गन्तव्यभन्दा बेजोड यात्राको रोमाञ्च (घुमन्तेका १० रोजाइ)
एक नेपाली युवाको शोखको रुपमा शुरू भएको ‘घुमन्ते’ यात्राले पूरै पुस्तालाई नै आफ्नो देश दर्शन गर्न प्रेरित गरिरहेको छ।
कञ्चन राईलाई युवा वयमै घुम्ने लत लाग्यो। बिदाका दिन उनी दिनभरी काठमाडौं वरपरका डाँडामा घुम्न जान्थे र साँझ ढिलो गरी घर फर्कन्थे। यो व्यवहार देखेर उनकी आमाले घुमन्ते उपनाम दिइन्। घुमन्ते, अर्थात् घुम्न जन्मेको प्राणी।
उमेर चढ्दै गएसँगै पनि उनको घुम्ने शोखमा कुनै कमी आएन। आफ्नो घुमन्ते उपनाम अनुसारको काम गर्दै गए। बितेका केही वर्षमा उनले नेपालको धेरै ठाउँमा यात्रा गरेर घुमन्ते यात्रालाई जारी राखे।
अहिले सामाजिक सञ्जालमा ‘घुमन्ते’ ब्रान्ड चलाएका छन्, जसले युवा पुस्तालाई नेपालका कम चल्तीका हिँड्ने बाटोमा यात्रा गर्न प्रोत्साहित गर्दै छ। “अब त कसैले घुमन्ते भन्छ भने पनि त्यो अपमानजनक मानिँदैन,” राई भन्छन्, “अहिले त सामाजिक सञ्जालमा कयौं त्यस्ता आइडी छन्, जसको नाममा घुमन्ते जोडिएको छ।”
तर, राईले थालेको घुमन्ते आजभन्दा दश वर्षअघि एउटा ब्लगको रुपमा शुरू भएको थियो। उनी एक सूचना प्राविधिक पनि भएकाले अतिरिक्त आम्दानीको उपाय बन्न सक्छ कि भनेर यात्रा ब्लग शुरू गरेका थिए। साइट अलिअलि चल्यो भन्ने गुगल विज्ञापनबाट थोरबहुत पैसा हात लाग्छ भन्ने उनलाई थाहा थियो।
एसईओमा विज्ञता राख्ने उनका एक मित्रले र्याङकिङ बढाउने कुरा सिकाइदिए। अनि उनले ब्लग मात्रमा सीमित नभई फेसबूक पेज पनि शुरू गरे। विभिन्न ठाउँको यात्रा गरेका यात्रीबाट फोटो जुटाए।
कामका कारण घुम्न जाने समय नहुँदाका शुरुआति दिनमा उनले आफ्ना दाजुभाइसँग उनीहरूले गरेको यात्राको फोटो माग्दै फेसबूकमा पोस्ट गर्ने गरे। पछि फोटोग्राफर मित्र प्रकाश बुढासँग सहकार्य गरे। उनीहरूले फोटो उपलब्ध गराउने सहयोगी मित्रलाई घुमन्तेको टिसर्ट पनि उपहार दिए।
विस्तारै घुमन्तेको ब्लग र फेसबूक पेज लोकप्रिय हुँदै आयो। “हामी कपिराइटको सम्बन्धमा गम्भीर छौं। त्यसैले हामीले लाइक र फलोअर्स बढाउनकै लागि इन्टरनेटमा उपलब्ध राम्रा फोटोलाई उपयोग गरेनौं,” राई भन्छन्।
ब्लग र फेसबूक पेज शुरू गरेको झण्डै दुई वर्षपछि घुमन्तेको लागि घुम्ने क्षण आइपुग्यो, जब घुमन्तेको यात्रा भिडिओमार्फत पनि प्रसार गर्न सकिने भयो। त्यो वेला उनी थाइल्यान्डमा काम गर्दै थिए र बिदा हुनासाथ नेपाल घुम्न आइहाल्थे। त्यो वेला उनी भर्खर चलनचल्तीमा आएको भिडिओ खिच्ने गोप्रो क्यामरासहित नेपाल आएका थिए। नेपालमा उनले आफ्नो जस्तै यात्रा गर्ने र त्यसको फोटो भिडिओ प्रसार गर्ने रुचि भएका युवा देखे।
अनि २०७२ सालको हिउँदमा गुफा पोखरी पुगे। उनीहरूले भिडिओ एडिटिङ र स्क्रिप्ट लेखन पनि सिके। विस्तारै घुमन्तेको विस्तार हुँदै गयो र चार वर्षअघि उनी अब यही कामलाई पेशागत रुपमा अघि बढाउने सोचले नेपाल फर्किए।
उनले युट्युबमा भिडिओ अपलोड गर्न एउटा टोली नै बनाए। तर, त्यहीवेला कोभिड-१९ महामारी फैलियो। “त्यो वेला त मलाई पत्रकार पो हुनुपर्थ्यो कि भन्ने लाग्थ्यो। पत्रकार भएको भए प्रेस पास पाइन्थ्यो र घुमफिर गर्न सजिलो हुन्थ्यो,” राई भन्छन्, “कसैले हिड्न नपाउने वेला हिँडडुल गर्न पाउनु पनि गजब्बै हुन्थ्यो।”
