जब अख्तियारका आयुक्तले घूस लिएको भिडिओ प्रधानमन्त्रीको हातमा पुग्यो
अख्तियारका आयुक्त राजनारायण पाठकले इन्जिनीयरिङ कलेजको सम्पत्ति व्यक्तिका नाममा बनाइदिन घूस लिएको समाचार प्रकाशन भएपछि भिडिओ लुकाइरहेकाहरू पनि सार्वजनिक गर्न बाध्य भएका थिए।
२०७८ जेठ २८ मा मैले नागरिक दैनिक छाडें। ठ्याक्कै त्यही दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकले घूस खाएको सूचना पाएको थिएँ। तर सूचना पुष्टि गर्न स्रोत पछ्याउँदै जाँदा समाचार तयार पार्न आठ महीना लाग्यो।
यो सूचना मलाई पहिलेदेखि सम्पर्कमा रहेकै स्रोतले दिएका हुन्। उनीहरूले यसलाई पुष्टि गर्ने भिडिओ पनि रहेको सुनाए। तर तत्काल दिइहाल्न मानेनन्। ‘समय आएपछि दिन्छौं’ भने।
यति वेलासम्म पाठकले के कामका लागि कोसँग अनि कति घूस खाएका हुन् भन्ने थाहा थिएन। तैपनि अरू स्रोतबाट पुष्टि गर्न सकिएला कि भन्दै खोजीमा जुटें। अनौपचारिक कुराकानीमा धेरैजसो व्यक्ति सूचना सही रहेको संकेत गर्थे तर प्रस्ट भन्दैनथे।
त्यही क्रममा सूचना चुहाउनेमध्येकै एक जनालाई सोधें, “भिडिओमा के छ, घूस कसले किन खुवाएको हो?”
उनले त्यसमा भक्तपुरको दुवाकोटमा रहेको नेपाल इन्जिनीयरिङ कलेजका अध्यक्ष लम्बोदर न्यौपानेले पाठकलाई ७८ लाख घूस खुवाएको प्रस्टिने संवाद रहेको बताए।
अब बलियो ‘क्लू’ मिले जस्तो लाग्यो। किनकि त्यो कलेजको स्वामित्व विवाद पहिल्यैदेखि चलिरहेकै थियो र त्यसबारे पहिल्यै रिपोर्टिङ गरिसकेको थिएँ।
२०५० सालतिरै अर्बौंको सम्पत्ति रहेको कलेज स्थापना र सञ्चालनमा स्थानीय बासिन्दाको पनि उल्लेख्य सहयोग थियो। सार्वजनिक जग्गामा सञ्चालित कलेजको सम्पत्ति अध्यक्ष न्यौपानेले आफ्नो नाममा पार्न खोजेपछि विवाद चर्किएको थियो।
त्यति वेला ‘इन्जिनीयरिङ कलेजको अर्बौंको सार्वजनिक जग्गा व्यक्तिका नाममा लैजान खोजिएको’ भनी समाचार लेखेको थिएँ। त्यही विषयमा अख्तियारमा उजुरी परेको रहेछ। अख्तियारमा शिक्षाक्षेत्रका उजुरी हेर्ने जिम्मा पाठकको रहेछ।
पाठकले ‘त्यही जग्गाको स्वामित्व तपाईंको नाममा ल्याइदिन्छु’ भनी न्यौपानेसँग घूस लिएका रहेछन्। तर उनले त्यो काम गर्न नसकेपछि पैसा फिर्ता लिन भिडिओ बनाएका रहेछन्।
घूस प्रकरणमा कलेजको पुरानै विवाद जोडिएको संकेत पाएपछि समाचार तयार पार्ने हुटहुटी बढ्यो। सूचना चुहाउने व्यक्ति भिडिओ दिन अझै तयार थिएनन्। यद्यपि उनीहरूले त्यस प्रकरणसँग सम्बद्ध भनी नाम दिएका व्यक्तिहरू साँच्चै हुन्/होइनन्, तिनको चरित्र कस्तो हो भनेर खोज्न थालें। तिनमा कोही मालपोतका थिए त कोही कलेजकै।
