कांग्रेसको चियापानमा शीर्ष नेताको जमघट (तस्वीरहरू)
दशैं लगायत चाडपर्वको अवसरमा नेपाली कांग्रेसले आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राजनीतिक दलका शीर्षनेता सहभागी भएका छन्।
ललितपुरको सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमको शुरूआतमै नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, नेताहरू प्रदीप ज्ञवाली, रघुजी पन्त, छविलाल विश्वकर्मा लगायत सहभागी भए।
त्यसपछि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायत नेताहरू पुगेका छन्। त्यस्तै, मन्त्री, सांसद, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि लगायतको सहभागी छन्।
२०३३ पुस १६ गते राष्ट्रिय एकता र मेलमिलापको नीति लिएर स्वदेश फर्किएपछि बीपी कोइरालाले २०३४ सालमा चियापान कार्यक्रम शुरू गरेका थिए। त्यसयता कांग्रेसले हरेक वर्ष कोजाग्रत पूर्णिमाका दिन शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम आयोजना गर्दै आएको छ।