ज्वरो आएर अस्पताल पुग्ने अधिकांशलाई डेंगी
केही दिनयता ज्वरो आएर अस्पताल पुग्ने गरेका अधिकांश व्यक्तिमा डेंगीको संक्रमण देखिइरहेको चिकित्सकले बताएका छन्।
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दशैंको वेला पनि भीड कम भएन। ज्वरोको लक्षण लिएर दैनिक बिरामी आइरहे।
अस्पतालमा कार्यरत चिकित्सक डा. शेरबहादुर पुनका अनुसार २० जना ज्वरोको लक्षण लिएर पुगेकामध्ये १५ देखि १८ जनामा डेंगी र एकाधलाई ‘सिजनल फ्लु’ देखिएको छ। जसमध्ये अधिकांश अघिल्लो वर्ष पनि डेंगी संक्रमित भएका थिए। “ज्वरोको लक्षण लिएर अस्पताल पुग्ने अधिकाशंलाई डेंगी देखिएको छ,” डा. पुन भन्छन्।
सामान्यतया वर्षातको मौसम सकिएसँगै र चिसो बढ्न थालेपछि डेंगीको प्रकोप घट्ने आकलन गरिन्छ। तर, पछिल्ला वर्षहरूमा कात्तिक र मंसीरको समयमा समेत डेंगीका बिरामी घटेका छैनन्। वर्षात पछिको यौ मौसम डेंगी सार्ने लामखुट्टेको लागि उपयुक्त मानिने डा. पुन बताउँछन्।
उनका अनुसार, यो सिजनमा वर्षाको पानी नभए पनि घर वरपर तथा गमलामा जमेको पानीमा डेंगी सार्ने लामखुट्टेले फूल पारेर प्रकोप बढ्ने सम्भावना हुन्छ। “अहिलेको मौसम र तापक्रम डेंगी सार्ने लामखुट्टेको लागि उपयुक्त छ,” डा. पुन भन्छन्।
इपिडिमियोलोजिस्टहरूका अनुसार, डेंगी सार्ने लामखुट्टेका लागि १० देखि २५ डिग्री सेल्सियसको वातावरण उत्तम मानिन्छ। बढ्दो तापक्रमले उच्च पहाडी क्षेत्र समेत लामखुट्टेका लागि बसोबास र प्रजनन गर्न अनुकूल बन्दै गएको छ।
ल्यानसेट जर्नलमा २०७६ सालमा द डेंगी इपिडेमिक एन्ड क्लाइमेट चेन्ज इन नेपाल अध्ययन प्रकाशित भएको थियो। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख वासुदेव पाण्डे र ग्लोबल हेल्थ एन्ड सस्टेनेबल डेभलपमेन्ट युनिभर्सिटी कलेज लन्डनका एन्थोनी कोस्टेलोले गरेको अध्ययनले पनि बढ्दो तापक्रम, वर्षा र आद्रताका कारण डेंगी सार्ने लामखुट्टेको वासस्थान फराकिलो हुँदै गएको देखाएको छ।
टेकु अस्पतालमा डेंगीका बिरामी बढेजस्तै ज्वरोको लक्षण लिएर अन्य अस्पतालमा पुग्ने व्यक्तिमा पनि डेंगी देखिएको छ। ज्वरोको लक्षण लिएर सिभिल, पाटन, वीर र त्रिवि शिक्षण अस्पतालमा पुग्ने बिरामीमा समेत डेंगी देखिएको चिकित्सकहरू बताउँछन्। तर, यो पटक अघिल्लो वर्षको जस्तो सिकिस्त बनाउने लक्षण नदेखिएको उनीहरूको भनाइ छ। त्यसमा कुन सेरोटाइपको डेंगीले संक्रमण भयो भन्ने कुराले अर्थ राख्ने डा. पुन बताउँछन्।
डेंगी भाइरस चार प्रजातिको हुन्छ, ‘डेन-१’, ‘डेन-२’, ‘डेन-३’ र ‘डेन-४’। नेपालमा हालसम्म ‘डेन-२’ र ‘डेन-३’ प्रजातिको डेंगी भेटिएको छ। ‘डेन-४’ प्रजातिको डेंगीको संक्रमण हालसम्म नभेटिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ।
एक पटक एक प्रकारको डेंगी लागेपछि जीवनभर त्यही प्रकारको डेंगी नलाग्ने विज्ञहरू बताउँछन्। तर, अन्य प्रकारको डेंगी लाग्न सक्छ। दोस्रो पटक लाग्ने डेंगी पहिलेको तुलनामा बढी खतरनाक हुने अमेरिकास्थित सेन्टर फर डिजिज कन्ट्रोलले गरेको अनुसन्धानमा पाइएको छ।
एक प्रकारको विषाणुबाट (सेरोटाइप) डेंगी भइसकेको व्यक्तिलाई अर्को प्रकारको विषाणु भएको लामखुट्टेले टोकेको अवस्थामा डेंगी घातक हुने अनुसन्धानमा उल्लेख छ। अर्थात् यस्तो विषाणुले सारेको डेंगीले गर्दा शरीरको रगत जम्न (क्लटिङ) प्रक्रिया अव्यवस्थित हुन्छ। यसको घातक प्रभावले शरीरभर रक्तस्राव हुन सक्छ।
नेपालमा पछिल्लो समय कुन सेरोटाइपले संक्रमण गरेको छ भन्ने विषयमा अध्ययन भएको छैन। यो पटक अस्पताल पुग्ने बिरामीमध्ये धेरैलाई दोस्रो पटक डेंगी भएको पाइएको डा. पुन बताउँछन्। यो पटक पहिलेको सेरोटाइपले संक्रमण गराएको हुनसक्ने उनको अनुमान छ। तर, यो विषयमा इपिडिमियोलोजी तथा रोग नियण्त्रण महाशाखाखे कुनै अनुसन्धान गरेको छैन। उनी भन्छन्, “बिरामीको लक्षण हेर्दा पहिलेको सेरोटाइपले संक्रमण भएको हुनसक्ने आशंका गर्न सकिन्छ, किनकि यो पटक डेंगीले पहिलेजस्तो दुःख दिएको छैन।”
नेपालमा यो वर्ष साउनको पहिलो सातादेखि डेंगीको प्रकोप शुरू भएको हो। तर, अघिल्लो वर्षझै यसले प्रकोपको रुप भने लिएन। २०७९ सालमा भने डेंगीको प्रकोप ७६ जिल्लामा फैलियो। ५४ हजार ७८४ जना संक्रमित हुँदा ८८ जनाको ज्यानै गयो।
त्यस्तै संक्रमित भएका मानिस तीनदेखि सात दिनसम्म ‘क्रिटिकल’ अवस्थामा पुगेका थिए। यो पटक भने बिरामीमा कडा किसिमको लक्षण देखिएको छैन।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाकाको तथ्याङ्कअनुसार, कात्तिक १ गतेसम्म १५ हजार ३९४ जनामा डेंगी देखिँदा १० जनाको मृत्यु भएको छ। महाशाखाले कात्तिक १ गते यताको तथ्यांक भने अपडेट गरेको छैन।