राष्ट्रसंघका महासचिवसँग भेटका लागि द्वन्द्वपीडितको माग
नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटका लागि द्वन्द्वपीडितले माग गरेका छन्।
द्वन्द्वपीडितले महासचिव गुटेरेसलाई सम्बोधन गरी सोमबार एक पत्र सार्वजनिक गर्दै आजदेखि महासचिव फर्किने मिति कात्तिक १५ गतेको बीचमा भेट्ने समय मिलाउन अनुरोध गरेका छन्।
‘तपाईंको भेटका सूचीहरूमा पहिला युद्धरत पक्षका नेताहरूसँग पनि भेट्ने तर राज्य र विद्रोही दुवै पक्षबाट भएका कार्यबाट पीडित नागरिकसँग भेट नगर्ने रहेको हामीले ख्याल गरेका छौं,’ पत्रमा भनिएको छ, ‘हामी तपाईंसमक्ष हामीलाई भेट्ने समय मिलाउन अनुरोध गर्छौं, जसले गर्दा द्वन्द्वपीडितका प्रतिनिधिहरूले तपाईंसँग हाम्रो सामुहिक पीडा, संक्रमणकालीन न्यायको अनुभव र संक्रमणकालीन न्यायको प्रक्रियालाई विश्वसनीय बनाउन हामीले खेलेको भूमिका सुनाउने थियौं।’
विश्वका अन्य मुलुकमा शान्ति प्रक्रिया टुंगिन नसकिरहेको अवस्थामा नेपालमा यसको सफलताको सम्भावना बढी भएको उल्लेख गर्दै त्यसका लागि द्वन्द्वपीडितको पुनःस्थापना, क्षतिपूर्ति र गम्भीर अपराधको जवाफदेहको सुनिश्चितता आवश्यक रहेको पत्रमा उल्लेख गरिएको छ।
पत्रमा बेपत्ता परिवार समाजका अध्यक्ष रूपेश शाह, अपांगता भएका द्वन्द्वपीडितको राष्ट्रिय सञ्जालका अध्यक्ष सुरेन्द्र केसी, द्वन्द्वपीडित महिला राष्ट्रिय सञ्जालकी अध्यक्ष सिर्जना सिंह, द्वन्द्वपीडित राष्ट्रिय सञ्जालका अध्यक्ष गोपाल शाह र द्वन्द्वपीडित साझा चौतारीका कार्यकारी अध्यक्ष कल्याण बुढाथोकीले हस्ताक्षर गरेका छन्।