यी सबैसँगको अनौपचारिक कुराकानीमा पाठकले घूस लिएको लगभग निर्क्योल भइसकेको थियो। भिडिओ हात नपर्दा तिनले आफ्नो भनाइ फेरिदेलान् र समाचार झूटो सावित होला भन्ने जोखिम थियो। भिडिओ फुत्काउन सहज किन थिएन भने जोसँग भिडियो थियो, उनीहरू पाठक र न्यौपानेबीच भेट गराइदिने व्यक्ति नै थिए। घूस रकम पाठकसम्म पुर्याउने पनि उनीहरू नै थिए।
पाठकले पैसा फिर्ता नदिने र काम पनि नगरदिएपछि भिडिओ खिचेका रहेछन्। भिडिओ खिच्नेले पहिले पाठकको संवाद रेकर्ड गरे। त्यसपछिका संवाद सुनाएर भिडिओ खिचेका थिए।
यता, पाठक चाहिं उनीहरूबाट भिडिओ फुत्काउन विभिन्न शक्ति केन्द्र धाउँदै रहेछन्। उनी ‘अब म अख्तियारको प्रमुख आयुक्त हुँदै छु, त्यसपछि कुरा मिलाउँला’ भन्दै आश्वासन दिंदै रहेछन्।
एकपछि अर्को भिडिओ खिच्न उनीहरूले जापानबाट नयाँ प्रविधिको गोप्य क्यामेरा ल्याएका रहेछन्, जुन ‘स्टिङ अपरेशन’ गर्नेहरूले प्रयोग गर्थे। त्यो क्यामेरा घडीमा राखेर पाठकले पत्तो नपाउने गरी रेकर्ड गरिएको रहेछ। शुरूको भिडिओ अख्तियार कार्यालयकै थियो। त्यसपछि पाठकको शान्तिनगरस्थित घरको थियो।
स्रोतले जानकारी दिए अनुसार त्यति वेला पाठकलाई जोगाउन केही नेता नै लागिपरेका थिए। प्रहरी समेत परिचालन गरिएको थियो। यो थाहा पाएर न्यौपानेका सहयोगीले पाठकलाई फोन गरेर धम्क्याएपछि बल्ल प्रहरीले पिछा गर्न छाडेछ। त्यति वेला उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशले पठाएको भन्दै केही मानिस भिडिओ माग्न आएको उनीहरू बताउँथे।
पाठकको अख्तियार प्रवेश लोकमानसिंह कार्कीसँगै भएको थियो। त्यसअघि महान्यायाधिवक्ताको कार्यालयमा उनी नायब न्यायाधिवक्ता थिए। अख्तियार गएपछि उनले पैसा उठाउनकै लागि काठमाडौंको तीनकुनेमा कार्यालय नै चलाएका रहेछन्। त्यसमा अन्य सरकारी कर्मचारी पनि जोडिएका थिए।
सूचना पाएपछिको सकस
नागरिक छाडेको डेढ-दुई महीनापछि नेपालखबरमा काम गर्न थालें। सम्पादक कृष्ण ढुंगानालाई त्यो घूस प्रकरणको ‘एक्स्क्लुसिभ’ सूचना र संकलित थप विवरणबारे जानकारी गराइसकेको थिएँ। उहाँले पाए जति सूचना जुटाएर लेख्दै गर्न सुझाव दिनुभयो। यो अवधिमा कुराकानीकै आधारमा मैले भिडिओमा को को छन्, पाठकले केकस्तो संवाद गरेका छन् भन्ने लगभग थाहा पाइसकेको थिएँ।
केही साथीलाई अख्तियारको शीर्ष नेतृत्वसँग कुराकानी पनि गर्न लगाएँ। किनकि उनीहरूसँग साथीहरूको चिनजान मेरो भन्दा राम्रो थियो। त्यति वेला अख्तियार आफैं काण्डहरूमा मुछिएको थियो। लोकमानसिंह कार्की, दीप बस्न्यातको काण्ड सेलाउन नपाउँदै पाठक काण्ड सल्किरहेको रहेछ, भित्रभित्रै। यस्तोमा अख्तियार प्रमुख संस्थाकै साख गिर्ला भन्ने चिन्तामा थिए। त्यसैले उनले पनि घटना सकेसम्म बाहिर नआओस् भन्ने नै चाहेको बुझें।
