संक्रमणकालीन न्यायले शान्ति ल्याउन मद्दत गर्नुपर्छ: महासचिव गुटेरेस
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले संक्रमणकालीन न्यायले पीडित, तिनका परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्ने बताएका छन्।
नेपाल भ्रमणमा रहेका महासचिव गुटेरेसले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहालसँगको शिष्टाचार भेटपछि आयोजित पत्रकार सम्मेलनमा भने, “संक्रमणकालीन न्यायले पीडित, परिवार र समुदायमा शान्ति ल्याउन मद्दत गर्नुपर्छ।”
चारदिने भ्रमणमा रहेका उनले राष्ट्रसंघ नेपालको शान्ति प्रक्रिया र संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन सहयोग गर्न तयार रहेको बताए। अन्तर्राष्ट्रिय मापदण्ड, सर्वोच्च अदालतको आदेश र पीडितका आवश्यकताहरू पूरा गरी शान्ति प्रक्रिया र संक्रमणकालीन न्यायको टुंगो लगाउनुपर्नेमा गुटेरेसको जोड छ।