टी२० विश्वकप एशिया क्वालिफायर आजबाट, नेपालले सिंगापुरको सामना गर्दै
आईसीसी पुरुष टी२० विश्वकप एशिया क्वालिफायर आजबाट शुरू हुँदै छ।
यो प्रतियोगितामा नेपाल सहित बहराइन, कुवेत, हङकङ, यूएई, ओमान, मलेशिया र सिंगापुर गरी आठ टोली सम्मिलित छन्। यी आठमध्ये चार टोली सेमिफाइनलमा पुग्नेछन्। सेमिफाइनल खेल कात्तिक १७ गते हुनेछ। कात्तिक १९ गते फाइनल खेल हुनेछ। फाइनलमा पुग्ने दुई टोली स्वतः अमेरिका र वेस्ट इन्डिजमा हुने २०२४ को टी२० विश्वकपमा छनोट हुनेछन्।
प्रतियोगिता अन्तर्गत आज नेपालले पहिलो खेल सिंगापुर विरुद्ध खेल्नेछ। यस्तै, आजै यूएईले बहराइन, ओमानले मलेशिया र हङकङले कुवेत विरुद्ध खेल्नेछ।
नेपाल र सिंगापुरबीचको खेल बिहान ९ बजेबाट कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ। खेलको लागि भएको टस सिंगापुरले जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ।
यही मैदानमा दिउँसो १:१५ बाट ओमान र मलेशिया भिड्नेछन्। यूएई र बहराइनबीचको खेल बिहान ९ बजे मुलपानी मैदानमा हुनेछ भने सोही मैदानमा दिउँसो १:१५ बाट हङकङ र कुवेत भिड्नेछन्।