ऐतिहासिक कागजात खोज्दाको रोमाञ्चक यात्रा
हाम्रा ऐतिहासिक कागजात रहेका पोका र खाम खोल्दा कुनैमा पानीले भिजेर डल्लो परेका कागजका टुक्रा भेटिन्छन्, कतै चिठीका असंख्य टुक्रा। यिनले देखाउँछन्- यी कागजातसँगै हाम्रा इतिहास, वर्तमान र भविष्य पनि टुक्रिंदै छन्, धुलिंदै छन् र सड्दै छन्।
पत्रकार तथा लेखक मोहन मैनालीले मुकाम रराामैदानः नेपाल-अंग्रेज युद्धको बखान पुस्तक लेख्ने क्रममा सार्वजनिक भएका र नभएका पुराना कागज खोज्न र तिनको अध्ययन गर्न लामो समय बिताए। त्यो खोज र अध्ययन गर्दाको उनको अनुभव:
एउटा चिठी
विषयः नालापानीको लडाइँबारे र काँगडाको लडाइँबारे।
पठाउनेः रराादीप सिंह बस्न्यात, रेवन्त कुँवर, बलभद्र कुँवर।
पाउनेः गीर्वाणयुद्ध विक्रम शाह।
चिठी लेखेको मितिः संवत् १८७१ मार्ग वदी १२ रोज ५।
अर्को चिठी
विषयः कुमाउँमा वैरी बढ्न लागिरहेछन्, मद्दत पठाइदेऊ।
पठाउनेः उजीरसिंह थापा, वीरभञ्जन पाँडे र गराापति।
पाउनेः जर्नेल भीमसेन थापा, काजी दलभञ्जन र काजी ररााध्वज।
चिठी लेखेको मितिः संवत् १८७२ वैशाख सुदि १ रोज ४।
२०० वर्षभन्दा पहिले, त्यो पनि लडाइँका मैदानबाट लेखिएका चिठी! त्यो पनि चानेचुने लडाइँ होइन- नेपालले लडेको सबैभन्दा ठूलो लडाइँ, ‘कहिल्यै सूर्य नअस्ताउने’ शक्तिशाली मुलुक बेलायतसँग लडेको।
२०७६ पुसमा अर्कै रोचक विषयबारे जानकारी लिन राष्ट्रिय अभिलेखालय गएको थिएँ। अभिलेख अधिकृत रज्जु हाडा बाहिर गएकाले केही समय पर्खनुपर्यो। उहाँको कार्यकक्षको टेबलमा कम्प्युटर प्रिन्ट गरेको एउटा क्याटलग रहेछ। त्यो पल्टाउँदा माथिका जस्ता विवरण फेला पारें, रोमाञ्चित भएँ।
क्याटलगको कैफियतको महलमा कतै कतै लेखिएको थियोः ठाउँ ठाउँमा कीराले खाएर च्यातिएको, पानीले भिजेको दाग लागेको, छेउमा च्यातिएको, मसीको दाग, किनार च्यातिएको, शिरोभाग च्यातिएको, छेउछेउमा प्वाल परेको आदि।
मेरा मनले साउती गर्योः चिठी कीराले खाएका होऊन्, पानीको दाग लागेका होऊन्, च्यातिएका होऊन्, प्वाल परेका होऊन्- लडाइँको मैदानबाट लडाइँको बयान गरेर लेखिएका त हुन् नि! यी चिठीमा त्यो लडाइँ लड्ने, भोग्ने, देख्नेहरूको त्यति वेलाको मनोवेग र मनोदशा अवश्य पाइन्छ! रराामैदानको असली चित्र अवश्य पाइन्छ!!
त्यसैले म जुन रोचक काम लिएर अभिलेखालय पुगेको थिएँ त्यो काम थाती राखें। लडाइँबारेका पत्रका विवरण टिपेर बसें। चिठीका विषय, चिठी पठाउने र पाउनेका नाम, चिठी लेखेको मिति, चिठी रहेका बट्टा नम्बर, चिठीका नाप र माइक्रोफिल्म नम्बर आदि।
यो काम अघि बढाउने वेला २०७६ माघमा नयाँ जागीर थालें। लगत्तै कोरोना महामारी फैलियो। मान्छेको आउजाउ बन्द, कार्यालय बन्द। मलाई उद्वेलित गराउने चिठी पढ्ने आतुरी खुम्चिएर कुना पस्नुपर्यो। यी चिठी पढेर २५ सय शब्द जतिको एउटा लेख लेख्ने जोश बिस्तारै सेलायो।
कोरोनाले लगाएको अन्तिम लकडाउनपछि मैले सम्झिएँ- म जुन विषयको जानकारी लिन अभिलेखालय पुगेको थिएँ त्यस विषयसँग सम्बन्धित केही जानकारी किन्न पाऊँ भनेर मैले निवेदन दिइसकेको थिएँ। कपी गर्न समय लाग्ने भएकाले पर्खनुपरेको थियो। ती सामग्री अभिलेखालयले तयार गरेर मेरा नाममा रु.३०/३५ हजारको बिल उठाइसकेको हुन सक्थ्यो। त्यसैले म फेरि अभिलेखालय गएँ। नभन्दै ती सामग्री तयार भइसकेका रहेछन्। ती सामग्री लिएँ तर तत्काल पढ्न होइन, केही समय त्यत्तिकै थन्क्याउन।
मैले तत्काल पढ्न चाहेका सामग्री त लडाइँका चिठी थिए।
अभिलेखालयका क्याटलग फेरि पल्टाएँ। लडाइँसँग सम्बन्धित जस्ता लाग्ने सबै चिठी छानें। मिति खुलेका वा नखुलेका दुवै खालका। ती चिठी माइक्रोफिल्ममा उतारिएका थिए। अभिलेखालयमा बसेर ती चिठी पढ्न कत्ति पनि पैसा लाग्दैनथ्यो। तर माइक्रोफिल्मका रीललाई रीडरमा राखेर पेज अघिपछि सार्दै धमिलो स्क्रीनमा पढ्ने आँट मैले गरिनँ। त्यसका डिजिटल प्रति लिएर आफ्नै घरमा, आफूले चाहेका वेलामा, चाहे जति बेर पढ्ने विचार गरें।
मैले छानेका सामग्री धेरै भएकाले ती सबै कपी भइसक्न समय लाग्थ्यो। त्यसरी पर्खनुको सट्टा कपी भइसकेका सामग्री लाँदै गर्दा राम्रो हुन्छ भनी अभिलेखालयका कर्मचारीले सल्लाह दिए। म यी चिठी पढ्न आतुर थिएँ। उनीहरूको यो सल्लाह चित्त नबुझ्ने कुरै थिएन।
२०७८ मंसीर १५ गते चिठीका १८६ पेजका डिजिटल प्रति लिएर घर आएँ। कम्प्युटरमा ‘डीएनए १/१७’ नम्बरको चिठी खोलें। दर्शन गरें।
म जुन चिठी पढ्न आतुर थिएँ ती चिठीमा शब्द छुट्टिएका रहेनछन्, वाक्य छुट्टिएका रहेनछन्, प्याराग्राफ छुट्टिएका रहेनछन्। शुरूदेखि अन्तिमसम्मका सबै अक्षर एउटै शब्द जस्तो लाग्ने गरी बसेका रहेछन्। मेरा सामु कम्प्युटर स्क्रीनमा देखियो- अक्षर जस्ता देखिने किरिङमिरिङ चित्रले ढाकिएको पेज!
