फूटपाथमा फस्टाउँदो तरकारी व्यापार
काठमाडौं लगायत केही शहरले फूटपाथ व्यापारमा रोक लगाए पनि घोराही उपमहानगरले भने समय तोकेर सहज बनाइदिंदा उपभोक्ता र किसानलाई सजिलो भएको छ।
आजभोलि दाङको घोराही उपमहानगरपालिका-७, शुक्रबार गाउँकी खिमा चौधरीको साँझबिहान चुलोचौको र पानीपँधेरामा बित्दैन। छिट्वामा तरकारी बोकेर साँझबिहान घोराही बजार पुग्छिन्।
झिसमिसेमै घोराहीको फूटपाथमा भेटिएकी खिमा भन्छिन्, “तरकारी बेचेर दैनिक तीन-चार हजार कमाइ हुन्छ। राम्रो भएको दिन त पाँच-सात हजारै पुग्छ।”
तरकारी बेचेर दैनिक घरखर्च त चलेकै छ, छोराछोरी पढाउन पनि सहज भएको छ। उनी आफ्नासँगै देवरका छोराछोरीलाई पनि पढाइरहेकी छन्, फूटपाथमा तरकारी बेचेरै।
कुनै वेला अरूको जग्गा अधियाँ गर्थिन्। उनका श्रीमान् मजदूरी गर्थे। त्यसले घरखर्च धान्न मुश्किल भएपछि तरकारी खेतीमा लागिन्। एक कट्ठाबाट तरकारी खेती गर्न शुरू गरेकी उनले एक बिघामा फैलाएकी छन्।
“शुरू शुरूमा गाह्रो भए पनि अहिले बानी परिसक्यो,” खिमा भन्छिन्, “मेरो काम नै बाह्रै महीना तरकारी फलाउने र फूटपाथमा लिएर बेच्ने हो।”
प्रायः बेमौसमी तरकारी उत्पादन गर्छिन्। काउली, बन्दा, भिन्डी, करेला, भान्टा, लौका, टमाटर, गोलभेंडा लगायत तरकारी उनको बारीमा उब्जिन्छन्। त्यस्तै आलु, प्याज र लसुनको पनि राम्रो उत्पादन हुन्छ।
शुक्रबार गाउँकै रिता चौधरी पनि छिट्वामा तरकारी बेच्न बिहानै घोराहीका फूटपाथ पुग्छिन्। परिवारको मुख्य आम्दानीको स्रोत नै तरकारी भएको उनी सुनाउँछिन्। “दिनको दुई-तीन हजारको बिक्री हुन्छ,” रिता भन्छिन्, “घरखर्चसँगै छोराछोरीलाई पढाउन पुग्छ।”
सुवासी चौधरीले त तरकारी बेचेरै मनग्य आम्दानी गरिरहेको बताउँछिन्। उनले तरकारी खेतीबाट गाउँमा घर समेत बनाएकी छन्। “तरकारी खेतीबाट छोराछोरीलाई पढाएँ,” उनी भन्छिन्, “सानो घर पनि बनाएकी छु।”
उनीहरू जस्तै थारू समुदायका महिला घोराहीको फूटपाथमा तरकारी बिक्री गरिरहेका भेटिन्छन्। उनीहरू दिनभर खेतमा काम गर्छन्, बिहान र साँझ छिट्वामा तरकारी बोकेर शहर पस्छन्।
“आफैंले उत्पादन गरेको तरकारी आफैंले बेच्दा फाइदा हुन्छ,” तरकारी बोकेर घोराही पुगेकी शुक्रबार गाउँकी विनीता चौधरी भन्छिन्, “व्यापारीलाई दिंदा सस्तोमा दिनुपर्थ्यो, आफूले बेच्दा बजार भाउ पनि राम्रो मिल्छ।”
पहिले उनी धान, गहुँको खेती गर्थिन्। जुन आफूलाई खान मात्रै पुग्थ्यो। त्यसपछि तरकारी खेती गर्न थालिन्। तरकारी खरीद गर्न व्यापारीहरू गाउँमै पुग्थे तर उनीहरूले भनेको भाउमा बेच्नुपर्थ्यो। आफैंले बजार ल्याएर बेच्दा भने फाइदा भएको उनी सुनाउँछिन्। “अहिले त व्यापारीलाई दिंदैनौं, साँझबिहान आफैं बजार आएर बेच्छौं।”
तरकारी खेती गर्न थालेपछि उनीहरू आफैं बेच्ने उद्देश्यले बजार ल्याउन थाले। घर घर पुगेर बिक्री गर्न थाले। घोराही, तुलसीपुर, लमही लगायत बजार क्षेत्रमा यसरी घर घर पुगेर तरकारी बिक्री गर्थे।
घोराही उपमहानगरले भने उनीहरूलाई सहज बनाइदिएको छ। फूटपाथमा तरकारी बिक्री गर्न छूट दिएको छ। यसका लागि निश्चित समय पनि तोकेको छ।
