उदाहरणीय स्थानीय सरकार, घर घरमै पुगेर उपचार
‘हेलो डाक्टर’ कार्यक्रम सञ्चालन गरेर खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाले स्थानीय बासिन्दालाई घरमै पुगेर उपचार गर्न थालेको छ।
ज्वरोले थलिएकी खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका-३ छोरम्बु (बुईखा)की २६ वर्षीया जेसुका राईको उपचारका लागि स्वास्थ्यकर्मी घरमै पुगे। जेसुका बिरामी परेको खबर पाएपछि गाउँपालिकाबाट औषधि सहितको स्वास्थ्यकर्मीको टोली छोरम्बु पुगेको थियो।
स्थानीय सरकारको ‘हेलो डाक्टर’ कार्यक्रम अन्तर्गत खटिएको टोलीले स्वास्थ्य जाँच गरेपछि जेसुकालाई सुई लगाइदियो। उनै स्वास्थ्यकर्मी बेलुका ‘फलोअप’ मा पनि घरमै पुगे। उपचारपछि जेसुकाले स्वास्थ्यलाभ गरिरहेको हेलो डाक्टर कार्यक्रमका संयोजक अहेव सुरेश प्रधान बताउँछन्।
त्यस्तै, कात्तिक ११ मा स्वास्थ्यकर्मीको टोलीले छोरम्बु पिप्लेका नौ महीनाका जुजुहाङ राई र तीन वर्षकी सोनिया राईको प्राथमिक उपचार गरिदियो। ज्वरोले थला परेको वेला कात्तिक १० मा स्वास्थ्यकर्मीले घरमै स्लाइन चढाएर सुई लगाइदिएपछि दिप्रुङ चुइचुम्मा गाउँपालिका-४ बतासे राटमाटाकी देविका श्रेष्ठ निको भइन्।
त्यसअघि कात्तिक ९ गते स्वास्थ्यकर्मीको टोली बतासे मूलाबारी पुगेको थियो। बिरामी परेका इन्ट्रेस्ट राईलाई घरमै प्राथमिक उपचार गरिएको थियो। गाउँमा उपचार हुन नसक्ने भएपछि उदयपुरको गाईघाट रेफर गरिएको स्वास्थ्यकर्मी प्रधानले बताए।
सामान्य स्वास्थ्य समस्या भएका सर्वसाधारणलाई घरैमा प्राथमिक उपचार सेवाको व्यवस्थाका लागि दिप्रुङ चुइचुम्माले शुरू गरेको ‘हेलो डाक्टर’ कार्यक्रम अन्तर्गत उनीहरूको उपचार गरिएको हो। गत भदौ १ गतेदेखि शुरू भएको यो कार्यक्रम मार्फत अहिलेसम्म ६१३ स्थानीय बासिन्दाले स्वास्थ्य सेवा पाइसकेका छन्।
यसका लागि गाउँपालिकाले ६ जना स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा तयारी अवस्थामा राखेको छ। उनीहरू औषधि बोकेर बिरामीको घर घरमा पुग्छन्, स्वास्थ्य जाँच गर्छन्, आवश्यक औषधि दिन्छन्। जटिल किसिमको स्वास्थ्य समस्या भएमा अन्यत्र लग्न सुझाउँछन्।
बिरामीका आफन्तले खबर गरेपछि स्वास्थ्यकर्मी उपचारका लागि तत्काल औषधि बोकेर दौडिने गरेका छन्। दीर्घरोगीको स्वास्थ्य परीक्षण, रक्तचाप र सुगर जाँच, बाफ दिने, ज्वरो नाप्ने, सुई लगाउने, चोटपटक लागेको ठाउँमा सिलाउने, स्लाइन दिने, आवश्यक स्वास्थ्य परामर्श दिने व्यवस्था मिलाइएको छ। सामान्य प्रकृतिका स्वास्थ्य समस्याका लागि स्थानीय बासिन्दाले फोनबाटै पनि परामर्श लिन सक्ने व्यवस्था गरिएको छ।
नागरिकको स्वास्थ्य संवेदनशीलतालाई ध्यानमा राखेर ‘हेलो डाक्टर’ कार्यक्रम शुरू गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राई बताउँछन्। तत्काल स्वास्थ्य संस्थाको पहुँचमा पुग्न नसक्ने अवस्थाका गम्भीर तथा आकस्मिक स्वास्थ्य समस्या भएमा नागरिकलाई घरैमा प्राथमिक स्वास्थ्य सेवा तथा परामर्श सेवा प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गरिएको अध्यक्ष राईको भनाइ छ।
“घर घरमै पुगेर प्राथमिक उपचार सेवा दिने लक्ष्यका साथ हेलो डाक्टर कार्यक्रम ल्याइएको हो। सकेसम्म आफैंले उपचार गरिदिने नसकिने अवस्थामा रेफर गर्ने गरिएको छ,” अध्यक्ष राई भन्छन्, “नागरिकले घरैमा छिटो, छरितो र सहज ढंगले स्वास्थ्य सेवा पाइरहेका छन्। स्वास्थ्य संस्थासम्म जान नसक्ने अशक्त अझै बढी लाभान्वित भइरहेका छन्।”
गाउँपालिकाका सात वडामध्ये स्वास्थ्य सहायक रमेशकुमार यादवलाई बतासे र छोरम्बु, अहेव गोबिन कटुवाललाई छितापोखरी र सछितापोखरीको माथिल्लो भाग तथा कैलाश खत्रीलाई याम्खा र टेम्मा गाउँको जिम्मेवारी दिइएको छ। अहेव प्रधान, सुशीला राई र बलराम मगरलाई गाउँपालिकाबाट समन्वय गर्ने तथा आवश्यकता अनुसार चौबीसै घण्टा सेवामा खटिने गरी राखिएको छ।
अहिलेसम्म ५८४ जना बिरामीको उपचार गर्दा ५३३ जना निको भएको, ५१ जनालाई रेफर गरिएको र २९ जनालाई परामर्श प्रदान गरिएको संयोजक प्रधान बताउँछन्। “चौबीसै घण्टा सेवामा खटिएका छौं। कसैलाई आकस्मिक स्वास्थ्य समस्या भएको खबर पाए लगत्तै घरैमा पुग्छौं,” प्रधान भन्छन्, “दूरदराजमा बस्ने गरीब जनता सबैभन्दा बढी लाभान्वित छन्। उनीहरूको समय र खर्चको बचत भएको छ।”
यो कार्यक्रमलाई थप प्रभावकारी बनाउन एक जना चिकित्सक नियुक्त गर्ने तयारी रहेको अध्यक्ष राई बताउँछन्। यससँगै गाउँपालिकाको केन्द्रमा अस्पताल स्थापना गर्ने पनि योजना रहेको उनको भनाइ छ।