हताश भएँ, निराश भएँ। कस्तो सपना देखेको थिएँ, विपना कस्तो भइदियो! पानी खाएँ। पढ्न सक्दिनँ भन्ने जान्दाजान्दै पनि एकछिनपछि फेरि त्यही चिठी पढ्न थालें। ‘स्वौस्तिश्रि’ यति अक्षर बुझे झैं लाग्यो। त्यसपछिका ४७ वटा अक्षर बुझिनँ। त्यसपछिका केही अक्षर बुझें। ती थिए- श्रीश्रीश्री जरणोलनीमसिणा। त्यसपछि फेरि एउटा अक्षर बुझिनँ। त्यसपछि लेखिएका अक्षर मैले यस्ता देखें- ‘पाश्रीश्रीश्रीकाजीर णद्यो थापा।’
त्यस चिठीका अन्तिम लाइनका दुई वटा शब्द बुझें- ‘रोज ४’। त्यसपछि एउटा त्यस्तै सुन्दर अक्षर चिनिनँ। त्यसपछि लेखिएको थियो- र्व्रडांगढि स्भू।
यी चिठी लेख्नेलाई धनुकाँड र तरबारका भरमा तोप र बन्दूकवाला वैरी अंग्रेजसँग लड्न जति हम्मेहम्मे परेको हुँदो हो त्योभन्दा बढी हम्मेहम्मे पर्यो अहिले मलाई यी चिठी पढ्न, बुझ्नको त कुरै छाडिदिऊँ। अरू ५०० पेजभन्दा बढी यस्ता चिठी कपी गर्न अर्डर दिइसकेको छु, ती बेकार हुने भए भनेर अलि अलि आत्तिएँ।
केही सीप नलागेपछि चिठी पढ्न छाडें। साथी धातृ सुवेदीलाई सम्झिएँ जसले यस्ता अक्षर पढ्न जान्नुहुन्छ भन्ने विश्वास थियो। उहाँले यस काममा अलि पछि सहयोग गर्ने वचन दिनुभयो।
“यस्ता अक्षर हेर्दै जाँदा बिस्तारै बुझिंदै जान्छन्,” उहाँले सल्लाह पनि दिनुभयो।
उहाँको सहयोग पाउन केही समय लाग्थ्यो। त्यतिन्जेल पर्खने धैर्य मसँग थिएन। त्यसैले उहाँको सल्लाह मान्दै केही चिठी पढ्ने कोशिश गरें। एउटा चिठीमा दुई-चार वटाभन्दा बढी अक्षर चिनिनँ।
यस्तै निराशाका बीचमा लेखक सुजित मैनालीसँग कुरा गरें। आफ्ना समस्याबारे बताएँ। उहाँले यस्ता केही चिठी पूर्णिमा पत्रिकामा छापिएको बताउनुभयो। पूर्णिमाका निकै अंक मुद्रित स्वरूपमा र १०० वटा अंक डिजिटल स्वरूपमा मेरो कम्प्युटरमा थिए। विषयसूची हेरेर लडाइँ सम्बन्धी केही पत्र पढें। मैले अभिलेखालयबाट ल्याएका र पढ्न नसकेका केही चिठी त्यहाँ छापिएका रहेछन्। अलि पहिले सूची (क्याटलग) बाट मेरो नोटबूकमा सारेको विवरण हेर्दा मैले यो कुरा थाहा पाएँ, चिठी पढेर त थाहा पाउन सक्ने थिइनँ!
त्यसपछि मैले पूर्णिमामा छापिएका चिठी र तिनका डिजिटल प्रतिका अक्षर अक्षर भिडाएर हेरें। यसो गर्दा कुन अक्षर कसरी लेखिंदो रहेछ भन्ने थाहा पाएँ। मैले नचिनेको एउटा अक्षर ‘उ’ रहेछ! यो मैले चिनेको ‘उ’ जस्तो रहेनछ! त्यति वेला ‘उ’ को टुप्पो डिकोभन्दा धेरै माथि पुगेको हुँदो रहेछ। ‘स्त्र’ लेख्न एउटा राम्रो, सानो चित्र बनाइँदो रहेछ! मैले थाहा पाएँ- सल्यानको ‘ल्या’ त्यसरी पो लेखिंदो रहेछ! अनि ‘मल्ल’ को ‘ल्ल’ चाहिं ऊ त्यसरी! ‘ख’ र ‘ब’ जन्मिएकै रहेनछन्! ‘ख’ र ‘ष’ दुवैको काम चलाउने भार ‘ष’ माथि परेको रहेछ! अनि ‘ब’ र ‘व’ को काम चाहिं ‘व’ ले चलाइँदो रहेछ! ‘षतृ’ लेखेको देख्ने बित्तिकै अब म ‘खत्री’ पढ्न सक्ने भएँ। ‘राा’ लाई म सानैदेखि तीनधर्के ‘राा’ (कम्प्युटरमा इन्स्टल गर्न मिल्ने फन्टमा यो अक्षर फेला पारिनँ। त्यसैले ‘र’ थिचें र त्यसमा दुई वटा आकर जोडेर त्योसँग झन्डै झन्डै मिल्ने अक्षर बनाएको हुँ) भनेर चिन्दथें जुन आजभोलि बिग्रिएर ‘ण’ भएको छ। अहिले थाहा पाएँ- ‘राा’ समेत मिलेर बनेको शब्द चिन्न सकिएन भने त्यसलाई ‘न’ पढेर चिन्न कोशिश गर्नुपर्दो रहेछ किनभने कति सिपाहीले निगुरमुन्टी ‘न’ को काम तीनधर्के ‘राा’ लाई लगाउँदा रहेछन्।
देवनागरी वर्णमालाका साउँ अक्षर चिनेको धेरै वर्षपछि त्यही कुरा दोहोर्याएर चिनिसकेपछि शुरूमा पढ्न नसकेका अक्षर चिन्न कनिकुथी गरें। ‘स्वौस्तिश्रि’ होइन ‘स्वस्तिश्री’ रहेछ जुन राजा बाहेक अरूलाई लेखेका चिठीको शुरूमा लेखिंदो रहेछ। त्यसपछिका मैले नबुझेका ४७ वटा अक्षरमा लेखिएको प्रशस्ति रहेछ- सर्वेपमायोग्येत्यदिखदग्राहिचरमभुर्तीपरयकारिमहोदधीसकलगुराागरिष्टराजभाराउधरराारद्य। अरूले यसलाई अलि छोटोमा यसरी लेख्दा रहेछन्- सर्वाेपमायोग्येत्यादिसकलगुराागरिष्ठराजभारोद्धारराासामर्थ। यी अक्षर नबुझ्दा मेरो अहिलेको कामलाई खासै फरक पर्दैनथ्यो। प्रशस्तिपछि लेखिएको ‘श्रीश्रीश्री जरराोलनीमसिराा’ भनेको चाहिं ‘श्रीश्रीश्री जर्नेल भीमसेन’ रहेछ। भीमसेनको थर थापा हो भन्ने जानेकाले यी अक्षर र ‘पा’ का बीचमा जे अक्षर लेखेको भए पनि त्यसलाई ‘था’ पढ्नु परिहाल्यो। मैले पनि त्यसै गरें।
त्यसपछि लेखिएको, मैले अक्षर छुट्याउँदा तलमाथि पारेको शब्द थियो- ‘पाश्रीश्रीश्रीकाजीर रााद्यो थापा।’ यहाँ भएको ‘पा’ लाई अगाडिको ‘था’ सँग जोडिदिएँ। यसो गर्दा बाँकी रहेका ‘श्रीश्रीश्रीकाजीर रााद्यो थापा’ भनेको ‘काजी ररााध्वज थापा’ रहेछ भन्ने बुझें। लडाइँका वेलाका चिठीको सम्बोधनमा ‘भीमसेन थापा’ लेखेपछि ‘ररााध्वज थापा’ नलेखी नहुने चलन रहेछ। त्यसैले ‘भीमसेन थापा’ पछि अमूर्त चित्र बनाएको भेटियो भने पनि त्यसलाई ‘श्रीश्रीश्री ररााध्वज थापा’ भनेर पढ्दा फरक नपर्ने रहेछ।
त्यस चिठीका अन्तिम लाइनका मैले बुझेका अक्षर ‘रोज ४’ पछि लेखिएको अक्षर ‘उ’ रहेछ भन्ने थाहा पाइहालें। त्यसैले ‘र्व्रडांगढि’ को अगाडि मैले हालसालै चिनेको अक्षर ‘उ’ जोडिदिएँ। त्यसो गर्दा यो शब्द ‘उर्व्रडांगढि’ हुनपुग्यो। चितवनमा ‘उपरदाङगढी’ भन्ने ठाउँ छ। हो, त्यसैलाई यसरी लेखिएको रहेछ। चिठीको अन्तिममा ‘स्भू’ थियो, त्यो ‘शुभम्’ रहेछ। चिठीको अन्त्यमा जे अक्षर लेखेको भए पनि अब म त्यसलाई ‘शुभम्’ भनेर सही पढ्न सक्ने भएँ।
‘स्वौस्तिश्रि’, ‘जरराोलनीमसिराा’, ‘काजीर रााद्यो थापा’, ‘र्व्रडांगढि’ र ‘स्भू’ लेख्ने मानिससँग रीस उठेन किनभने उनीहरूले भाला, धनुकाँड, खुँडाखुकुरी, ढालतरबार आदि चलाएर वैरीलाई मार्न पो सिकेका थिए त! उनीहरूले कलम र मसी ठीक तरीकाले चलाएनन् भनेर गुनासो गर्न कहाँ मिल्छ र! अक्षर, शब्द, वाक्य र अनुच्छेद मिलेनन् भन्न कहाँ पाइन्छ र! तिनका जमानामा पाठशाला कहाँ खुलेका थिए र उनीहरूले पढ्नलेख्न जानून्!
