एकै परिवारका चार जनाको हत्या भएको गाउँमा प्रहरीको पहरा
मुगुको छायाँनाथ रारा नगरपालिका-६ मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या भएको गाउँलाई नै प्रहरीले पहरा दिइरहेको छ।
मुन्दुगाउँकी श्रीदेवी बोहरा र उनका तीन छोराछोरी कात्तिक १० गते बिहान मृत भेटिएका थिए। कात्तिक ८ गते राति उनीहरूको हत्या गरिएको प्रहरीको अनुमान छ।
दशैंका दिन कात्तिक ७ गते श्रीदेवी तीनै छोराछोरी सहित माइती गाउँ गएकी थिइन्। अर्को दिन माइती गाउँबाट फर्केकी थिइन्।
कात्तिक ९ गते ढोकामा ताला लगाएको देखेपछि माइती गाउँमै होलान् भन्ने सोचेर स्थानीयले वास्ता गरेका थिए। अर्को दिन पनि ढोकामा ताला नै थियो। तेस्रो दिन कात्तिक १० गते बिहान पनि ताला नै देखेपछि स्थानीय बासिन्दा ढोका फुटालेर भित्र पस्दा चारै जना मृत अवस्थामा भेटिएका थिए।
त्यसपछि गाउँमा पुगेको मुगु प्रहरीको टोलीले घरलाई पहरा दिइरहेको छ। घटनाको अनुसन्धान गर्न कर्णाली प्रदेश प्रहरीको विशेष टोली खटाइएको छ। अनुसन्धानका लागि जुम्लाबाट एक र सुर्खेतबाट दुई टोली पठाइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख डीआईजी भीम ढकालले बताए। एउटा टोली घटनास्थल पुगिसकेको छ भने अरू दुई टोली आज अपराह्नसम्म पुग्ने ढकालले बताए।
सुर्खेतबाट वरिष्ठ सई नारायण शर्माको नेतृत्वमा पाँचसदस्यीय विशेष टोली खटिएको छ। त्यस्तै, तालीमप्राप्त कुकुर सहितको टोली पनि खटाइएको डीआईजी ढकालले बताए।
जिल्ला प्रहरी कार्यालय, मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाको नेतृत्वमा कात्तिक १० गते नै प्रहरी टोली घटनास्थल पुगेको थियो। चारैतिरबाट अनुसन्धान भइरहेको डीआईजी ढकालको भनाइ छ।
प्रहरीले टोलीले कात्तिक १० गते दिनभर स्थानीय बासिन्दासँग सोधपुछ गरेको छ। प्रारम्भिक सूचना लिने काम गरिएको भए पनि कसले किन हत्या गर्यो भन्ने खुल्न सकेको छैन। त्यसैले विशेषज्ञ टोली नपुग्दासम्म घटनास्थललाई सिल गरेर प्रहरीले पहरा दिइरहेको छ।