चिसो याम शुरू हुँदा पनि किन घटेन डेंगी?
डेंगी सार्ने एडिस जातको लामखुट्टेले १५ देखि २० डिग्री सेल्सियस तापक्रममा बाँच्न सक्ने क्षमता विकास गरेका कारण चिसो याम लाग्दा पनि संक्रमण नघटेको विज्ञहरू बताउँछन्।
शरद् याम अन्तिमतिर पुगेसँगै जाडो बढ्न थाले पनि डेंगीको संक्रमण भने घटेको छैन। काठमाडौं उपत्यकाका टेकु, वीर, पाटन र त्रिवि शिक्षण अस्पतालमा ज्वरोको लक्षण लिएर पुग्ने बिरामी बढेका छन्। चिसो बढ्न थाले पनि डेंगीको संक्रमण नघटेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)को तथ्यांकले देखाएको छ।
ईडीसीडीका अनुसार अहिले देशभर ४२ हजार २७० जनामा संक्रमण देखिएको छ भने २० जनाको ज्यान गइसकेको छ। देशका ११ जिल्लामा ५०० भन्दा बढी डेंगीका सक्रिय संक्रमित छन् भने हुम्ला र जाजरकोट बाहेक ७५ वटा जिल्लामा संक्रमण फैलिएको छ।
सबैभन्दा बढी सुनसरीमा १६ हजार १०५ जनामा डेंगी संक्रमण भएको छ। त्यस्तै, तनहुँमा ६ हजार ११६, झापामा तीन हजार ६३६, धादिङमा तीन हजार १९३, मोरङमा दुई हजार २९०, कास्कीमा दुई हजार २७० र काठमाडौंमा ९९१ जना संक्रमित छन्। गोरखा, कैलाली र धनकुटामा पनि ५०० भन्दा बढी संक्रमित छन्।
अघिल्ला वर्षहरूमा पनि जाडो बढ्दा डेंगीको संक्रमण घटेको थिएन। गत वर्ष सेप्टेम्बरमा २७ हजार ५२९ जना संक्रमित थिए भने यस वर्ष ११ हजार ५८० संक्रमित छन्। त्यस्तै, गत वर्ष अक्टोबरमा १७ हजार ८८९ संक्रमित भएका थिए भने यस वर्ष नौ हजार एक जनामा संक्रमण देखिएको छ।
पछिल्ला वर्षमा नोभेम्बर र डिसेम्बरमा डेंगीको संक्रमण घटेको देखिए पनि शून्यमा भने झरेको थिएन। गत नोभेम्बरमा चार हजार २९० संक्रिमत भेटिएका थिए भने डिसेम्बरमा ४८३ जना संक्रमित थिए। पछिल्लो वर्षको तथ्यांकले यस वर्ष पनि संक्रमण रहिरहन सक्ने देखिन्छ।
यसरी डेंगीको संक्रमण तीव्र भएको र विशेषगरी जाडो महीनामा डेंगी देखिन थालेको धेरै वर्ष भएको छैन। नेपालमा पहिलो पटक २०६१ सालमा डेंगी भेटिए पनि काठमाडौं उपत्यकामा २०६६ सालमा डेंगी सार्ने लामखुट्टे भेटिएको थियो। त्यसपछि फाट्टफुट्ट देखिएको डेंगी २०७६ सालमा ५६ जिल्लामा फैलिएको थियो भने १२ जनाले ज्यान गुमाएका थिए। कोरोनाभाइरस महामारीका वेला २०७७ र २०७८ सालमा डेंगीको प्रकोप देखिएन।
२०७९ सालमा डेंगीको प्रकोप ७६ जिल्लामा फैलियो। ५४ हजार ७८४ जना संक्रमित हुँदा ८८ जनाको ज्यानै गयो। २०६१ सालयता डेंगीबाट मृत्यु हुनेको संख्या यही नै उच्च हो। यस वर्ष जाडो बढ्न थाल्दा पनि डेंगीको संक्रमण कम भएको छैन।
सामान्यतया डेंगी सार्ने लामखुट्टेलाई ३० डिग्री सेल्सियसको तापक्रम उपयुक्त हुने मानिन्छ। तर पछिल्लो समय कम तापक्रममा पनि डेंगी सार्ने लामखुट्टे सक्रिय हुन थालेको छ। किन त?