चिठी पढ्ने काममा एक कक्षा उक्लिएँ। तर अर्को कक्षा पनि कम अप्ठ्यारो थिएन। ‘षेत रह्या’ मा रह्या भनेको त बुझें ‘षेत’ भनेको के हो? ‘वैरी लोत माग्न आया, हामीले दिञूँ’ मा वैरी केही कुरा माग्न आएछन् र उनीहरूले पनि दिएछन् भन्ने त बुझें तर वैरीले वैरीसँग माग्ने र जुन वैरीसँग मागिएको हो उसले पनि आफ्ना वैरीलाई आनाकानी नगरीकन दिनुपर्ने यो चीज के हो? बुझिनँ।
फेरि पूर्णिमा पल्टाएँ। त्यहाँ केही शब्दका अर्थ दिइएका रहेछन्। ‘षेत रह्या’ भनेको मरे भनेको रहेछ। ‘लोत’ भनेको लास रहेछ। ‘लोथ’ भनेको गलेर हत्तु हुनु हो भन्ने थाहा थियो तर नेपाली बृहत् शब्दकोशले यसको अर्को अर्थ ‘लास’ पनि भनेको रहेछ! मैले भन्ने/लेख्ने/सुन्ने गरेको शब्द ‘लोथ’ त लाक्षणिक अर्थमा पो प्रयोग भएको रहेछ!
२०५९ सालपछि लडाइँका वेला रिपोर्टिङ गर्दा पश्चिम नेपाल घुम्दा ‘पुडो’ शब्द बारम्बार सुनेको थिएँ जसको अर्थ हो- पर। १८७१-७२ सालको लडाइँबारे लेखिएका चिठीमा ‘वडो’ शब्द बारम्बार पढ्नुपर्यो। वडो भनेको पुडोको विपरीतार्थक शब्द हो कि भन्ने ठानें। मेरो अनुमान सही रहेछ। ‘गाफीली’, ‘सोहरा’, ‘घोक’ ‘दर्याँस’, ‘हेला’ जस्ता धेरै शब्दको अर्थ जानेपछि ती चिठीको अर्थ अलि अलि लगाउन सक्ने भएँ। पहरा दिने मानिसलाई पहरेदार भनिंदो रहेनछ। यसका सट्टामा अंग्रेजीको शब्द ‘पिकेट’ सापट लिएर त्यसलाई भाँचकुच गरेर बनाएको शब्द ‘विकट’ चलाइँदो रहेछ।
यति गरिसकेपछि नालापानीमा ‘कवर कवदान/कपतान’ सँग मिलेर अंग्रेजसँग लडेका रिपुमर्दन थापाले नालापानीको लडाइँको बयान गरी लेखेको पत्र यसरी पढ्न सक्ने भएँ-
वाहीरको पानि बन्द गरीहाल्यो। सै छबिसि (१००/१२०) घैलाघांम्पा पानि भरी अंगद कपतानले वनायाका वुर्जामा राष्याको थियो। त्यसै वुर्जामा बम्बगोला, रालगोला २०/२५ पारी पानिका घडा घंपा फोरी पानि पोषिदियो। बम्बगोला, रालगोला, तोपका छराले मानिस मारी चोटाहा गरी सकीहाल्यो। पूर्व पटि र उत्तर पटीका पर्षाल भतगाई जीमिं बरोबर (जमीन बराबर) गरिसकिहाल्यो। ... श्री कपतान (बलभद्र), म, चामू बस्न्यात, गंजसिं थापा काचा चावल षान लागी रह्याथ्यूँ। मानिस त सबै निस्क्या छं, निशान लि भाग्या भनि सुन्दा चारै जना निस्की हेर्दा सबै निसकि गया छं।
यति भएपछि अलिकति आँट आयो। सुजित मैनालीलाई फोन गरेर भनें, “२,५०० जति शब्दको एउटा लेख लेख्न सक्ने हिम्मत आयो।”
“यस्तो गम्भीर र महत्त्वपूर्ण विषयलाई एउटा लेख लेखेर फिस्स पार्नु हुँदैन,” उहाँले भन्नुभयो र यस विषयका थप चिठी खोजेर किताब लेख्न हौस्याउनुभयो।
किताब लेख्नु पनि चुनाव लड्नु जस्तै लत रहेछ! यसमा फसेपछि निस्कन कठिन! एउटा चुनाव हार्यो भने पनि अर्को पालि त पक्का जित्छु भन्ने हुन्छ नि चुनाव लड्नेलाई! ठीक त्यसै गरी, पहिले लेखेको किताबले प्रकाशकलाई घाटामाथि घाटा पारे पनि अर्को किताब त गज्जब बिक्छ भन्ने सपना देख्छ लेखकले।
यही सपना बोकेर म लडाइँका मैदानबाट लेखिएका थप चिठी खोज्न थालें। पूर्णिमाका पुराना अंक हेर्दा परराष्ट्र मन्त्रालयमा रहेका पुराना कागजातमा यस्ता केही चिठी पाइन सक्छन् जस्तो लाग्यो। राष्ट्रिय अभिलेखालयका अभिलेख अधिकृत रज्जु हाडासँग गुहार मागें। उहाँले एउटा बही थमाइदिनुभयो जसमा अभिलेखालयलाई हस्तान्तरण गरिएका परराष्ट्र मन्त्रालयका पुराना कागजातको क्याटलग थियो। त्यसमा भएका विवरणका आधारमा ३५० वटा जति चिठी मलाई काम लाग्ने देखिए। केही चिठी काम लाग्न पनि सक्ने, काम नलाग्न पनि सक्ने देखिए। यी दुवै खालका सबै चिठी लिने भएँ। अघि ऐतिहासिक चिठी लिंदा तिनका इलेक्ट्रोनिक प्रति लिएको थिएँ। अहिले छानेका चिठीको पनि इलेक्ट्रोनिक प्रति लिंदा धेरै पैसा लाग्ने भएकाले तिनका प्रिन्ट प्रतिलिपि लिएँ। प्रिन्ट प्रतिभन्दा डिजिटल प्रति लिन दोब्बरभन्दा पनि बढी पैसा लाग्छ।
ती चिठी पढ्दा लडाइँबारे थप कुरा थाहा पाएँ। तर मैले भेला गरेका चिठीमा कति ठाउँका लडाइँबारे उल्लेख थिएन, कति ठाउँका लडाइँबारे पूरा जानकारी थिएन। मलाई के विश्वास थियो भने यी जानकारी भएका चिठी कतै न कतै हुन सक्छन्। फेरि अभिलेख अधिकृत रज्जु हाडाकहाँ गएँ। उहाँले भन्नुभयो, “राष्ट्रिय अभिलेखालयका र्याकमा राखिएका धेरै पोकामा धेरै कागजात छन्। तिनमा पनि यस्ता चिठी हुन सक्लान्। तर ती अहिलेसम्म सार्वजनिक गरिएका छैनन्। ती परराष्ट्र मन्त्रालयको स्वामित्वमा छन्। ती चिठी पढ्न परराष्ट्र मन्त्रालयबाट अनुमति लिनुपर्छ।”
बुझ्दै जाँदा कसैले भन्यो, “अनुमति औपचारिकता मात्रै हो, परराष्ट्रले सजिलै अनुमति दिन्छ।”
२०७८ फागुनको तेस्रो साता परराष्ट्र मन्त्रालय गएँ। प्रशासन फाँटका सहसचिवलाई भेटें। उहाँले भन्नुभयो, “निवेदन छाडेर गएपछि अनुमतिपत्र चाँडै बन्छ। फेरि आइरहनु, धाइरहनु पर्दैन।” नभन्दै परराष्ट्र मन्त्रालयका अभिलेख समेत हेर्ने जिम्मेवारी पाएका शाखा अधिकृत विजय तण्डुकारले अनुमतिपत्र तयार गरिदिनुभयो।
