मुगुमा एकै परिवारका चार जनाको हत्या
मुगुको छायानाथ रारा नगरपालिका-६, मुन्दुगाउँमा एकै परिवारका चार जनाको हत्या गरिएको छ।
मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवि बोहोरा, उनका छोराछोरी ११ वर्षीय मनोज बोहोरा, सात वर्षीया अपसरा बोहरा र एक वर्षीय रहर बोहोरा घरभित्रै मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए।
स्थानीय बासिन्दाले प्रहरीमा खबर गरेपछि शुक्रबार थापाको नेतृत्वमा प्रहरी टोली मुन्दुगाउँ पुगेको छ। प्रारम्भिक अनुसन्धानमा श्रीदेवि छोराछोरी सहित कात्तिक ७ गते बिहान दशैंको टीका थाप्न माइती गाउँ कोटिल्ला गएकी थिइन्। अर्को दिन कात्तिक ७ गते बेलुका घर फर्केका उनीहरू त्यही राति हत्या भएको प्रहरीको अनुमान छ।
कात्तिक ९ गते बिहानैदेखि घर बाहिर ताला लगाएको देखेपछि छिमेकीले खेततिर गएका होलान भनेर वास्ता गरेका थिएनन्। त्यसपछि अर्को दिन कात्तिक १० गते पनि घरमा ताला लगाएको देखेपछि माइतीबाट फर्केका छैनन् भन्ने सोचेको बताएका छन्।
आज बिहान पनि ताला नै देखेपछि स्थानीय बासिन्दाले ढोका फुटालेका थिए। बिहान १० बजे ढोका फुटालेर हेर्दा चारै जना मृत अवस्थामा भेटिएको पाइएको डीएसपी थापाले बताए। “चारै जनाको घाटी रेटेर हत्या गरिएको छ,” उनले भने।
श्रीदेवीका श्रीमान वैदेशिक रोजगारीमा विदेश छन्। कसले किन हत्या गरेको भन्ने खुलेको छैन।
घटनाको अनुसन्धान भइरहेको डीएसपी थापाले बताए। गाउँका सबै व्यक्तिसँग सोधपुछ भइरहेको उनले बताए।
घटनास्थल पुग्न जिल्ला सदरमुकाम गमगढीबाट तीन घण्टा लाग्छ।