पत्रकार सम्मेलनमै बेहोश भइन् भारती
दशैंपछि फेरि अनशन थालेकी भारती शेर्पा पत्रकार सम्मेलनमै बेहोश भएपछि काठमाडौंस्थित वीर अस्पताल भर्ना गरिएको छ।
उनले दशैंको वेला अनशन स्थगन गरेकी थिइन्। कात्तिक १० बाट फेरि अनशन शुरू गरेकी हुन्। उनी असोज १७ गतेदेखि अनशन बस्दै आएकी छन्।
क्रूर, जघन्य तथा पाशविक हत्या जस्ता अपराधमा आममाफी विरुद्धको अभियानले सोमबार पत्रकार सम्मेलनका लागि उनलाई रिपोर्टर्स क्लबमा लगेको थियो। त्यहाँ नागरिक अभियन्ता र समाजसेवीले उनको मागमा ऐक्यबद्धता जनाउन पत्रकारसामु आफ्नो भनाइ राख्दै थिए। त्यही क्रममा मञ्चमा रहेकी भारती बेहोश भएकी हुन्। त्यसपछि उनलाई वीर अस्पताल लगिएको हो।
पूर्व पति चेतन मानन्धरको हत्यारा बाँकेका योगराज ढकाल (रिगल)लाई सरकारले आममाफी दिएपछि उनी विरोधमा उत्रिएकी हुन्। त्यस विरुद्ध माइतीघर मण्डलमा अनशन बस्दै आएकी छन्।
नेपालगन्ज उपमहानगरपालिका-८ का २९ वर्षीय मानन्धरमाथि २०७२ असार २८ मा धम्बोजी चोकमा रिगलको निर्देशनमा दिनदहाडै खुँडा प्रहार गरिएको थियो। त्यसपछि रिगल एकाएक फरार भएका थिए। घटनाको दुई महीनापछि भदौमा रिगलले अदालतमा आत्मसमर्पण गरेका थिए।
पुर्पक्षका लागि जेल पुगेका रिगललाई जिल्ला अदालत बाँकेले २०७६ वैशाखमा मानन्धरको हत्यामा दोषी ठहर गर्दै सर्वस्व सहित जन्मकैदको सजाय सुनाएको थियो। रिगल सहित हत्यामा संलग्न अन्य १२ जनालाई समेत अदालतले दोषी ठहर गरेको थियो। झन्डै ५० प्रतिशत सजाय भुक्तानी गरेका रिगलले संविधान दिवसका अवसरमा आममाफी पाएका थिए।
यस विरुद्ध भारतीले सर्वोच्च अदालतमा पनि रिट दायर गरेकी छन्। सर्वोच्चले उक्त रिटलाई प्राथमिकतामा राखेको छ। उनको रिटमाथि मंगलबारबाट निरन्तर सुनुवाइ तोकिएको छ।