प्रारम्भिक अवस्थाको क्याटलग हेर्दा मैले थाहा पाएँ- मेरा कामका लागि मैले ५०/६० वटा पोकामा भएका चाङका चाङ कागजपत्र खोतलेर आफूलाई चाहिने चिठी फेला पार्नुपर्ने रहेछ।
त्यो चिठी लिएर अभिलेखालय गएँ। यसअघिका चिठी मैले तीन/चार किसिमले पढ्न सक्थें। अभिलेखालयमा बसेर माइक्रोफिल्म रीडरमा पढेर, माइक्रोफिल्म वा इमेज वा छापिएका प्रति लिएर। अभिलेखालयमा बसेर पढ्दा निश्चित ठाउँमा, रीडर उपलब्ध भएका समयमा मात्र पढ्न पाइन्थ्यो भने माइक्रोफिल्म वा इमेज वा छापिएका प्रति लिएमा आफूलाई मन लागेका ठाउँमा मन लागेका वेला पढ्न सकिन्थ्यो, ती चिठीका मूल प्रति छुन र देख्न नपाईकनै।
अहिले मैले पढ्न लागेका चिठी माइक्रोफिल्म वा अरू फर्म्याटमा उपलब्ध थिएनन्। मूल चिठी नै पढ्नुपर्थ्यो। ती चिठीका प्रतिलिपि लिन, तिनको फोटो खिच्न वा चिठी अन्यत्र लगेर पढ्न पाइँदैनथ्यो। अभिलेखालयको अध्ययन कक्षमा बसेर पढ्न र टिप्न मात्र पाइन्थ्यो। त्यसैले यी चिठी पढ्ने काम पहिलेका चिठी पढ्नुभन्दा अप्ठ्यारो थियो।
तर यी चिठी पढ्नु आनन्ददायी काम थियो किनभने मेरा हातमा २०० वर्षभन्दा पहिले राजा, मुख्तियार, विभिन्न ठाउँमा खटिएका चौतरिया, भारदार, काजी, कर्णेल, दूतदेखि विभिन्न दर्जाका सिपाहीसम्मले मड्याइएका पहाडे कागजमा, बाँसको कलम र वनस्पतिको मसीले लेखे/लेखाएका चिठी हुन्थे। यसरी चिठी पढ्दा ती चिठी मैलाई पो पठाएका हुन् कि जस्तो भान पर्थ्यो। चिठी लेख्ने मान्छेले लडाइँको बयान मैलाई गर्दै छन् जस्तो लाग्थ्यो। इलेक्ट्रोनिक कपी पढ्दा यस्तो आनन्द आएको थिएन।
चिठी पढ्दा मैले सम्झिएँ- १९५८ सालपछि मात्र नेपालमा रैतीले पनि पढ्न पाउने स्कूल कतै कतै खुलेका थिए। तैपनि २००७ सालसम्ममा दुई प्रतिशत मात्र नेपाली साक्षर थिए। स्कूल खुल्नुभन्दा ९०/९५ वर्षअघि कति नेपाली साक्षर थिए होलान्? पुरोहित, वैद्य र ज्योतिषी जस्ता पेशाका मानिस त साक्षर हुनैपर्थ्यो। सिपाहीमध्ये कति साक्षर थिए होलान्? त्यसैले उनीहरूले चिठी कसरी लेखे होलान्?
नेपाल-अंग्रेज लडाइँमा वा त्यसअघि सैनिकले चिठी लेख्नुपर्ने लिखित नियम मैले भेटेको छैन तर त्यो लडाइँ सकिएको ४० वर्ष जति पछि श्री ३ महाराज जंगबहादुरले भोटमा लडाइँ गर्ने तयारी गरेका वेलामा भने निश्चित दर्जाभन्दा माथिका सिपाहीले चिठी लेख्नुपर्ने नियम बनाएका रहेछन्। साहित्यकार तथा अभिलेखकर्ता कमल दीक्षितका अनुसार त्यस नियमको दफा १५ मा लेखिएको थियो- ‘गैह्र अफिसर कर्पोरल तकका जेबमा कलम, मसी, कागज रहोस्। जहाँ जुन खबर परिआयो जसले देख्यो, सुन्यो बुझी मुनासिब कुरो खडाखडै लेखी आफ्ना कमान्डियेरलाई पठाउनू।’ यसो गर्नुपर्नाको कारण यस्तो थियो- ‘खबर नसुन्दा साह्रै अन्देखा पनि पर्छ, बहुवाक्य (कुरा फरक पर्न सक्ने) पनि हुन्छ।... दुस्मनले एक युद्धमा हार खाएमा अर्का मुहुडामा युद्धविराम गरौं भन्छ, तसर्थ, उस मुहुडाबाट जो जबाफ मिल्यो अन्तबाट पनि उही जवाफ बुझी गर्नुपर्छ। ...पल्टनको, मुलुकको, फौजको हटना/बढनाको, आफूदेखि पूर्व-पश्चिममा रहेको फौजको लडाइँको, दुश्मनको खजानाको, रसदको, घाइत्याको जो चाहिन्या गैह्रको खबर चाँडो पाया होसियार रहन्छ। चिठी लेखनाको र खबर बुझनाको बहुत ताकिता गर्नू।
नेपाल-अंग्रेज युद्धका वेला पनि यस्तै लिखित वा मौखिक केही नियम थियो होला। पाल्पा र अर्की जस्ता महत्त्वपूर्ण ठाउँमा चिठी लेख्न खरिदार वा यस्तै पदका मानिस राखिएका थिए। पाल्पाबाट अमरसिंह थापा र उजीरसिंह थापा दुवैका पालामा लेखिएका चिठीमा गराापति उपाध्यायका सुन्दर अक्षर छन्। तर यस अध्यायको शुरूतिर उल्लेख गरिएको, मैले सर्वप्रथम पढ्न खोजेको, उपरदाङगढीबाट पठाइएको चिठी लेख्ने गजबल बानिया जस्ता अलि तल्लो तहका सिपाहीले लेखनदास पक्कै पाउँदैनथे। त्यसैले उनीहरूले कनीकुथी भए पनि आफैं लेख्थे होलान्।
यी चिठी पढ्न लाग्दा के समस्या आइलाग्यो भने मलाई चाहिने चिठी हुन सक्ने पोकामा त्यस विषयका मात्र चिठी थिएनन्। कुनै पोकामा हिन्दूस्तान, यूरोप र भोट-चीनका अनेक विषयसँग सम्बन्धित चिठी पनि थिए। एउटा पोकामा कुनै निश्चित समयका मात्र चिठी थिएनन्। एउटा चिठी १८२५ सालको हुन सक्थ्यो भने अर्को २०२५ सालको। पोकाका कागजका खातमा आफूलाई काम लाग्ने चिठी फेला पार्न मैले ती सबै कागज सरसर्ती हेर्नुपर्थ्यो। त्यसैले समय धेरै लाग्थ्यो।
कुनै पोकामा क्याटलगमा उल्लेख भएका, मलाई काम लाग्ने चिठी हुँदैनथे। यसो भएका वेला म अलि निराश हुन्थें, मलाई चाहिने जानकारीको एउटा महत्त्वपूर्ण कडी हराएछ भनेर। तर कुनै पोकामा क्याटलगमा उल्लेख नभएका तर मलाई चाहिने महत्त्वपूर्ण चिठी फेला पर्थे। त्यति वेला म दङ्ग पर्थें।
आफूलाई काम लाग्ने चिठी भेटेपछि म चिठी हेरी कुनैका शिर-पुच्छर सबै टिप्थें, कुनैका सार मात्र टिप्थें।
यस्तै भइरहेका वेला परराष्ट्र मन्त्रालयले अनायास मलाई खबर गर्यो- यी कागजपत्र हेर्न तैंले पाएको अनुमति रद्द भयो भनेर।
किन?
