आर्थिक संकटका कारण कोइला किन्न नसकेपछि हेटौंडा सिमेन्ट उद्योगको उत्पादन बन्द
आर्थिक संकटका कारण समयमै कोइला खरीद गर्न नसक्दा हेटौंडा सिमेन्ट उद्योगले आजदेखि आफ्नो उत्पादन बन्द गरेको छ।
उद्योगका महाप्रबन्धक वसन्तराज पाण्डेले आर्थिक संकटका कारण बाह्य मुलुकबाट कोइला खरीद गर्न नसकिएको हुँदा सिमेन्ट उत्पादन बन्द गरिएको बताए। आर्थिक संकटबारे संघीय सरकारका उद्योग तथा आपूर्तिमन्त्री र सचिवलाई जानकारी गराइएको र केही आर्थिक अनुदान उपलब्ध भएमा उद्योगलाई पुनः सञ्चालनमा ल्याइने उनले बताए।
सो उद्योगमा मासिक तीन हजार ६०० मेट्रिक टन कोइला खपत हुने गर्छ। कोइला खरीद गरेपछि मात्रै उद्योग पुनः सञ्चालनमा ल्याउन सकिने उनले बताए।
दशैं बिदा हुनुअघिसम्म उद्योग सञ्चालनमै रहेको र त्यस अवधिमा तीन लाख बोरा सिमेन्ट उत्पादन भएको पनि महाप्रबन्धक पाण्डेले जानकारी दिए। कुल तीन लाख बोरा सिमेन्ट काठमाडौं लगायत विभिन्न शहरमा बिक्रीको तयारी गरिएको र यसको आम्दानी कोइला खरीदमा लगाइने उद्योगले जनाएको छ।
चार दशक पुरानो उद्योगका मशिन जीर्ण हुँदै गएकाले उत्पादन गर्न कठिन भएको र उत्पादित सिमेन्ट सबै शहरमा बिक्री गर्न समस्या भएको जनाइएको छ। २०३३ सालमा लामसुरेमा स्थापित उद्योगले २०४३ मंसीर २६ गतेबाट व्यावसायिक रूपमा उत्पादन शुरू गरेको थियो।
उद्योगमा करीब ३९० कर्मचारी कार्यरत छन्। -रासस