विदेशमा उत्पादित जलविद्युत्बारे भारतको नीतिगत परिवर्तन, नेपालको विद्युत्ले बजार पाउनसक्ने
भारतले आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् खरीद गरी खपत गरिएमा त्यसलाई पनि नवीकरण ऊर्जा अंश गणना हुने व्यवस्था गरेको छ।
भारतको विद्युत मन्त्रालययले कात्तिक ३ मा राजपत्रमा सूचना प्रकाशित गर्दै सन् २०२४-२५ देखि २०२९-३० सम्मका लागि नविकरणीय ऊर्जाको न्यूनतम खपत अंश तोकेको छ। जसमा वायु, जलविद्युत, वितरित र अन्य नविकरणीय ऊर्जाको खपत हिस्सालाई राखिएको छ।
भारतका अनुमतिपत्र प्राप्त वितरण कम्पनी र खरीदकर्ताका लागि अनिवार्य जलविद्युत खरीद (एचपीओ) को न्यूनतम खपत अंश तोक्दै केन्द्रीय सरकारबाट भारतमा विद्युत् बिक्रीका लागि स्वीकृति प्राप्त छिमेकी देशका जलविद्युत आयोजनाबाट खरीद गरिएको विद्युत्लाई पनि नविकरणीय ऊर्जा खपत अंशमा राख्ने पाउने व्यवस्था गरेको हो। यसअघि यस्तो एचपीओको व्यवस्था भारतमा उत्पादित जलविद्युत् आयोजनाबाट खरीद गरिएको विद्युत्मा मात्र थियो।
भारतले नविकरणीय ऊर्जा खपत हिस्सा सन् २०२४-२५ मा २९.९१ प्रतिशत र २०२९-३० सम्ममा बढाएर ४३.३३ प्रतिशतको लक्ष्य भेट्नु पर्नेछ। यसमध्ये जलविद्युत् खपत हिस्सा सन् २०२४-२५ मा ०.३८ र सन् २०२९-३० सम्ममा बढाएर १.३३ प्रतिशतको लक्ष्य भेट्नु पर्नेछ। यसका लागि ३१ मार्च २०२४ पछि सञ्चालनमा आएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्लाई मात्र गणना हुने व्यवस्था गरिएको छ। तोकिएको एचपीओको हिस्सा पुर्याउनै पर्ने र नपुर्याउने वितरण कम्पनी तथा विद्युत् खरीदकर्तालाई जरिवाना हुने व्यवस्था गरिएको छ।
अन्य नविकरणीय ऊर्जाका लागि तोकिएको खपत अंश १ अप्रिल २०२४ अघि सञ्चालनमा आएका जलविद्युत आयोजनाबाट खरीद गरिएको विद्युतलाईसमेत गणना गर्न सकिने व्यवस्था छ।
नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अनिवार्य जलविद्युत खरीदको नयाँ व्यवस्था व्यावहारिक रुपमा लागू भए नेपाल, भारत र भुटानलाई फाइदा पुग्ने बताए। “आफ्नो देशभन्दा बाहिरका जलविद्युत् आयोजनाबाट खरीद गरिएको विद्युतलाई पनि एचपीओमा समावेशको व्यवस्था गर्न हामीले लामो समयदेखि भारतलाई आग्रह गर्दै आएकोमा अहिले यसलाई समेटिएको छ, यसले भारतका विद्युत् वितरण कम्पनी तथा खरीदकर्तालाई जलविद्युत आयोजनाको विद्युत् खरीद गर्न सजिलो हुनेछ,” कार्यकारी निर्देशक घिसिङले भने, “यो व्यवस्था व्यावहारिक रुपमा कार्यान्वयन भएमा नेपालको जलविद्युत्ले भारतमा राम्रो बजार पाउनेछ।”
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्रााधिकरणले आइएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करीब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि-एनभीभीएनलाई बिक्री गरिरहेको छ। एनभीभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करीब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ। नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ।