संयुक्त राष्ट्रसंघका महासचिव गुटेरेस काठमाडौंमा
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस नेपालको चारदिने औपचारिक भ्रमणका क्रममा आज काठमाडौं आइपुगेका छन्।
महासचिव गुटेरेसलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा स्वागत गरेका छन्। उनलाई स्वागत गर्न नेपाल सरकारका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयका प्रतिनिधि लगायत विमानस्थल पुगेका थिए।
महासचिव गुटेरेसले भ्रमणको पहिलो दिन आइतबार राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रपति कार्यालय र प्रधानमन्त्री पुष्पकमल दाहालसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
महासचिव गुटेरेसले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग संघीय संसद् भवन नयाँ बानेश्वरमा बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने भएका छन्।
उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री साउदसँग समेत महासचिव गुटेरेसको छुट्टाछुट्टै भेटवार्ता हुनेछ। भेटवार्तापछि उनले ऐतिहासिक एवं पुरातात्त्विक महत्त्वको सम्पदास्थल पाटन दरबार क्षेत्रको पनि अवलोकन गर्नेछन्।
प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा आइतबार साँझ सांस्कृतिक कार्यक्रम सहितको रात्रिभोजको आयोजना गर्ने तय भएको छ। भ्रमणका क्रममा सोमबार उनी नाम्चे, पोखरा, अन्नपूर्ण आधारशिविर र लुम्बिनी भ्रमण गर्ने कार्यक्रम छ। आगामी मङ्गलबार अपराह्न ४ बजे संघीय संसद्को संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ।
सन् २०१७ मा संयुक्त राष्ट्रसंघको महासचिव भएपछि पहिलो पटक नेपाल भ्रमणमा आएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, दिगो विकास, जलवायु परिवर्तन लगायत विषयमा छलफल गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ। राष्ट्रसंघका महासचिवको करीब १५ वर्षपछि नेपालमा भएको भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्त्वका साथ हेरिएको छ।