दिनहुँ ५०० मेगावाट विद्युत् खेर, थप बिजुली निर्यात गर्न भारतले दिएन स्वीकृति
देशभित्रको आन्तरिक विद्युत् खपत घट्दा जलविद्युत आयोजनाहरूबाट उत्पादित करीब ५०० मेगावाट विद्युत् खेर गइरहेको छ।
दशैंमा विद्युत् बढी खपत गर्ने उद्योग कलकारखाना बन्द हुँदा र काठमाडौंमा चिसो शुरू भइनसकेको तथा तराईमा गर्मी पनि सकिएकाले आन्तरिक रुपमा विद्युत्को माग घटेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। त्यसैकारण विद्युत् खेर गएको हो।
बर्खा सकिएको र नदी तथा खोलानालामा सफा पानीको बहाव हुने भएकाले यो समयमा विद्युत् उत्पादन बढ्छ। यो अवधिमा नेपाल विद्युत प्राधिकरण, यसका सहायक कम्पनीहरू र नीजि क्षेत्रका स्वामित्वका जलविद्युत आयोजनाबाट विना अवरोध जडित क्षमताको उच्चतम् विद्युत् उत्पादन हुने गरेको छ।
प्राधिकरण, यसका सहायक कम्पनी र नीजि क्षेत्र क्षेत्रका जलविद्युत आयोजनाबाट हाल दैनिक करीब दुई हजार २०० मेगावाट विद्युत् उत्पादन भइरहेको छ। त्यसमध्ये करीब एक हजार मेगावाट देशभित्र खपत भइरहेको छ भने करीब साढे ६०० देखि ७०० मेगावाटसम्म विद्युत् भारततर्फ निर्यात भइरहेको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उत्पादित विद्युत् देशभित्र खपत गर्न नसक्दा र थप निर्यातका लागि भारतबाट स्वीकृति पाउन नसक्दा अहिले दैनिक रुपमा ५०० मेगावाटको हाराहारीमा विद्युत् खेर फाल्नु पर्ने अवस्था उत्पन्न भएको बताए। “दशैंका कारण आन्तरिक रुपमा माग घटेको छ, यही अवस्थालाई ध्यान दिएर यहाँ खपत गरी बचत भएको थप करीब ३०० मेगावाट विद्युत् निर्यात स्वीकृतिका लागि भारतको केन्द्रीय विद्युत् प्राधिकरणमा पठाएका थियौं, तर अहिलेसम्म स्वीकृति पाउन नसक्दा फूलपातीको अघिल्लो दिनबाट दैनिक रुपमा करीब ५०० मेगावाट विद्युत् खेर गइरहेको छ, यसबाट दैनिक रुपमा करौंडौं रुपैयाँ गुमाइरहेका छौं,” कार्यकारी निर्देशक घिसिङले भने।
उनले प्रक्रियामा रहेकाले छिट्टै थप विद्युत् निर्यातका लागि स्वीकृति पाउनेमा विश्वस्त भएको बताए। स्वीकृति नपाउने हो भने अझै विद्युत् खेर फाल्नु पर्ने अवस्था आउने पनि उनले बताए।
प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ। प्रााधिकरणले आइएक्सको डे-अहेड बजारमा प्रतिस्पर्धामार्फत र केहीअघिबाट मध्यकालीन विद्युत् सम्झौताबमोजिम करीब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटीपीसी विद्युत व्यापार निगम लि-एनभीभीएनलाई बिक्री गरिरहेको छ। एनभीएनले उक्त विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ।
भारतको केन्द्रीय विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा निर्यातका लागि स्वीकृति दिइएकै ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करीब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा बिक्रीलाई पनि अनुमति दिएको छ। नेपाल विद्युत प्राधिकरणले प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र एनभीभीएनलाई ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत निर्यातका लागि स्वीकृति पाएको छ। यसमध्ये ५६२ मेगावाट विद्युत् ढल्केबर-मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारण लाइनबाट र ७० मेगावाट महेन्द्रनगर-टनकपुर १३२ केभी प्रसारण लाइनबाट निर्यात भइरहेको छ।
प्राधिकरणले गत जेठदेखि असोजसम्म ११ अर्ब ८० करोड २८ लाख रुपैयाँको विद्युत् भारततर्फ निर्यात गरेको छ। प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् यस वर्ष गत जेठ २८ बाट भारतीय बजारमा बिक्री शुरू गरेको थियो।
प्राधिकरणले चालू आर्थिक वर्ष २०८०/८१ को साउन, भदौ र असोजमा नौ अर्ब ६४ करोड ५४ लाख रुपैयाँको विद्युत् भारतर्फ निर्यात गरेको छ। असोजमा मात्र चार अर्ब दुई करोड ३५ लाख रुपैयाँको विद्युत् निर्यात गरिएको छ।
तीन महीनामा भारततर्फ निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट १० रुपैयाँ २७ पैसा रहेको छ। जेठ र असारमा भारतर्फत निर्यात गरिएको विद्युत्को औसत दर प्रतियुनिट नौ रुपैयाँ ६७ पैसा थियो।