सुविसुले केही दिनमै पूर्ण सेवा दिने
इन्टरनेट, नेटवर्क तथा केबल टेलिभिजन सेवा प्रदायक कम्पनी, सुविसु केबल नेट प्रालिले एक, दुई दिनभित्रैमा सम्पूर्ण सेवा सञ्चालन हुनेगरी काम भइरहेको जनाएको छ ।
काठमाडौँस्थित बालुवाटारमा रहेको डाटा सेन्टरमा बुधबार भीषण आगलागी भएर अवरुद्ध भएको सेवा सञ्चालन गर्न प्राविधिक खटिएको सुविसु कार्यालयले बिहीबार विज्ञप्तिमार्फत जनाएको छ ।
बुधबार आगलागी भएको केही घन्टाभित्रै थापाथलीस्थित वैकल्पिक डाटा सेन्टरबाट ९० प्रतिशत सेवाग्राहीको सेवा सुचारु गराएको उक्त विज्ञप्तिमा उल्लेख छ ।
२०७२ को भूकम्प पश्चात थापाथलीमा वैकल्पिक डाटा सेन्टरको स्थापना गरिएको थियो ।
क्षतिग्रस्त बालुवाटारको डाटा सेन्टरमा आबद्ध भएका सेवाग्राहीको सेवा सञ्चालन गर्न प्रयासरत रहेको र केही दिनमा नै सेवा सुचारु गर्ने सुविसुले जनाएको छ ।
काठमाडौँ महानगरपालिका–४ स्थित बालुवाटारमा बुधबार विद्युत् चुहिएर आगलागी भई कार्यालय प्रयोजनका लागि सञ्चय गरेर राखिएको डिजलमा आगो सल्किँदा उक्त कम्पनीमा ठूलो क्षति भएको छ । क्षतिको विवरण सकलन भइरहेको जनाइएको छ ।