मोबाइल एपबाटै अव अस्पतालको टिकट
स्वास्थ्य परीक्षण गर्नका लागि टिकट लिन अब निजामती कर्मचारी अस्पताल ‘सिभिल सर्भिस हस्पिटल’ मा पुग्नुपर्ने अवस्थाको अन्त्य हुने भएको छ । अस्पतालले बिहीबारबाट बिरामी परीक्षणका लागि मोबाइल एपबाटै टिकट बुकिङ गर्ने व्यवस्था मिलाएको छ ।
अब बिरामी वा आफन्तले घरमा बसेर नै अस्पतालको ओपिडी टिकट काट्न सक्नेछन् ।‘प्रभु पे’ मोबाइल वालेटमार्फत अस्पतालको ओपिडी टिकट काट्ने व्यवस्थाको शुरुआत गरिएको सिभिल अस्पतालले विज्ञप्तिमार्फत जनाएको छ ।
‘मेडीफ्लो सोलुसन’ ले प्रभु पे मोबाइल एपमार्फत घरमा नै बसेर टिकट काट्न सक्ने प्रविधिको विकास गरेको हो । उक्त प्रविधिबाट टिकट काट्ने व्यवस्था शुरु गर्ने सिभिल अस्पताल पहिला भएको छ ।
अस्पतालले बिरामीको सहजताका लागि प्रविधिको प्रयोग गर्दै प्रभु पे मोबाइल वालेटमार्फत टिकट काट्ने व्यवस्था शुरु गरेको अस्पतालका कार्यकारी निर्देशक प्रा डा दीर्घराज आरसीले जानकारी दिए ।
अस्पतालमा ओपिडीको टिकट लिन निकै लामो लाइन बस्नुपर्ने बाध्यताको अन्त्य भएको र बिरामीका आफन्तले घरमै बसेर सहजै रुपमा टिकट काटेर सेवा लिन सक्ने न्यौपानेको भनाइ छ ।