अन्नपूर्ण यात्राका लागि राष्ट्रसंघका महासचिव पोखरामा
नेपालको चारदिने औपचारिक भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस सोमबार पोखरा आइपुगेका छन्।
नेपाली सेनाको जहाजबाट सोमबार दिउँसो २ बजे पोखराको पुरानो विमानस्थलमा ओर्लिएका हुन्। विमानस्थल परिसरमा पोखराको संस्कृति झल्कने झाँकी सहित उनलाई स्वागत गरिएको छ।
पोखरा विमानस्थलमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, पोखरा महानगरका मेयर धनराज आचार्य, पर्यटनमन्त्री दीपेन्द्रबहादुर थापाले महासचिव गुटेरेसको स्वागत गरेका छन्। उनले आजको रात फेवाताल छेउको फिस्टेल लजमा बिताउनेछन्।
उनी मंगलबार बिहान साढे ६ नेपाली सेनाको हेलिकोप्टर मार्फत अन्नपूर्ण आधारशिविर पुग्ने कार्यक्रम छ। हिमालय क्षेत्रमा जलवायु परिवर्तनको असर अवलोकन तथा स्थानीय बासिन्दासँग छलफल गर्न उनी अन्नपूर्ण आधारशिविर पुग्न लागेका हुन्।
अन्नपूर्ण आधारशिविरबाट फर्किएपछि बिहान ८ बजे पोखरा विमानस्थलमा पत्रकारसँग कुराकानी गर्ने कार्यक्रम छ। त्यसपछि उनले मंगलबार नै लुम्बिनीको भ्रमण गर्ने भएका छन्।
लुम्बिनीबाट काठमाडौं फर्केर मंगलबार बेलुकी संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। उनी कात्तिक १५ गते फर्किनेछन्।
सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि गुटेरेस पहिलो पटक नेपालको भ्रमणमा छन्। राष्ट्रसंघको महासचिवका रूपमा नेपालमा भइरहेको उनको भ्रमणलाई महत्त्वका साथ हेरिएको छ।
यसअघि संयुक्त राष्ट्रसंघका पूर्व महासचिव वान की मुनले २०६५ सालमा नेपाल भ्रमण गरेका थिए।