त्यो भिडिओ तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पुगेको गाइँगुइँ सुनियो। बुझ्दै जाँदा खिच्नेले नै भिडिओ तत्कालीन नेकपाका नेता मार्फत अध्यक्ष ओलीसम्म पुर्याएका रहेछन्। यसो हुँदा भिडिओ बाहिरिने अर्थात् अन्य पत्रकारसम्म पुग्ने जोखिम पनि थियो। तर यसको राम्रो पक्ष- भिडिओ गायब पारिने सम्भावना पनि कम भयो। अर्थात्, मैले लेखिसकेको समाचार कम्तीमा ‘डम्प’ चाहिं नहुने भयो।
प्रधानमन्त्री ओली समक्ष पुगेको भिडिओ अन्य निकट नेताले पनि हेरेको थाहा पाएँ। त्यसपछि म तिनै नेताहरूबाट आफूले लेखेको कुरा ठीक छ/छैन भनेर ‘क्रसचेक’ गराउन थालें। उनीहरूको जवाफ लगभग मेल खाने किसिमकै थियो। मतलब- मैले समातेको ‘एंगल’ सही दिशामा रहेको प्रमाणित हुँदै थियो। यति धेरै स्रोतसँगको कुराकानी र विवरण जुटिसकेपछि सम्पादकले पनि समाचार छाप्न योग्य भएको बताउनुभयो। तैपनि एक पटक शुरूमा सूचना दिने साथीलाई फोन गरें। उनले जोरपाटी बोलाए तर फेरि पनि भिडिओ दिएनन्।
त्यो प्रकरणबारे पाठकको धारणा बुझ्न खोज्दा सम्पर्क हुन सकेन। उनी अख्तियार जानै छाडिसकेका रहेछन्। अन्ततः हामीले अख्तियार आयुक्त पाठकले ७८ लाख घूस लिएको खुलासा शीर्षकमा समाचार प्रकाशन गर्यौं। समाचार आएको १० मिनेटपछि नेपालखबरको सर्भर ‘डाउन’ भएछ। म घर पुग्दासम्म थुप्रै पटक मोबाइलको घण्टी बजिसकेको थियो। यति ठूलो समाचार आएको केही मिनेटमै सर्भर किन डाउन भयो भन्ने उनीहरूको जिज्ञासा रहेछ।
त्यो प्राविधिक समस्या केही बेरमै सुल्झियो। ७८ लाख घूस खाएको दाबी गरिएकोमा प्रधानसम्पादक पूर्ण बस्नेतलाई केही व्यक्तिले ‘भिडिओ विना समाचार हालेर तिमीहरू फस्यौ’ भन्दै फोन गरेका रहेछन्। तर यस प्रकरणमा पाठकलाई ७८ लाख रुपैयाँ मिठाईको डब्बामा हालेर दिइएको सूक्ष्मभन्दा सूक्ष्म विवरणको पनि मसँग जानकारी थियो।
‘एक्स्क्लुसिभ’ समाचार छापिएपछि केकस्तो प्रतिक्रिया आउला भन्ने छटपटी सबै पत्रकारलाई हुन्छ। अर्कातिर, यो प्रकरण अब कसरी अघि बढ्ला भन्ने खुुल्दुली पनि थियो। भोलि पल्ट सबैले घूस काण्ड उजागर गर्ने राम्रो समाचार लेखेको भनी प्रतिक्रिया दिए।
पर्सिपल्ट ती साथीले भिडिओ पनि दिए। त्यसपछि अरू सञ्चारमाध्यमले पनि प्रकाशन/प्रसारण गरे।
यही समाचार त्यति वेला कान्तिपुरमा काम गर्ने कृष्ण ज्ञवाली पनि लेख्दै थिए। पाठकले घूस लिएको विषयमा उनलाई पनि सूचना आएको थियो। हामी दुवै मिलेर खोज पत्रकारिता केन्द्र (खोपके)का लागि लेख्ने कुराकानी पनि भएको थियो। तर खोपके भिडिओ विना छाप्न तयार थिएन। त्यसपछि कृष्णजी र म दुवै आआफ्नै तरीकाले छुट्टाछुट्टै स्टोरी तयार पार्न जुट्यौं।
त्यो रिपोर्टले मलाई मात्र होइन, नेपालखबरलाई पनि पाठकमाझ अझ धेरै चिनायो।
