इजरायलमा मारिएका थप तीन नेपाली विद्यार्थीको शव पहिचान
प्यालेस्टिनी समूह हमासको आक्रमणमा परेर दक्षिणी इजरायलमा मारिएका १० नेपाली विद्यार्थीमध्ये थप तीन शवको पहिचान भएको छ।
ज्यान गुमाएका विद्यार्थीमध्ये पदम थापा, प्रवेश भण्डारी र राजन फुलाराको शव प्राप्त भएको तेल अभिभस्थित नेपाली दूतावासले जनाएको छ। नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र आशिष चौधरीको शव यसअघि नेपाल ल्याइसकिएको छ।
अझै दुई जनाको शव पहिचान हुन बाँकी छ। त्यस्तै, आक्रमणमा परेर बेपत्ता भएका विद्यार्थी विपिन जोशीको खोजी जारी रहेको दूतावासले जनाएको छ।
हमासको आक्रमणमा परी घाइते भएका चार जना विद्यार्थीमध्ये दुई जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। घाइते दुई जना अस्पतालमै उपचाररत रहेको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।