अब यस विषयको निर्णय सचिवज्यूले गर्ने हुनुभयो रे। त्यसैले यसअघि सहसचिवले दिनुभएका अनुमति स्वतः रद्द भए।
यो बेइन्साफी निर्णय थियो। मैले सूचनाको हकको उपयोग गरेर यी चिठी पढ्ने विचार गरें र निवेदन लेखें। यो निवेदन परराष्ट्रमा दर्ता गर्नुभन्दा पहिले मैले सम्झिएँ- यस्ता पुराना कागजपत्र हेरिआउनुभएका मदन पुरस्कार विजेता भगिराज इङ्नाम पनि परराष्ट्रका पुराना कागज हेर्दै हुनुहुन्थ्यो। उहाँले पाउनुभएको अनुमतिपत्र पनि रद्द भएको रहेछ। एउटै गाउँठाउँका भएकाले उहाँसँग मेरो चिनजान थियो। त्यसैले उहाँलाई भनें, “दाइ, सूचनाको हक उपयोग गरेर यी चिठी पढौं।”
उहाँले भन्नुभयो, “त्यसो गर्न हुँदैन भाइ। नदिने नियतका कर्मचारी भएका ठाउँमा यो तरीकाले कागजपत्र पाउन लामो लडाइँ लड्नुपर्छ। लेख्न पढ्न तल्लीन आफ्नो दिमागलाई झगडिया बनाउनुपर्छ। त्यति गरेर यी चिठी पढ्ने अनुमति पाइन्जेलमा दिमाग विषाक्त भइसक्छ। अध्ययन अनुसन्धान र लेखपढ गर्ने दिमाग मरिसक्छ।”
रिस उठेका वेलामा निर्णय गर्नुअघि बुज्रुगका यस्ता सल्लाह मान्नुपर्छ भनेर निवेदन दिइनँ।
त्यसको एक सातापछि परराष्ट्र मन्त्रालयबाट खबर पाएँ- कागजपत्र पढ्न नयाँ निवेदन दिनू। एक पटकमा दश वटा मात्र कागजपत्र पढ्ने अनुमति माग्नू। त्यसभन्दा बढी पढ्ने भए ती दश वटा पढिसकेपछि फेरि निवेदन दिनू।
२०७९ जेठ ३१ गते दश वटा कागजपत्र माग गरेर निवेदन दिएँ। त्यसको तीन सातामा मेरो निवेदन अघि बढेछ। मलाई अर्को लेठो लाग्यो- ती कागजपत्र पढ्नुको उद्देश्य लेखेर बुझाउनुपर्ने। छोटो उद्देश्य लेखेर बुझाएँ र अनुमतिको पर्खाइमा बसें। भगिराज दाइको सल्लाह अनुसार दिमागमा झगडिया बस्ने ठाउँ निष्क्रिय पारेर, दिमागलाई शान्त राखेर, वेलावेलामा अनुमति पाउन तागिता गरेर।
यति वेला मेरो दिमाग शान्त बनाउने काम मसँग टन्नै थिए। अब म नेपाल-अंग्रेज लडाइँबारे अंग्रेज सिपाही र कमान्डरले लेखेका चिठी, अंग्रेज र नेपालीले लेखेका किताब तथा यस विषयका यसअघि सार्वजनिक भइसकेका चिठी पढ्न थालें।
निवेदन दिएको तीन महीनामा अनुमति पाएँ। यसपछि कागजपत्र पढ्न पहिलेभन्दा बढी अप्ठ्यारो भयो। यसअघि मैले पढ्नुपर्ने कागजपत्र भएका पोका भएको कोठाको चाबी अभिलेखालयका कर्मचारीसँगै थियो। मैले कुनै पोका मागेपछि उनीहरू ती पोका झिकेर मलाई दिन्थे। अब चाहिं पढ्नुपर्ने कागजपत्र भएका पोका रहेको कोठाको चाबी उनीहरूसँग थिएन, परराष्ट्रका कर्मचारीसँग मात्र थियो। मैले मागेका कागजपत्र भएका पोका झिकेर मलाई दिन परराष्ट्रका मान्छे अभिलेखालय आउनुपर्थ्यो। उनले आफ्ना अरू धेरै कामबाट फुर्सद निकालेर यो काम गर्नुपर्थ्यो।
यति भुक्तमान गरेर कागजपत्र पढ्दा मलाई अर्को पनि फाइदा भएको थियो- सार्वजनिक नभएका ती पोकामा कुन कालका, कुन विषयका कागजात छन् र तिनले के बताउँछन् भन्नेबारे मैले मोटामोटी कुरा थाहा पाएँ। यी कागजातले नेपालको न्याय प्रणाली, परराष्ट्र मामिला, कागजपत्र व्यवस्थित गर्ने प्रयास, नेपाली भाषाको त्यति वेलाको प्रचलन र शिकार कूटनीति आदि विविध पक्षमा प्रकाश पार्ने रहेछन्। जस्तै,
• नेपालले १८८४ सालसम्म महाकाली नदीपारिका गाउँको पनि मालपोत उठाउँदै आएको रहेछ।
• नेपाल दरबारले कुमाउँसम्मबाट पनि लडाकू च्याखुरा मगाउँदो रहेछ।
• नेपालमा बस्ने कश्मिरीहरूको नामनामेसी राखिंदो रहेछ।
• १८९६ सालमा काठमाडौंका टोल टोलको जाँच गरी त्यहाँका घर र जनसंख्याको विवरण लिइएको रहेछ।
• भोट, कुतीका साहुहरूले नेपाललाई कर बुझाउनुपर्दो रहेछ। त्यसो गर्न उनीहरू आनाकानी गर्दा रहेछन्।
• नेपाल-अंग्रेज लडाइँपछि पनि नेपालले दिल्ली, पञ्जाब आदि ठाउँका खबर नियमित रूपमा बुझ्दो रहेछ। अरू त अरू अंग्रेज र रणजित सिंहका बीचमा भएको सन्धिको नक्कल पनि उतारेर ल्याइएको रहेछ।
• अंग्रेज रेजिडेन्टका नोकरले नेपालीलाई करणी गरेको मुद्दा पर्दो रहेछ।
• नेपालको इतिहासका विभिन्न कुरा टिपोट गरी राख्ने चलन रहेछ।
• विभिन्न समयमा भुइँचालो गएको र तिनबाट क्षति भएको विवरण ठाउँ ठाउँबाट पठाइँदो रहेछ।
• भीमसेन थापाका पालामा भोटले सतीप्रथा अन्त्य गर्न नेपाललाई अनुरोध गरेको रहेछ।
• ऐन नभएकाले त्यति वेला न्याय सम्पादन गर्न ठाउँ ठाउँमा बसेका अधिकारीहरूले विभिन्न मुद्दा आएपछि के गर्ने भनेर राजा/मुख्तियारलाई सोध्दा रहेछन्। जस्तै, बेजातमा अनि हाडनातामा करणी गर्नेलाई के गर्ने? राति मकै खान भालु आयो भनी विषालु काँड हान्दा काँड लागेर गोरु मरेकोमा के गर्ने? अनि नाक काटेर गाउँबाट धपाउने र ज्यान मासिदिने सजाय दिइँदो रहेछ।
