तिहारका लागि सयपत्री उमार्दै उदयपुरका विद्यार्थी
उदयपुरको कटारी नगरपालिकामा रहेको त्रिवेणी माध्यमिक विद्यालयका कक्षा १२ मा पढ्ने विद्यार्थीले जिल्लाकै त्रियुगा नगरपालिका-१०, बोक्सेमा तिहारको समयमा अत्यधिक खपत हुने सयपत्री फूलको खेती गरिरहेका छन्।
उनीहरूले आफ्नो परीक्षापछिको ६ महीने ओजेटी (अन द जब ट्रेनिङ) अन्तर्गत खेती गरेका हुन्। विद्यालयमा २०७० सालदेखि नै कक्षा ९ मा बाली विज्ञान पढाइ हुँदै आएको थियो। पछिल्ला वर्षमा विद्यार्थीले ओजेटी अन्तर्गत च्याउखेती गरेका थिए। यस वर्ष उनीहरूले फूलखेती गरेका हुन्।
गाईघाटमा अमृत कृषि फार्म सञ्चालन गरेर विद्यार्थीहरूले फूलखेती गरेका हुन्। विद्यालयका शिक्षक तथा बाली विज्ञान संयोजक कैलाश रायमाझी भन्छन्, “हामीले गएको वर्ष थोरै जग्गामा सयपत्री फूलको खेती गरेका थियौं, त्यसबाट हाम्रा विद्यार्थीले राम्रो फाइदा लिए। त्यही भएर यो साल विद्यार्थीहरूकै अगुवाइमा सयपत्री फूलको खेती गरिएको हो।”
चौतर्फी प्रशंसा
कक्षा १२ को परीक्षा सकिएपछि कृषितर्फका विद्यार्थीले ६ महीना ओजेटी गर्नैपर्ने हुन्छ। ओजेटी अन्तर्गत विद्यार्थीले कमाइ पनि गरून् भनेर त्रिवेणी माध्यमिक विद्यालयले गाईघाट बजार नजिकै १५ कट्ठा जग्गा पनि खोजिदियो। त्यही जग्गामा १० जना विद्यार्थीको संयुक्त लगानीमा फूलखेती भइरहेको छ।
फूलखेतीमा संलग्नमध्येका एक विद्यार्थी विवश लामिछानेका अनुसार उनीहरूले तिहारलाई लक्षित गर्दै फूलखेती गरेका हुन्। “तिहारमा जहिल्यै फूल नभएको दिदीहरूबाट सुनेको थिएँ, गाउँमा पनि फूल भएन भन्ने मात्रै हुन्थ्यो। जहिल्यै तिहारमा कि महँगोमा फूलको माला नभए प्लास्टिकको माला लगाउनुपर्थ्यो,” लामिछाने भन्छन्, “आफैंले कृषि पढेपछि पनि तिहारमा लगाउने फूल पनि किनेको लगाउनुपर्ने भन्ने लाग्थ्यो। त्यही भएर हामीले यो साल तिहारलाई लक्षित गर्दै फूलखेती गर्यौं।”
अहिले विद्यार्थीले गरेको सयपत्री खेतीमा मनग्य कोपिला लागेका छन् भने फूल फक्रने क्रम पनि उस्तै छ।
कृषि विज्ञान पढेका विद्यार्थीहरूले कृषिको सैद्धान्तिक ज्ञान राम्रोसँग सिकेका थिए। त्यसलाई व्यावहारिक बनाउनेबारे भने उनीहरूलाई सधैं द्विविधा भइरहन्थ्यो। लामिछानेका अनुसार अहिले उनीहरूले सिक्दै काम गर्ने अवसर पाएकाले आफ्नै बलबुतामा केही गर्न सकिन्छ भन्ने आँट पलाएको छ। “यो फूल जसरी फक्रिंदै छ, त्यसरी नै हाम्रो काम निखारिंदै गएको छ,” उनी भन्छन्।
अर्की विद्यार्थी उर्मिला मगर विगतका वर्षमा छिमेकीकहाँ फूल माग्न जानुपर्ने भए पनि यस पटक सिंगो जिल्लालाई पुग्ने फूल आफूहरूले उत्पादन गरिरहेको बताउँछिन्। “यो साल हामीले आफूलाई पुग्ने मात्रै हैन, सिंगो जिल्लालाई नै पुग्ने फूल उत्पादन गरेका छौं,” उनी भन्छिन्।
गत वर्ष विद्यालयले कटारीमै पाँच कट्ठा जग्गामा फूलखेती गरेको थियो। यस वर्ष भने उक्त खेतीलाई गाईघाटमा पनि विस्तार गरिएको छ। यस वर्ष कम्तीमा पाँच हजार केजीभन्दा बढी सयपत्री बिक्री गर्ने विद्यार्थीले लक्ष्य लिएका छन्। प्रतिकेजी ३०० रुपैयाँमा सयपत्री बेच्ने उनीहरूको योजना छ।
विद्यार्थीहरूले गरेको सयपत्री खेतीको अहिले चौतर्फी प्रशंसा भइरहेको छ। विद्यार्थी दुर्गा घतानी भन्छिन्, “अहिले हाम्रो फूल खेती हेर्न जनप्रतिनिधि, कर्मचारीहरू आउने गर्नुभएको छ। उहाँहरूले हाम्रो कामको प्रशंसा गरिदिंदा साँच्चै खुशी मिलेको छ।”
फूलबारीमा टिकटक बनाउन आउनेका लागि पनि व्यवस्था छ। टिकटक बनाउन चाहनेलाई प्रतिव्यक्ति ५० रुपैयाँ तोकिएको छ।
तर उनीहरूलाई डर पनि छ- यसरी उत्पादन गरिएका फूल तिहारको मुखमा चोरी हुने हो कि भनेर। हुन त फूलबारीको वरिपरि लगाइएको घेराबेराले केही हदसम्म सुरक्षा त दिने नै छ। तिहार शुरू हुने वेला चाहिं फूलबारीको बीचमा भएको ‘टावर’ मै सुत्ने उनीहरूले योजना बनाएका छन्।