देशभरका हरेक पाँचमध्ये तीन घर एकतले
नेपालमा रहेका करीब ६० प्रतिशत घर एकतले रहेको पाइएको छ।
राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार देशभरका ७५ लाख ५२ हजार ६६ घरमध्ये ५९.८२ प्रतिशत घर एकतले छन्। दुईतले घर भने २८.७८ प्रतिशत छन्।
त्यस्तै, तीनतले घर ९.१७ प्रतिशत, चारतले घर १.३ प्रतिशत, पाँचदेखि साततले घर ०.६४ प्रतिशत, आठदेखि नौतले घर ०.०१ प्रतिशत र दशभन्दा बढी तला भएका घर ०.००३ प्रतिशत रहेको तथ्याङ्क कार्यालयले जनाएको छ। कार्यालयका अनुसार एकतले घरमध्ये ८४.२ प्रतिशत घर मधेश प्रदेशमा छन्।
राष्ट्रिय जनगणनाको क्रममा २०७८ भदौ-असोजमा घर र परिवार सम्बन्धी विवरण संकलन गरिएको तथ्यांक कार्यालयले जनाएको छ।