प्यालेस्टाइनमा इजरायली सैन्य हमला बढ्ने सङ्केत
दुई दिनअघि संयुक्त राष्ट्रसंघको महासभाको आपत्कालीन सत्रले ‘मानवीय सहायताका लागि गाजामा युद्धविराम’ को प्रस्ताव पारित गरे पनि प्यालेस्टाइन विरुद्ध इजरायली सैन्य हमला बढ्ने सङ्केत देखिएको छ।
राष्ट्रसंघको महासभाले युद्धविरामको प्रस्ताव पारित गर्दा नेपाल लगायत १२० देशले समर्थन जनाएका थिए। त्यसको विरुद्धमा १४ देशले मत दिएका थिए। भारत लगायत ४५ देश अनुपस्थित थिए।
राष्ट्रसंघले युद्धविरामको प्रस्ताव पारित गरेको दुई दिन नबित्दै इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले गाजामा आफ्नो देशले गरेको स्थल कारबाही आफूले भन्ने गरेको हमाससँगको ‘लामो र जटिल’ युद्धको ‘दोस्रो चरण’ हुने बताएका छन्। अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बीबीसीका अनुसार टेलिभिजनबाट सम्बोधन गर्दै नेतन्याहुले ‘गाजापट्टीभरि’ सेना परिचालन गरिएको बताएका छन्।
सो क्षेत्र युद्धभूमि भएकाले त्यहाँका बासिन्दालाई दक्षिणतर्फ जान उर्दी जारी गर्दै गाजा शहरभरि पर्चा छरिएको छ भने फोनको तार काटिएकाले र इन्टरनेट उपलब्ध नभएकाले गाजाका सर्वसाधारण अहिले विश्व जगत्को सम्पर्कमा छैनन्।
यसैबीच टर्कीका राष्ट्रपति रेसेप ताय्यिप इर्दोगानले इजरायललाई युद्ध अपराध गरेको आरोप लगाएका छन्। इजरायली प्रधानमन्त्री नेतन्याहुले उक्त आरोपको आक्रोशपूर्ण प्रतिवाद गर्दै टर्कीका कूटनीतिज्ञहरूलाई इजरायल छोड्न लगाएका छन्। साथै, उनले इजरायली सैन्य शक्ति ‘नैतिक सेना’ भएको दाबी पनि गरेका छन्।
यसैबीच साउदी अरबले पनि इजरायलले गर्ने कुनै पनि स्थल कारबाहीको निन्दा गरेको छ।
कात्तिक ११ गते साउदी अरबको परराष्ट्र मन्त्रालयले एक वक्तव्य जारी गर्दै इजरायलको स्थल कारबाहीको विरोध गरेको हो। त्यस्तो कारबाहीले प्यालेस्टिनी सर्वसाधारणको जोखिम बढाउने र उनीहरूलाई थप खतरा र अमानवीय अवस्थातर्फ डोर्याउने जिकिर गरिएको छ।
उक्त वक्तव्यमा ‘प्यालेस्टिनी जनता विरुद्ध अन्तर्राष्ट्रिय कानूनहरू उल्लंघन गर्दै भइरहेको इजरायली सैन्य हमलाले त्यस क्षेत्रकै स्थिरता र क्षेत्रीय एवं अन्तर्राष्ट्रिय शान्ति र सुरक्षामा गम्भीर क्षति पुर्याउने’ चेतावनी पनि दिइएको छ।
साउदीले कात्तिक १० गते संयुक्त राष्ट्रसंघको महासभाले पारित गरेको प्रस्ताव अन्तर्गत रहेर यो सैन्य कारबाही तत्काल रोक्न अन्तर्राष्ट्रिय समुदाय समक्ष आह्वान गरेको थियो।
आठ हजार बढीको मृत्यु
गत असोज २० (७ अक्टोबर)मा प्यालेस्टाइनी सैन्य जत्था हमासको अप्रत्याशित आक्रमणबाट एक हजार ४०० जनाको मृत्यु र २२९ जना अपहृत भएपछि इजरायलले गरेको हमलामा परी आठ हजारभन्दा बढीको ज्यान गएको गाजास्थित हमास सञ्चालित स्वास्थ्य मन्त्रालयले जनाएको बीबीसीले उल्लेख गरेको छ।
अरब न्यूजका अनुसार उक्त मन्त्रालयले तीन हजार ५०० बालबालिका मारिएको जनाएको छ।
-बीबीसी र अरब न्यूजको सहयोगमा तयार पारिएको