घुमन्तेको युट्युब च्यानलमा अहिले नेपालको तराई, पहाड र हिमालका १२५ वटा भिडिओ अपलोड भएका छन्। ती भिडिओ हेर्नेको संख्या दुई करोड ४० लाख नाघेको छ। विगतमा राईले आफ्नो बचतबाट भएका खर्च व्यवस्थापन गर्थे भने अहिले साझेदार र प्रायोजक पाएका छन्।
कहाँको यात्रा गर्ने र कस्तो भिडिओ बनाउने भनेर उनी दुई महीनादेखि वर्षदिनसम्म योजना र तयारी गर्छन्। तयारी टोलीले यात्रा गरिने स्थानको उचाइ, खानेबस्ने सुविधा, बाटोको अवस्था, यात्राका सघाउन सक्ने स्थानीय व्यक्तिको पहिचान र सम्पर्क गर्ने लगायतको काम गर्ने गर्छन्। “यात्रा गर्नु भनेको आफ्नो क्षितिजलाई फराकिलो पार्नु हो,” राई भन्छन्, “यात्रा नगर्नेले पूरै किताबको एक पृष्ठ मात्र छिचोल्छ।”
अचेल मान्छेहरूले कुनै ठाउँमा यात्रा गर्नुअघि घुमन्तेको भिडिओलाई सन्दर्भका रुपमा लिने गरेका छन्। यसले उनलाई थप जिम्मेवार र गौरवान्वित बनाएको अनुभव छ। “हामीले कुनै ठाउँमा यात्रा गर्दा त्यहाँको संस्कृति, समुदाय र स्थानलाई पनि सम्मान गर्नुपर्छ,” राई भन्छन्, “जिम्मेवार यात्री हुनुपर्छ र घुमेका ठाउँमा हाम्रो पदचापबाहेक केही पनि छोड्नु हुँदैन। हामीले हाम्रो भिडिओमा दिने सन्देश पनि त्यही नै हो।”
उनीहरू जहाँ जहाँ घुम्न जाने गर्छन्, त्यहाँका स्थानीय बासिन्दालाई रैथाने खानपान र वास्तुकलाको जगेर्ना गर्न पनि सुझाउने गर्छन्। किनभने पर्यटकलाई आकर्षित गर्ने कुरा तिनै हुन्। होमस्टेमा सिमेन्टकै भवन हुनुपर्छ भन्ने छैन, परम्परागत रुपमै बनेको भवन नै आकर्षणको केन्द्र बन्न सक्छ। आखिरमा रैथानेपन र स्थानीयपनमा नै पर्यटक रुमाउने हुन्।
“हामीलाई पहाडको टुप्पोमा भ्यू-टावर चाहिँदैन। दुरबिनले हेर्दा नै राम्रो देखिन्छ,” राई भन्छन्। अबको उनको सोच यात्रा सम्बन्धी डकुमेन्ट्र बनाउनेछ।
घुमन्तेका १० सिफारिश
कुनै पनि ठाउँमा घुम्न जाँदा त्यहाँको गन्तव्य, समय, बजेट, शारीरिक अवस्था, अनुसन्धान र स्थानीय संस्कृति र रितिरिवाजलाई सम्मान गर्नुपर्ने कुरालाई प्राथमिकतामा राख्न घुमन्तेको सुझाव छ।
१) मिलेनियम ट्रेक, तनहुँ र स्याङजा
सन् २००० मा तनहुँ र स्याङ्जाका सांस्कृतिक रुपमा समृद्ध गुरुङ र मगर वस्ती हुँदै नयाँ पदमार्गको खोलिएको थियो। द्वन्द्वका कारण यो पदमार्गको चलेको थिएन।
यो पदमार्गलाई सजिलो पदमार्गकै रुपमा लिइन्छ किनभने यो पदमार्गमा पर्ने उचो स्थानको उचाई समुद्री सतहभन्दा एक हजार ८०० मिटर मात्रै छ। यस पदमार्गमा अन्नपूर्ण, मनास्लू र धौलागिरिको मनोरम र अद्भूत दृश्य देखिन्छन्।
२) बडिमालिका, बाजुरा
धार्मिक गन्तव्यको रुपमा लोकप्रिय बढिमालिका प्राकृतिक भूदृश्यको लागि पनि चर्चित ठाउँ हो। यो स्थान केही दुर्गममा भएकाले पनि यहाँको प्राकृतिक छटा जस्ताको त्यस्तै छ र ‘विकासे पर्यटन’ले प्रभाव पारेको छैन।
बडिमालिकाको यात्रा जाडोको मौसममा बाहेक कुनै पनि याममा गर्न सकिन्छ।
३) रामारोशन, अछाम
यो क्षेत्र दुई हजार ५०० मिटरको उचाइमा मात्रै छैन, यहाँ १२ वटा ताल र १८ वटा घाँसे मैदान छन्। रामारोशनको सिमसार क्षेत्र लुकेको रत्न सरह छ।