मैले पत्रकारिता थालेको दुई दशक नाघे पनि सम्झनलायक रिपोर्टिङ थोरै मात्र छन्। त्यसैमध्ये पर्छ, तारागाउँ रिसोर्टको शेयरमा चलखेलबारेको रिपोर्ट पनि। त्यो रिपोर्टमा चलखेलबाट स्वार्थ समूहले कसरी अर्बौंको सम्पत्ति हत्याइरहेछ भनेर नागरिक दैनिकमा समाचार लेखेको थिएँ। नेपालखबरमा आएपछि पनि त्यसको ‘फलोअप’ गरें।
त्यस्तै, लागूऔषधको भरिया बनेको आरोपमा धादिङको सत्यवती गाउँका थुप्रै युवक थाइल्यान्डको जेलमा बन्दी थिए। एउटै गाउँका यति धेरै युवक लागूऔषध तस्करीमा लाग्नु अचम्मलाग्दो थियो। उनीहरू थाई जेलमा रहेको समाचार ब्यांककमै पुगेर लेखिए पनि गाउँमा पुगेर रिपोर्टिङ भएको थिएन।
म गाउँमै गएर उनीहरूका परिवार अनि १६-१७ वर्ष जेल बसेर छुटेकाहरूसँग कुरा गरी नागरिक दैनिक र खोजपत्रकारिता केन्द्रका लागि दुई वटा रिपोर्टिङ गरेको थिएँ। मेरो मुख्य बिट राजनीति भए पनि अरू विषयमा पनि लेख्दै आएकै छु।
सञ्चार क्षेत्रमा मेरो प्रवेश रिपोर्टिङका लागि नभएर प्राविधिक काममा भएको थियो। तर रिपोर्टिङ पनि गर्न सक्ने देखेपछि कार्यालयले त्यसैमा खटायो। शुरूमा क्रिकेटका समाचार लेखें। पछि आर्थिक अनि अन्तर्राष्ट्रिय मामिलामा लेख्न थालें। बीचमा साथीहरू कृष्ण ढुंगाना, उमेश श्रेष्ठ र म मिलेर परेवा डटकम चलायौं। त्यति वेला मैले आन्दोलनकारीलाई उपचार गरेको भनी एक जर्मन डाक्टरलाई सरकारले देशनिकाला गरेको समाचार लेखेको थिएँ। त्यो समाचार परेवा डटकमलाई उद्धृत गर्दै अरूले पनि छापे।
एभिन्यूज, नागरिक, नेपालखबर हुँदै अहिले कान्तिपुरमा आइपुगेको छु। पत्रकारितामा पहिले पनि चुनौती थियो, अहिले पनि छ। पत्रकारिता क्षेत्र संक्रमणको स्थितिमा छ तर यसको ‘स्पेश’ खुम्चिए जस्तो लाग्दैन। अहिले पत्रकारितामा देखिएकै स्थिति २०४७ सालपछि साप्ताहिक पत्रिकाहरूले भोगेका थिए। तर कान्तिपुर जस्ता सञ्चारमाध्यम आएर पत्रकारितालाई नयाँ ढंगले अघि बढाए। अहिलेको परिस्थितिले पनि यस्तै नयाँ बाटो पहिल्याउला भन्ने लाग्छ। सञ्चारगृहले दूरदृष्टि नराखीकन काम गरेकैले अहिले यो क्षेत्रमा लागेका मानिसमा निराशा छाएको हो।
रिपोर्टिङ गर्दा हरेक रिपोर्टरले केही नयाँ दिन सक्नुपर्छ। जुनसुकै बिटमा पनि नयाँ कुरा सिक्न खोज्नेले नै राम्रो रिपोर्ट लेख्न सक्ने हो। यसका लागि योजना बनाएर काम गर्नुपर्छ। अहिलेको समस्या के छ भने हामी वर्षभरि व्यस्त रहन्छौं तर फर्केर हेर्दा देखाउन मिल्ने स्टोरी केही हुन्न। यो क्षेत्रमा आउने साथीहरूले नयाँ कुरा सिक्न र क्षमता अभिवृद्धि गर्नमा निरन्तर जोड दिइरहनुपर्छ।
(पत्रकार दाहालसँग सागर बुढाथोकीले गरेकाे कुराकानीमा आधारित। सम्पादन: प्रदीप खतिवडा, भाषा: प्रद्युम्न खनाल)
त्यो रिपोर्टका थप सामग्री: