ओलीले गुटेरेसलाई भने- प्रधानमन्त्रीको हिंसालाई बढावा दिने क्रियाकलापले असहज भएको छ
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले शान्ति प्रक्रिया टुंग्याउन महत्त्वपूर्ण भूमिका खेल्नुपर्नेमा हिंसालाई बढावा दिने प्रधानमन्त्री पुष्पकमल दाहालका क्रियाकलापले असहज भएको बताएका छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा भएको भेटमा ओलीले माओवादीले सशस्त्र द्वन्द्व शुरू गरेको फागुन १ लाई ‘जनयुद्ध दिवस’ घोषणा गरेको विषयमा समेत विरोध जनाएका हुन्।
“हामी शान्ति प्रक्रिया छिटोभन्दा छिटो टुंग्याउन चाहन्छौं तर प्रधानमन्त्रीज्यू जो हिजोका विद्रोही नेता समेत हुनुहुन्छ। उहाँले नै शान्ति प्रक्रिया टुंग्याउन भूमिका खेल्नुपर्नेमा हिंसालाई बढावा दिने र महिमा मण्डन गर्ने क्रियाकलापले गरिरहनुभएकाले असहज भएको छ,” ओलीको भनाई उद्धृत गर्दै एमाले उपमहासचिव प्रदीप ज्ञवालीले भने, “खास गरेर युद्ध शुरू भएको दिनलाई दिवसका रूपमा मनाउने जुन कुरा भयो, त्यसबाट पीडितहरू चिन्तामा छन्।”
ओलीले शान्ति प्रक्रिया टुंग्याउँदा गम्भीर अपराधमा आममाफी दिन नहुने, अन्तर्राष्ट्रिय प्रतिबद्धतालाई पनि ध्यान दिनुपर्ने र सर्वोच्च अदालतको आदेशलाई समेत ध्यानमा राखेर छिटो छिटो टुंग्याउनुपर्ने धारणा राखेको पनि ज्ञवालीले बताए। ज्ञवालीले भने, “अध्यक्षज्यूले संक्रमणकालीन न्याय संक्रमणकालीन अन्याय हुनु हुँदैन र यो समस्या पीडितहरूलाई ध्यानमा राखेर समाधान गरिनुपर्छ भन्नुभयो।”
चारदिने नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले प्रधानमन्त्री दाहालसँगको भेटपछि आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगो लगाउनुपर्नेमा जोड दिएका थिए।