ईडीसीडीका पूर्व निर्देशक एवं इपिडिमियोलोजिस्ट डा.वासुदेव पाण्डे डेंगी सार्ने लामखुट्टे जाडो याममा पनि सक्रिय हुनुको मुख्य तीन वटा कारण देख्छन्। पहिलो, लामखुट्टेले जाडोसँग लड्ने क्षमता वृद्धि गर्नु, दोस्रो बढ्दो जनघनत्व र यातायातको विस्तार तथा तेस्रो जलवायु परिवर्तन।
डा. पाण्डेले ग्लोबल हेल्थ एन्ड सस्टेनेबल डेभलपमेन्ट युनिभर्सिटी कलेज लन्डनका एन्थोनी कोस्टेलोसँग मिलेर २०७६ सालमा ल्यानसेट जर्नलमा द डेंगी इपिडेमिक एन्ड क्लाइमेट चेन्ज इन नेपाल अध्ययन प्रकाशित गरेका थिए। अध्ययनले पनि बढ्दो तापक्रम, वर्षा र आर्द्रताका कारण डेंगी सार्ने लामखुट्टेको वासस्थान फराकिलो हुँदै गएको देखाएको थियो।
डेंगी सार्ने एडिस जातको लामखुट्टेले घट्दो तापक्रमसँग लड्ने क्षमता विकास गरिसकेको डा. पाण्डे बताउँछन्। कुनै पनि प्राणीले आइपर्ने परिस्थितिसँग लड्ने क्षमता क्रमश: विकास गर्ने उनको भनाइ छ। “वातावरण अनुसार घुलमिल हुन जुनसुकै प्राणीले संघर्ष गरिरहेको हुन्छ, पछिल्ला वर्षहरूमा लामखुट्टेले चिसोसँग लड्ने क्षमता विकास गर्यो, स्वाभाविक पनि हो,” डा. पाण्डे भन्छन्।
उनका अनुसार जनघनत्व र यातायातका कारण यस्ता कीटहरू एक ठाउँबाट अर्को ठाउँमा यात्रा गर्छन्। उनीहरू यात्रा गर्दै जहाँ पुग्छन्, त्यहाँको वातावरणमा बाँच्ने क्षमता विकास गर्छन्। अहिले पहाडी तथा हिमाली जिल्लामा डेंगी सार्ने लामखुट्टे पुग्नुको कारण यातायातको विस्तार हो। “गाडी चढेर पहाडी र हिमाली जिल्ला पुगेका लामखट्टे त्यहाँ बाँच्न संघर्ष गर्छन्, त्यसैले त अहिले देशभर डेंगी देखिएको छ,” डा. पाण्डे भन्छन्।
प्रकोपको रूप लिन थालेपछि पछिल्ला वर्षमा डेंगी संक्रमणबारे अध्ययन पनि हुन थालेका छन्। डा. पाण्डेले भने झैं धेरैजसो अध्ययनले नेपालका पहाडी जिल्लामा पनि डेंगीको संक्रमण फैलिनुमा जलवायु परिवर्तनलाई कारण मानेका छन्। पछिल्ला वर्षमा बढिरहेको तापमान नै डेंगी फैलाउने पर्याप्त कारण बनिरहेको अध्ययनहरूको निष्कर्ष छ।
वैज्ञानिक अध्ययनहरूका अनुसार औद्योगिक क्रान्ति शुरू हुनुअघि सन् १८५० तिर वायुमण्डलको औसत तापक्रम १४ डिग्री सेल्सियस थियो। अहिले १५.१ डिग्री सेल्सियस पुगेको छ। अर्थात्, समग्र वायुमण्डलको औसत तापक्रम १.१ डिग्री बढेको छ। यही बढेको तापक्रमकै कारण डेंगी जस्ता कीटजन्य संक्रामक रोग बढेको विज्ञहरू बताउँछन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले २०७८ जेठमा डेंगीबारे अध्ययन गरेको थियो। परिषद्का प्रमुख अनुसन्धान अधिकृत मेघनाथ धिमाल सहित १४ जना अध्येताले गरेको अध्ययनमा जलवायु परिवर्तन र तापक्रम वृद्धिका कारण मलेरिया, डेंगी, चिकनगुनिया, जापानिज इन्सेफ्लाइटिस जस्ता संक्रामक रोग बढ्न थालेको उल्लेख छ।
अध्ययनका क्रममा धिमालको टोलीले समुद्री सतहबाट ८५ मिटर उचाइको वीरगन्जदेखि दुई हजार १०० मिटर उचाइको धुन्चेसम्म ८३४ वटा घरबाट जमेका पानीको नमूना सङ्कलन गरेको थियो। नमूनामा डेंगी फैलाउने लामखुट्टेका जीवाणु फेला नपरेको कुनै ठाउँ थिएन।
त्यस्तै, त्रिभुवन विश्वविद्यालयको माइक्रोबायोलोजी केन्द्रीय विभागकी सहप्राध्यापक रेश्मा तुलाधार सहित सात जना अनुसन्धाता मिलेर गरेको अनुसन्धानले पनि पहाडी क्षेत्रमा तापक्रम र वर्षामा हुने फेरबदलले डेंगीको भेक्टर फैलावटमा प्रत्यक्ष असर पुर्याइरहेको देखाएको छ। तराई क्षेत्रमा सापेक्षिक आर्द्रताको मात्राले डेंगी भेक्टर फैलावटमा असर पुग्ने पारासाइट्स एन्ड भेक्टर्स जर्नलमा प्रकाशित अध्ययनको निष्कर्ष छ।