विडम्बना, यस्ता महत्त्वपूर्ण जानकारी भएका कागजात पोकामा बाँधिएर बसेका छन्। त्यसैले हामी हाम्रो निकट विगतबारे बेखबर छौं। यसले गर्दा हामीलाई आफू जानुपर्ने ठाउँ र त्यहाँ पुग्ने बाटोबारे पनि थाहा छैन।
यी पोकामा नेपाली र अंग्रेजी बाहेक फारसी, तिब्बती र चिनियाँ भाषामा लेखिएका कागज पनि धेरै छन्। नेपाल-अंग्रेज लडाइँअघि नेपालले दक्षिण र पश्चिमतिरका राज्यहरूसँग फारसी भाषामा पत्राचार गर्दो रहेछ। यसका लागि फारसी लेखपढ गर्न जान्ने मानिस राखिंदो रहेछ। १८५२ सालमा झकरिलाललाई नेपालका राजाले फारसी ‘खतखतुत' (खत भनेको चिठी, खतुत भनेको दस्तावेजहरू) लेख्ने र पढ्ने कामका लागि दर्माह १२ रुपियाँ दिएर ‘नोकर’ राखेका रहेछन्।
हिन्दूस्तानमा अलि पहिल्यै मुगल साम्राज्य फैलिइसकेको थियो। त्यसैले पराई संस्कृति भएका, पराई भूगोलमा बस्ने र पराई धर्म मान्ने मानिसले बोल्ने अरबी, फारसी भाषा मल्लकालमै काठमाडौं भित्रिइसकेका थिए। फारसीका शब्द जगात, गुनाहगार, फिराद, उमराव, काजी, दरवाजा, जग्गा, तफसील जस्ता शब्द नेवारभाषीका मुख र हातमा बसिसकेका थिए। पछि आएर नेपालले अन्तर्राष्ट्रिय सम्बन्धका लागि फारसी भाषाको उपयोग गर्नु अनौठो कुरा भएन।
उत्तरतिरका छिमेकीसँगको पत्राचार नेपाली बाहेक तिब्बती र चिनियाँ भाषामा पनि गरिंदो रहेछ। त्यसैले चिनियाँ भाषा सिक्न छात्रवृत्ति दिएर पठाइँदो रहेछ। १८५० सालमा राजाले डाँस्या खवास र भीमसेन खवासलाई चिनियाँ अक्षर र बोली सिक्न ल्हासा पठाएका थिए। उनीहरूलाई मासिक २८ रुपैयाँ दुई आनाका दरले छात्रवृत्ति र वर्षदिनको ५० रुपियाँका दरले पोशाक भत्ता दिइएको थियो। बरालिएर अक्षर, बोली नसिके सजाय गर्ने चेतावनी दिइएको थियो।
आधुनिक नेपालको इतिहास बुझ्न/बुझाउन अहिलेको भन्दा अलि फरक खालको नेपाली भाषा मात्र बुझेर पुग्दैन रहेछ, फारसी, तिब्बती र चिनियाँ भाषा पनि बुझ्नुपर्ने रहेछ।
परराष्ट्रका केही चिठीका कागज र अक्षर भर्खर लेखिएका जस्ता सफा छन्। मसीको गन्ध आउँछ कि जस्तो ताजा देखिन्छन्। तर धेरै कागजातको अवस्था नराम्रो छ। कुनै कागजका टाउका छैनन्, कुनैको बीचका भाग र कुनैका पुच्छर छैनन्। कुनैका अक्षर लतपतिएका छन्। वर्षौंसम्म अव्यवस्थित तरीकाले पोकामा कोचिनुपर्दा, मोडिनुपर्दा कैयौं चिठीका अक्षर नबुझिने भएका छन्। कुनै चिठीमा सानाठूला प्वाल परेका छन्। उदाहरणका लागि, बलभद्र कुँवरले लाहुरबाट पठाएको ९ इन्च लामो र ६ इन्च चौडा चिठीमा २३ ठाउँमा ससाना प्वाल परेका छन्। धन्न त्यो चिठी अहिलेसम्म कतै कतै बाहेक पढ्न सकिने अवस्थामा छ। कतिपय चिठीका अक्षर खसेर चिठी जाली जस्ता भएका छन्।
यी कागजातको राम्रोसँग अध्ययन गरेका, यही विषयका ज्ञाता डा. साफल्य अमात्यका अनुसार २०४५ सालतिर परराष्ट्र मन्त्रालयमा रहेका यी कागजातको अवस्था यस्तो थियो- ‘अभिलेख भण्डारको कोठामा ती कागजातका पोकाहरू दुई वटा फलामका र्याकमा टनाटन राखेका छन्। केही पोका त्यसै भुइँमा थुपारिएका छन्। केही कागजपत्रहरूलाई पहेंला खाममा राखिएको छ। ती खाम काठको सानो र्याकमा राखिएका छन्। हाल त्यहाँ कागजातका ३५० थानभन्दा बढी पोका छन् र खाम पनि त्यस्तै ३०० थानभन्दा बढी छन्।... कतिपय कागजपत्र ओसिएर जमठ परेका छन् त कति ढुसी परी अति जीर्ण भएका छन्। अति महत्त्वपूर्ण कागजातलाई तुरुन्त माइक्रोफिल्म गरेर सुरक्षित राख्नु जरुरी छ।’
माथि नै भनिसकियो, अहिले ती कागजात राष्ट्रिय अभिलेखालयमा छन्, पहिलेभन्दा व्यवस्थित र अलि सुरक्षित ठाउँमा राखिएका छन्। तर पनि त्यसयता तिनको अवस्था झन् खस्किएको छ। ती पोकाभित्रका केही खाममा लेखिएका नोटले यही बताउँछन्। तिनमा लेखिएको छः चिठी नभएका खाम, जीर्ण चिठी, काम नलाग्ने भइसकेका कागजपत्र।
यी खाम खोल्दा कुनैमा पानीले भिजेर डल्लो परेका कागजका टुक्रा भेटिन्छन्, कतै चिठीका असंख्य टुक्रा। यिनले के देखाउँछन् भने यी कागजातसँगै हाम्रा इतिहास, वर्तमान र भविष्य पनि टुक्रिंदै छन्, धुलिंदै छन् र सड्दै छन्।
नेपाल पुराना जानकारीको महत्त्व बुझ्दै नबुझ्ने देश त थिएन। एउटा उदाहरण हेरौं। वीरेन्द्र युवराज छँदा पाकिस्तान भ्रमणमा गएका रहेछन्। त्यस क्रममा लाहोरस्थित राष्ट्रिय अभिलेखालयमा रहेका १८७१-७२ सालको नेपाल-अंग्रेज युद्ध र त्यसअघिको नेपाल-अंग्रेज सम्बन्धबारे उल्लेख भएका सामग्री देखेछन्। ती सामग्री नेपालका लागि पनि महत्त्वपूर्ण हुने ठानेर तिनका प्रतिलिपि नेपाल मगाएछन्। यसरी, कुनै वेला विदेशका अभिलेखालयमा रहेका आफूसँग सम्बन्धित जानकारीका प्रतिलिपि मगाउने देश अहिले आफ्नै भण्डारमा रहेका महत्त्वपूर्ण कागजात सडाएर बसेको छ!
यी कागजको अवस्था यस्तो नहोस् पनि कसरी! आफ्नो जन्मयता यी कागजातले धेरै पटक अव्यवस्थित तरीकाले बसाइँ सर्नुपरेको थियो। यस्ता कागजात सम्हाल्ने विधाका विज्ञ डा. साफल्य अमात्यका अनुसारः
शुरूशुरूमा यहाँका अभिलेख कागजातका पोकाहरू हनुमानढोकाको गद्दी बैठकको लङमा राखिएका थिए। जंगबहादुरको प्रधानमन्त्रित्वकालमा जंगबहादुरले ती कागजातका पोका आफ्नो थापाथली दरबारमा लगेर राखेका थिए। पछि भीमशमशेरका पालामा ती सम्पूर्ण पोका टंगाल दरबारमा लगेर राखे। १९९० सालमा ती कागजातका पोका हनुमानढोकाको मोहनचोकमा ल्याएर राखेका थिए। त्यस सालमा महाभूकम्प गएको हुँदा त्यहाँका कागजातका पोका पनि तितरबितर हुन लागे। त्यस्तो अवस्थामा ती कागजातका पोका सबै गुटमुट्याएर आर्मी हेडक्वार्टरमा लगेर राखिए। परराष्ट्र मन्त्रालय खडा भएपछि ती पोका आर्मी हेडक्वार्टरबाट ओसारेर सिंहदरबार भवनमा ल्याइए। २०३० साल असार महीनामा सिंहदरबारको अग्निकाण्ड हुँदा केही अभिलेख कागजात नोक्सान भए पनि बचाउन सकेका जति कागजातका पोका परराष्ट्र मन्त्रालयको सिंहदरबारस्थित कार्यालयमा ल्याएर राखेका थिए।
यी सामग्री व्यवस्थित ढंगले राख्न पहिले गच्छे अनुसारका प्रयास भएका पनि रहेछन्। १९६४ साल अर्थात् आजभन्दा ११६ वर्षअघि जैसी कोठाका पुराना कागजको किताब खडा गर्न (क्याटलग बनाउन) मुखिया, बहिदार, नौसिन्दा र सिपाही खटाइएका थिए।
उनीहरूले खडा गरेको क्याटलगमा यस्ता कागजातको विवरण उल्लेख छ। यो क्याटलगको मूल प्रति मैले फेला पारिनँ। तर पूर्णिमामा छापिएका यसका अंश पढें। त्यसभन्दा अलि फरक विवरण भएको क्याटलग भने फेला पारें। यी दुई क्याटलगमा केही कागजातको विवरण समान छ। मैले भेटेको क्याटलगका सबै पृष्ठमा डम्बरशमशेरको छाप लागेको छ। उनी जंगबहादुरका कान्छा भाइ प्रधानसेनापति धीरशमशेरका माइला छोरा (ल्याइतेपट्टिका भएकाले प्रधानमन्त्रीको रोलक्रमबाट हटाइएका) थिए। यी प्रसिद्ध साहित्यकार बालकृष्ण समका बाजे हुन्। यो क्याटलग उनैले तयार पार्न लगाएको जस्तो देखिन्छ।
यी क्याटलग मुखिया, बहिदार, नौसिन्दा र सिपाहीले तयार गरेका हुन्। क्याटलग तयार गर्न सिपालु मानिसले तयार गरेका होइनन्। त्यति वेला यो सीप नेपालमा थिएन। इतिहास पनि घुइरोघुइरो मात्र जान्ने मानिसले तयार गरेका हुन्। त्यसैले कतै कतै गल्ती छन्। एउटा कागजको विवरण लेख्ने क्रममा यी दुवै क्याटलगमा अमरसिंह थापा पाल्पाबाट नेपाल आउँदा नालागढमा अक्टरलोनीले उनका सामान जाँचेको उल्लेख छ। यहाँ भनिएका अमरसिंह पाल्पा बस्ने अमरसिंह नभएर सतलज नदीछेउको नेपाली भूभागमा बस्ने बूढाकाजी अमरसिंह हुनुपर्छ। त्यसैले यहाँ उल्लेख गरिएको पाल्पा मिल्न आउँदैन।
अलि पछि फेरि केही प्रयास भए जस्तो देखिन्छ। यति वेला चिठीका पीठमा अथवा चिठीमा नत्थी गरिएका कागजका टुक्रामा राम्रा अक्षरमा चिठीको चिनारी दिइएको छ। एउटा चिठीका पीठमा भनिएको छ- ‘७२/७३ सालको अंग्रेजसँगको लडाइँको मद्दत मागेका विषय फाइलमा राख्ने।’ तर यो चिठी अर्कै ठाउँमा राखिएको छ।
त्यस वेला यति प्रयास गरेकोमा गर्ने र गराउने दुवैको गुन सम्झनुपर्छ। शिक्षाको अवस्था तुलनात्मक रूपमा राम्रो भएका वेला अहिले यो काम गर्ने जनशक्ति तयार छ तर पनि यो काम भएको छैन। अहिले आफ्ना ढुकुटीमा भएको कुनै महत्त्वपूर्ण कागज चाहियो भने त्यसको खोजी गर्न सरकारले समिति गठन गर्ने गर्छ। व्यवस्थित क्याटलग नभएकाले त्यस्ता समितिले खोजेका कागज फेला पर्ने कुरै हुँदैन। खोजेका वेला खोजेका कागज सजिलै भेट्न तयार नगरी नहुने क्याटलग बनाउने र कागजात व्यवस्थित राख्ने काम गर्न भने कसैले ध्यान दिंदैन। यसले हामी उल्टो बाटोमा हिंडिरहेका छौं भन्ने कुराको संकेत गर्छ।
प्रजातान्त्रिक मुलुकले जस्तासुकै गोप्य भनिएका सामग्री पनि निश्चित वर्षपछि सार्वजनिक गर्ने गर्छन्। अमेरिकाले ऐतिहासिक महत्त्वका कागजात २५ वर्षमा सार्वजनिक गर्छ। जीउधनको सुरक्षा जस्ता विभिन्न कारणले गोप्य राख्नुपर्ने कागजात सार्वजनिक गर्ने अवधि घटाएर कुनै देशले ५० वर्षमा झारेका छन्। इस्ट इन्डिया कम्पनीले नेपाल-अंग्रेज लडाइँका सम्बन्धमा भएका गोप्य पत्राचार (सेक्रेट लेटर) समेत समेटेर लडाइँ थामिएको आठ वर्ष नपुग्दै किताब छापेको थियो। हामीले भने यस्ता चिठी अहिलेसम्म लुकाएर राखेका छौं, कुहाएर राखेका छौं।
रातो कपडामा पोका पारिएका यी चिठी पढ्दै जाँदा यिनलाई किन गोप्य राखिएको होला भन्ने प्रश्न मेरो दिमागमा बारम्बार आयो। उहिले उहिले राणाकालमा ‘कोढको ओख्तो छैन, सवालको जवाफ छैन’ भनिन्थ्यो। कोढ अर्थात् कुष्ठरोगको ओख्तो अर्थात् औषधि आएको धेरै भयो। अहिले सरकारले कुष्ठरोग लागेका मान्छे खोजीखोजी त्यसको ओखती शुल्क नलिईकन खुवाउँछ। सवालको जवाफ दिनुपर्छ भन्ने व्यवस्था २००७ सालमा आयो। त्यो व्यवस्था २०४६ सालमा पुनःस्थापित भएको पनि ३४ वर्ष भइसक्यो। तर मेरो मनमा आएको माथिको सवालको जवाफ अहिले पनि पाइँदैन। त्यस सवालको जवाफ खोज्नु बेकार छ किनभने हामीले ल्याएको ‘प्रजातन्त्रिक व्यवस्था’ अप्रजातान्त्रिक छ!
यी कागजात कुनै नियम, कुनै तर्क, कुनै मापदण्ड र कुनै समझका आधारमा गोप्य राखिएको जस्तो लाग्दैन। केही उदाहरण हेरौं-
• प्राराा शाह, रराावीर सिंह थापा र दलभञ्जन पाँडेले मुकाम रतनपुरको चौरबाट १८७१ साल मार्गशीर्ष वदी ८ रोज १ मा लेखेको अर्जी उहिल्यै सार्वजनिक भइसकेको छ। सोही दिन सम्बोधन बाहेक सबै बेहोरा उस्तै राखेर उनीहरूले नै उही ठाउँबाट भीमसेन थापा र ररााध्वज थापालाई लेखेको पत्र अहिले पनि गोप्य राखिएको छ।
• भक्ति थापाले सतलज नदीछेउको उनको त्यतिवेलाको मुकाम अर्कीबाट १८७० साल कात्तिक सुदि ९ रोज ३ मा पाल्पा बस्ने जर्नेल अमरसिंह थापा र राजालाई लामालामा, अलग अलग चिठी लेखेका थिए। सम्बोधन र एकाध शब्द बाहेक तिनको बेहोरा एउटै छ। तीमध्ये अमरसिंहलाई पठाएको चिठी गोप्य राखिएको छ। राजालाई पठाएको चिठी उहिल्यै सार्वजनिक भइसक्यो।
• (१८७१) कात्तिक वदी ६ रोज ५ मा मुकाम नालापानीबाट बलभद्र कुँवरहरूले राजालाई पठाएको चिठी गोप्य राखिएको छ। सोही मितिमा, उनीहरूले नै सोही बेहोरा राखेर भीमसेन थापा र ररााध्वज थापालाई लेखेको पत्र उहिल्यै सार्वजनिक भइसकेको छ।
यस्ता उदाहरण कति हो कति छन्।
उही मानिसले, उही मितिमा, उही ठाउँबाट उही बेहोरा राखेर एक जनालाई लेखेको चिठी सार्वजनिक गर्दा आकाश खसेन, अर्कोलाई लेखेको चिठी सार्वजनिक गर्दा आकाश खस्छ जस्तो ठानिएको छ।
तत्कालीन युवराज वीरेन्द्रले पाकिस्तानको लाहोर अभिलेखालयबाट मगाएका, नेपाल-अंग्रेज लडाइँ लगायत विषयका कागजातका प्रतिलिपि उनी राजा भएपछि नेपाल आइपुगे। राजाले राष्ट्रिय अभिलेखालयको ‘संकलन कार्यमा अभिवृद्धि भई पाठकहरूले सदुपयोग गर्ने मौका प्राप्त गरून् भन्ने हेतुले’ ती सामग्री हाम्रो राष्ट्रिय अभिलेखालय पठाइदिए। तर नेपालमा रहेका सोही विषयका कागजात ‘पाठकहरूले सदुपयोग गर्ने मौका प्राप्त गरून्’ भन्ने हेतु वीरेन्द्र स्वयं र उनीपछिका नेपालका कार्यकारी प्रमुख र परराष्ट्रमन्त्री कसैमा पलाएन। नेपालको कर्मचारीतन्त्र यस्तो हेतु लिने गरी स्वतन्त्र भइसकेको छैन।
डा. साफल्य अमात्यका अनुसार २०३० सालतिर सिंहदरबार आगलागी हुनुभन्दा अघि त्यहाँबाट केही कागजात राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गरिएका थिए। अग्निकाण्ड हुनासाथ सो काम स्थगन भएर अधुरो रहन गयो, यी कागजात हस्तान्तरण गरेकैले सिंहदारबारमा आगो लागेको हो जस्तो ठानेर। त्यसपछि, सिंहदरबारमा फेरि आगो नलागोस् भने झैं गरेर बाँकी कागजात राष्ट्रिय अभिलेखालयलाई सुम्पिइएन।
२०४६ सालभन्दा पहिले शाही नेपाली सैनिकका अड्डामा पनि ऐतिहासिक कागजात राखिएका थिए। ती चिठी पढ्न कसैलाई दिइँदैनथ्यो। तर अहिले नेपाली सेनासँग रहेका ती कागजात जोकोहीले हेर्न पाउँछन्। स्वभावैले गोपनीयतालाई जोड दिने सेनाले आफूकहाँ भएका कागजात सार्वजनिक गरिसक्दा पनि खुलापनलाई मलजल गर्नुपर्ने निजामती प्रशासन भने सेना जति पनि खुला छैन। यो एउटा विडम्बना हो।
यस सन्दर्भमा नेपाल सरकारले गर्नुपर्ने केही अति जरुरी काम छन्। ती यस प्रकार छन्:
• यी कागजात गोप्य राखेकाले नै नेपालको अस्तित्व अहिलेसम्म टिकेको छ, यी कागजात सार्वजनिक गर्दा नेपाल बिलाउँछ भन्ने अहिलेसम्मका सरकारको भ्रम त्याग्नु।
• पचास वर्ष पुराना सबै कागजात सार्वजनिक गर्ने निर्णय गर्नु।
• त्यस्ता कागजात राष्ट्रिय अभिलेखालयलाई हस्तान्तरण गर्नु।
• ती कागजातलाई सुरक्षित गरी तिनका डिजिटल प्रति इच्छुक पाठकलाई उपलब्ध गराउन जेजस्ता काम गर्नुपर्छ ती काम गर्न अभिलेखालयलाई पर्याप्त बजेट दिनु।
• तिब्बती, चिनियाँ र फारसी भाषामा लेखिएका कागजातको नेपाली अनुवाद गराउनु।
यी चिठी खोज्ने क्रममा मैले के थाहा पाएँ भने, लडाइँका वेला अंग्रेज सैनिकले अंग्रेज सैनिकलाई, सैनिकका पत्नीले फौजी लोग्नेलाई, सैनिकका प्रेयसीले सैनिक प्रेमीलाई अनि अंग्रेजको एउटा कारिन्दाले अर्को कारिन्दालाई अंग्रेजी र फारसी भाषामा लेखेका चिठी पनि हाम्रो अभिलेखालयमा छन्। पर्सामा क्याप्टेन सिब्लीको पोस्टमा भीषण हमला गरेर नेपालीले पोस्ट कब्जा गरेपछि त्यहाँका जंगी सामानसँगै यी चिठी काठमाडौं आइपुगेका होलान्।
अर्कातिर, नेपालीले नेपालीलाई लेखेका धेरै चिठी अंग्रेजले बाटैमा खोसेको थियो। ती चिठी पाकिस्तान, भारत वा बेलायत कतै राखिएका होलान्। केही चिठीका अंग्रेजी अनुवाद बेलायतको अभिलेखालयमा छन्। भारत र पाकिस्तानका अभिलेखालयमा पनि होलान्।
नेपाल-अंग्रेज लडाइँका वेला र लडाइँ सकिएपछि युद्धबन्दी आदानप्रदान भएका थिए। यी चिठी पनि युद्धबन्दी जस्तै त हुन्। युद्धबन्दी बनाइएका मानिस केही समयपछि मरिहाल्थे, यी चिठी त जुगजुग बाँचिरहन्छन्। त्यसैले यी पत्रको आदानप्रदान गर्न पनि जरुरी छ। हामी हाम्रो अभिलेखालयमा रहेका अंग्रेजी र फारसी भाषाका चिठीका प्रतिलिपि उनीहरूलाई सुम्पिदिऔं, उनीहरूले नेपाली र नेवार भाषामा लेखिएका हाम्रा चिठी, अथवा चिठी छैनन् भने तिनका अनुवाद भए पनि हामीलाई दिऊन्। ती चिठी लेख्ने र पाउनेका सन्तान अथवा तिनका स्वदेशवासीले ती चिठी हेर्न पाऊन्। नेपालको अभिलेखालयमा रहेका लडाइँका चिठीका चाङमा रहेको, बेलायती प्रेयसीले आफ्ना बेलायती प्रेमीलाई लेखेको पत्र तिनका सन्तान वा बेलायती नागरिकका लागि पक्कै पनि अमूल्य हुन जाला।
आफ्नो अभिलेखालयमा रहेका नेपाल सम्बन्धी ऐतिहासिक कागजात ५० वर्ष पहिल्यै नेपाललाई दिएर पाकिस्तानले यो कामको शुरूआत गरिसकेको थियो। यो राम्रो कामको नक्कल नेपाल, भारत र बेलायतले किन नगर्ने?
अन्त्यमा, अलिकति आफ्नो कुरा पनि गरौं। यी कागजपत्र बाहेक नेपाल-अंग्रेज लडाइँबारे विदेशी र नेपालीले लेखेका/तयार गरेका पाएसम्मका सबै कागजपत्र पढेर एउटा किताब लेखेको छुः मुकाम रराामैदानः नेपाल-अंग्रेज युद्धको बखान नामको। यस किताबमा मूल पाठमा ७५ हजार र फूटनोटमा झन्डै तेह्र हजार शब्द छन्। यो किताब छिटै सार्वजनिक हुँदै छ।
बुकहिलले प्रकाशन गरेको यो किताबका मुद्रित संस्करण वा इलेक्ट्रोनिक संस्करण वा सुन्ने संस्करण तपाईंलाई जे सजिलो लाग्छ त्यही उपलब्ध छ।
अब हाम्रो अर्को भेट त्यही किताबमा हुनेछ।