असोजमा आयात बढ्यो, आर्थिक मन्दीको भाष्यमा प्रश्न
अर्थतन्त्रमा चरम मन्दी रहेको व्यवसायीको धारणासँग बाझिने गरी विदेशबाट वस्तु आयात बढेको देखिएको छ।
भन्सार विभागले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पहिलो त्रैमासिकको व्यापार तथ्याङ्क अनुसार असोजसम्म नेपालले चार खर्ब सात अर्ब ७६ करोड रुपैयाँको वस्तु आयात गरेको छ। यो गत आर्थिक वर्षको यही अवधिका तुलनामा १.६९ प्रतिशत धेरै हो।
अर्थतन्त्र गहिरो मन्दीमा गएका कारण बजारमा वस्तु र सेवाको माग खस्किएको र आयात घटेको व्यवसायीले बताउँदै आएका थिए। उनीहरूले नेपाल राष्ट्र ब्यांकको नीतिका कारण अर्थतन्त्रमा मन्दी छाएको टिप्पणी गर्ने गरेका छन्।
तर असोजमा भने आयात उल्लेख्य रूपमा बढेको देखिएको छ। गत एक महीनामा मात्रै नेपालले एक खर्ब ४८ अर्ब रुपैयाँको आयात गरेको छ। साउन र भदौको सरदर आयातका तुलनामा यो झन्डै १८ अर्ब रुपैयाँ बढीको आयात हो। भदौसम्म नेपालले दुई खर्ब ५९ अर्ब ७५ करोड रुपैयाँको आयात गरेको थियो।
आयात बढेपछि सरकारले उठाउने राजस्व पनि बढ्छ। देशको राजस्वको अधिकांश हिस्सा वस्तु आयातमा आधारित छ। यसले सार्वजनिक वित्तलाई सन्तुलित बनाउन सहयोग गर्छ। बजारमा किनबेच बढ्ने कारण व्यवसायी पनि आयात बढ्दा खुशी हुन्छन्।
तर आयात उच्च गतिमा बढ्दा देशको विदेशी मुद्रा सञ्चिति क्षयीकरण भएर भुक्तानी सन्तुलनमा खाडल उत्पन्न हुन पुग्छ। यसै पनि नेपालले आयात गर्ने अधिकांश वस्तु पूँजी निर्माण गर्ने अर्थात् अर्थतन्त्रमा रोजगारी सिर्जना गर्ने, उत्पादन बढाउने खालका छैनन्। उपभोग्य वस्तु धेरै छन्।
नेपाल राष्ट्र ब्यांकका अनुसार नेपालले आयात गर्ने वस्तुमध्ये मध्यवर्ती वस्तुको अनुपात ५२.८ प्रतिशत तथा अन्तिम उपभोग्य वस्तुको अनुपात ३८.१ प्रतिशत छ। पूँजीगत वस्तुको अंश ९.१ प्रतिशत मात्रै छ।
भन्सार विभागको तथ्याङ्क अनुसार आयात बढे पनि असोजसम्म निर्यात भने २.२६ प्रतिशतले घटेको छ। यो अवधिमा नेपालले ४० अर्ब ८७ करोड रुपैयाँको मात्रै निर्यात गरेको छ।
असोजसम्म नेपालले ६६ अर्ब ३६ करोड रुपैयाँको कृषिजन्य वस्तु आयात गरेको छ। गत वर्षको यही अवधिमा नेपालले करीब ७४ अर्ब रुपैयाँको कृषिजन्य वस्तु आयात गरेको थियो। यसले झन्डै आठ अर्ब रुपैयाँको कृषिजन्य वस्तुको आयात घटेको देखाउँछ।
कृषिप्रधान मुलुकका लागि यो नराम्रो तथ्याङ्क होइन। खासगरी विदेशबाट नेपाल आएर सामान्य प्याकेजिङ मार्फत भारत जाने पाम र भटमास तेलको धन्दा कमजोर भएका कारण कृषि वस्तुको आयात कम भएको हो।