इजरायलमा मारिएका सबै नेपाली विद्यार्थीको शव पहिचान
दक्षिणी इजरायलमा हमास समूहको आक्रमणमा परेर मारिएमा दशै जना नेपाली विद्यार्थीको शव प्राप्त भएको छ।
पछिल्लो पटक राजेशकुमार स्वर्णकार र आनन्द साहको शव पहिचान भएको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ। दूतावासका अनुसार १२ कात्तिकमा पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव प्राप्त भएको थियो। शव यथाशीघ्र नेपाल ल्याउने तयारी भइरहेको दूतावासले जानकारी दिएको छ।
दक्षिणी इजरायलमा ज्यान गुमाएकामध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र आशिष चौधरीको शव यसअघि नेपाल ल्याइसकिएको छ।
हमासको आक्रमणबाट ‘लर्निङ एन्ड अर्निङ’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका २६५ नेपाली विद्यार्थीमध्ये १७ जना प्रत्यक्ष प्रभावित भएका थिए। घाइते दुई जनाको अस्पतालमा उपचार चलिरहेको छ भने एक विद्यार्थी बेपत्ता छन्। बाँकी विद्यार्थीलाई सरकारले नेपाल फिर्ता ल्याइसकेको छ।