कलाकार प्रकाश घिमिरेको स्वास्थ्यमा सुधार
घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका कलाकार प्रकाश घिमिरेको स्वास्थ्यमा सुधार आएको छ।
पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचाररत ६१ वर्षीय घिमिरे शनिबार होसमा आएका छन्। उनले कुराकानी गर्न थालेका छन्। दुर्घटनापछि उनी बेहोस थिए।
पोखरा महानगरका मेयर धनराज आचार्य कलाकार घिमिरेलाई भेट्न अस्पताल पुगेका थिए। घिमिरेलाई भेटेपछि मेयर आचार्यले सामाजिक सञ्जालमा लेखेका छन्, “उहाँको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भएको छ। आईसीयूमा उपचाररत उहाँले मलाई चिन्नुभयो।”
त्यस्तै, गायक विनोद बानियाँले पनि कलाकार घिमिरेलाई होश आएको बताए। अहिले क्रमिक सुधार हुँदै कुराकानी गर्न थालेको पनि बानियाँले बताए।
उनी कात्तिक १० गते घर नजिकै पहरामा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएका थिए। उनको टाउको र छातीमा गम्भीर चोट लागेको छ। उनलाई थप उपचारका लागि काठमाडौं लैजाने विषयमा पनि छलफल भइरहेको परिवारजनले बताएका छन्।
वरिष्ठ कलाकार घिमिरेले हालसम्म तीन दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन्। उनले दर्जनौं फिल्ममा अभिनय गरेका छन्। टलक जंग भर्सेस टुल्के, जात्रा, पशुपति प्रसाद, पानीफोटो लगायत चर्चित फिल्ममा अभिनय गरेका घिमिरेको पछिल्लो फिल्म पशुपति प्रसाद २: भष्मे डन अहिले प्रदर्शन भइरहेको छ।