“बिहान ९ बजेसम्म र साँझ ५ बजेपछि फूटपाथमा तरकारी बिक्री गर्न समय छुट्याएका छौं,” घोराही उपमहानगरको पशुपन्छी तथा कृषि विकास शाखाका प्रमुख चोपनारायण खनाल भन्छन्, “बिहानसाँझ छिट्वामा तरकारी बेच्ने किसानलाई कर छूट दिएका छौं।”
यसले किसान र उपभोक्ता दुवैलाई फाइदा पुगेको छ। व्यापारीले किसानसँग सस्तोमा किनेर उपभोक्तालाई महँगोमा बेच्ने गरेका थिए। त्यसको नाफा व्यापारीलाई हुन्थ्यो। अहिले उपभोक्ताले महँगोमा किन्नुपरेको छैन भने किसानले पनि आफ्नो लागत अनुसारको मोल पाएका छन्।
फूटपाथमा निश्चित समयमा बिक्री गर्न पाउँदा किसानलाई सास्ती पनि भएको छैन। तोकिएको समयमा उपभोक्ता खरीद गर्न पुग्छन्। जसले गर्दा समयमै आफ्नो उत्पादन बिक्री गरेर घर फर्किन पाएको किसान बताउँछन्।
कृषि उपजको बजारीकरणलाई सहयोग गर्न र किसानले उत्पादन गरेको वस्तुलाई बिक्रीवितरणका लागि सहज बनाउन फूटपाथमा निश्चित समयमा व्यापार गर्न छूट दिइएको घोराहीका मेयर नरुलाल चौधरी बताउँछन्। “किसानले उत्पादन गरेको कृषि उपजको बजारीकरणमा सहयोग पुर्याउने हाम्रो उद्देश्य हो,” मेयर चौधरी भन्छन्, “गाउँका किसानलाई स्वरोजगार बनाउने सहयोग पुगेको छ।”
घोराही उपमहानगरले पनि फूटपाथ खाली गर्ने अभियान चलाएको छ। फूटपाथ अतिक्रमण गरी बनेका संरचना हटाउने निर्णय गरेको छ। किसान र उपभोक्तालाई सहज बनाउन समय तोकेर फूटपाथमा बिक्री गर्न छूट दिइएको मेयर चौधरीको भनाइ छ।
स्थानीय सरकारले सहज बनाएपछि घोराहीमा दैनिक २०० भन्दा बढी किसानले बिहान र साँझ फूटपाथमा तरकारी बिक्री गरिरहेको उपमहानगरको उपभोक्ता हित संरक्षण शाखाका प्रमुख मोहनसिंह सुनार बताउँछन्। “छिट्वा, डोको, नाङ्लोमा तरकारी बेच्न आउने किसानलाई बिहान ९ बजेसम्म र बेलुका ५ बजेपछि बिक्री वितरणमा सहयोग गरिरहेका छौं,” उनी भन्छन्।
उपमहानगरले तोकेको मापदण्ड बाहिर गएर व्यापार गर्नेलाई कारबाही पनि गरिंदै आएको उनी बताउँछन्। बिहान ९ बजेपछि वा साँझ ५ बजेअघि फूटपाथमा छिट्वा, डोको, नाङ्लोमा व्यापार गरेको भेटिएमा पहिलो पटक १०० रुपैयाँ, दोस्रो पटक ५०० रुपैयाँ र तेस्रो पटक सामान नै नियन्त्रणमा लिने गरिएको छ।
त्यस्तै, ठेलाको हकमा पहिलो पटक ५०० रुपैयाँ, दोस्रो पटक एक हजार रुपैयाँ र तेस्रो पटक सामान जफत गर्ने गरिएको शाखा प्रमुख सुनार बताउँछन्।
अहिलेसम्म प्रायः सबै किसानले उपमहानगरले तोकेको समयमै व्यापार गर्दै आएका छन्। जसले गर्दा उपमहानगरलाई पनि सडक व्यवस्थापन गर्न अप्ठ्यारो भएको छैन भने किसानले पनि सहज रूपमा आफ्नो उत्पादन बिक्री गरिरहेका छन्।
यसले व्यापार गर्न पनि सजिलो भएको किसान बताउँछन्। समयमै कृषि उत्पादन बिक्री हुने भएकाले बाँकी समय खेतीपातीमा लगाउन पाइएको कृषक खिमा चौधरी सुनाउँछिन्। “पहिलो त गाह्रो थियो, कहिले बिक्री हुन्थ्यो, कहिले हुँदैनथ्यो,” उनी भन्छिन्, “अहिले त समयमै बिक्री हुन्छ। घरखर्च कटाएर महीनाको लाख रुपैयाँ बचत हुन्छ।”