अहिले सडक र हवाइमार्गबाट सजिलै पुग्न सकिने रामारोशनमा यात्रीले लालीगुराँसको जंगल र कञ्चन पानीको दहमा खेलिरहेका हाँस देख्न पाउँछन्। यहाँ देखिने झरना र घाँसे मैदानमा चरिरहेका घोडाको दृश्यले आनन्दित बनाउँछ।
४) जनकपुर, धनुषा
नेपालमा घुम्ने ठाउँमा हिमाली र पहाडी क्षेत्र प्राथमिकतामा परेको जस्तो देखिए पनि तराई तथा समथर मैदानमा घुम्ने एउटा राम्रो गन्तव्य जनकपुर पनि हो।
जनकपुरमा जानकी मन्दिरबाहेक पनि ७० भन्दा बढी मठमन्दिर छन् भने अनेकौं तालतलैया छन्। यहाँको मिथिला कला र संस्कृति पनि दर्शनीय छ।
५) थारु समुदायिक लज, नवलपुर
नारायणी नदीमा साँझको वेला देखिने सूर्यास्तको दृश्यले नवलपुरको थारू संस्कृति पस्कने हामेस्टेलाई विशेष बनाएको छ।
यहाँबाट चितवन राष्ट्रिय निकुञ्जको भ्रमण गर्न सकिन्छ। यहाँ विषेश गरी फागू पूर्णिमाको दिनमा आउन सक्दा गजब रमाइलो हुन्छ।
६) कञ्चनजङ्घा आधारशिविर, ताप्लेजुङ
कुनै पनि उत्साही यात्रीलाई कञ्चनजङ्घा आधारशिविरको पदयात्रा सन्तुष्ट पार्ने खालको छ। दशदेखि पन्ध्र दिनसम्म गर्न सकिने यो पदयात्रा नेपालकै उचाइको विविधता भएको पदयात्रामा पर्छ।
यो पदयात्रा झापामा समुद्री सतहभन्दा २००-३०० मिटरदेखि शुरू भएर पाँच हजार १४० मिटरसम्म विस्तारित छ।
७) अपि आधारशिविर, दार्चुला
सात हजार १३२ मिटर उचाइको अपि हिमाल नेपालको सबैभन्दा पश्चिममा रहेको हिउँ टाकुरा हो। धुपीको जंलगमा गरिने क्याम्पिङबाट बिहानको सूर्योदयसँगै चराको चिरबिर र खोलाको कलकल आवाजले मन्त्रमुग्ध बनाउँछ।
चल्तीको ‘रुट’भन्दा परको अपि हिमालको आधारशिविर पुग्नु भनेको नेपालको एक दुर्गम र पुग्नै गाह्रो भागको यात्रा हो। यहाँ पुगिसकेपछि देखिने रहनसहन, दृष्टिकोण र सांस्कृतिक छटालेसबैलाई अप्रभावित राखिराख्न सक्दैन।
८) मुगु
रारा तालका कारण मुगु प्रसिद्ध छ। तर, मुगुमा रारा ताल मात्रै छैन, हेर्न र घुम्नका लागि अरू धेरै ठाउँ छन्।
मनोरम घाँसे मैदान उत्तिकै चित्ताकर्षक छन्। मुगु पर्यटनको अत्यधिक सम्भावना भएको जिल्ला हो।
९) पिकी पिक, सोलु
नेपालको ट्रेकिङमा गोप्य मानिएको यात्रो हो, सोलुखुम्बुको पिकी पिकको। नेपालमा भएका आठ हजार मिटरभन्दा माथिका सगरमाथा सहित सात वटा हिमशिखरको दृश्य पिकी पिकबाट देखिन्छ।
हाल पिकी पिक पुग्न काठमाडौंदेखि जिरीसम्मको सडकमार्ग तथा सोलु राजमार्ग ओखलढुंगाबाट फाप्लुसम्म पुगेकाले सबै उमेर समूहका मान्छेका लागि पहुँचमा रहेको गन्तव्य बनेको छ।
१०) पाँचपोखरी, सोलुखुम्बु, रामेछाप, सिन्धुपाल्चोक
नेपालका धेरै ठाउँमा पाँचपोखरी छन्। तीमध्ये धेरै हिमाली क्षेत्रमा भएका पवित्र कुण्ड हुन्। यसमा सिन्धुपाल्चोकको पाँचपोखरी चर्चित छ, जहाँ हरिया घाँसे मैदान र जंगली फूलहरुको भएको भूक्षेत्रबाट हिमाल नजिकै उभिइरहेको देख्न सकिन्छ।
यस्तै पाँचपोखरी अन्यत्र पनि छन्। विशेष गरेर सोलुखुम्बु र सिन्धुपाल्चोकमा रहेका पाँचपोखरी घुम्नलायक गन्तव्य हुन्।
(नेपाली टाइम्समा प्रकाशित यो सामग्री महेश्वर आचार्यले अनुवाद गरेका हुन्। अंग्रेजीमा पढ्न यहाँ क्लिक गर्नुहोस्।)