतले छन्। दुईतले घर भने २८.७८ प्रतिशत छन्।
त्यस्तै, तीनतले घर ९.१७ प्रतिशत, चारतले घर १.३ प्रतिशत, पाँचदेखि साततले घर ०.६४ प्रतिशत, आठदेखि नौतले घर ०.०१ प्रतिशत र दशभन्दा बढी तला भएका घर ०.००३ प्रतिशत रहेको तथ्यांक कार्यालयले जनाएको छ।
सबैभन्दा धेरै एकतले मधेशमा छन्। मधेशमा ८४.२ प्रतिशत एकतले घर छन्। पाँच वा त्योभन्दा धेरै तला भएका घर बागमती प्रदेशमा सबैभन्दा धेरै अर्थात् २.३४ प्रतिशत छन्।