विश्वकप छनोटमा नेपालको विजयी शुरूआत
आईसीसी टी-२० विश्वकप छनोटमा नेपालले विजयी शुरूआत गरेको छ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले दुई विकेटको क्षतिमा १६.३ ओभरमा पूरा गरेको हो।
नेपालका लागि कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले ४८ बलमा आठ चौका र दुई छक्काको मद्दतले ७४ रन बनाए। त्यस्तै, रोहित पौडेलले ३५, आशिफ शेखले २७ र कुशल मल्लले ६ रन बनाए।
सिंगापुरका लागि अक्षय पुरी र अनन्थ कृष्णाले एक-एक विकेट लिए। अन्य बलर भने महँगा सावित भए।
यसअघि ब्याटिङ गरेको सिंगापुरले नौ विकेटको क्षतिमा १४५ रन बनाएको थियो। सिंगापुरका लागि रोहन रंगरजनले ४६, आर्यवीर चौधरीले ३७, मनप्रित सिंहले २४ र अक्षय पुरीले १३ रन बनाए। अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन्।
नेपालका लागि अविनाश बोहराले तीन, करण केसी, सन्दीप लामिछाने र गुल्सन झाले दुई-दुई विकेट लिए।
यो जितसँगै नेपालले दुई अंक जोडेको छ। अब मलेशियासँग नेपालको अर्को खेल मंगलबार दिउँसो १ः३० बजे हुनेछ।