माओवादी शक्तिहरू पुनः एक हुनुपर्ने वेला आएको छ: दाहाल
प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले माओवादी शक्तिहरू एक हुने वेला आएको जिकिर गरेका छन्।
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-६ मग्गामा बिहीबार आयोजित शहीद स्मृति मेलाको उद्घाटन गर्दै दाहालले अब माओवादीबाट फुटेर गएका दलबीच एकता आवश्यक रहेको बताए। उनले माओवादीले सञ्चालन गरेको तीन महीने विशेष रुपान्तरण अभियान माओवादी घटक दलबीच एकताको अभियान पनि रहेको बताए।
“हामी ठूलो पार्टीको रुपमा उदाएका थियौं। विडम्बना सबै फरक-फरक बाटोतिर लाग्यौं,” दाहालले भने, “हामीले क्रान्ति गर्ने वेला जुन किसिमको प्रतिबद्धता जनता सामु गरेका थियौं, त्यो प्रतिबद्धता भुल्दै साथीहरू फरक बाटोतिर लाग्नुभयो। शान्ति प्रक्रियापछि के कुरा चित्तै बुझेन, पार्टी नै फुटाउनुभयो।”
केही नेताहरू फरक बाटोमा लागेको भए पनि अझै केही नबिग्रिएको उनको भनाइ थियो। “हामी माओवादी शक्तिहरू पुनः एक हुनुपर्ने वेला आएको छ। हामीले समाजवादी मोर्चा नै बनाएका छौं। त्यही मोर्चा नै भोलि एकताको बाटोमा जान्छ,” दाहालले भने, “समाजवादी मोर्चाको एउटा अभियान छ। हाम्रो पार्टीको एउटा अभियान छ। यो अभियानको सार्थकता भनेकै माओवादी घटक र अन्य विचार मिल्ने पार्टीहरुको एकता हो।”
प्रधानमन्त्री दाहालले वर्तमान सरकार पाँच वर्ष नै टिक्ने दाबी गरे। “हामीले निकै बलियो सरकार बनाएका छौं। यो सरकार पाँच वर्ष नै रहन्छ,” उनले भने, “कोशी प्रदेशमा केही तलमाथि हुँदै गर्दा गठबन्धन विरुद्ध लागेको पनि देखियो। अन्तत कोशीमा पनि गठबन्धकै सरकार बन्छ।”
सरकार ढाल्न र गठबन्धन फुटाउन तर्फ केही दल लागिपरेको उनको आरोप थियो। सरकारले पछिल्लो समय सामाजिक न्यायको लागि विभिन्न भ्रष्टाचारको फाइल खोलेको देख्दा केही दलहरू सरकार ढाल्ने प्रयासमा रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री दाहालले नेपालको राष्ट्रिय स्वतन्त्रताको कुरालाई सरकारले सधैँ अघि राखेर छिमेकी राष्ट्र र अन्य राष्ट्रहरूसँगको कूटनीतिक सम्बन्ध सुदृढ बनाउन सफल भएको जिकिर गरे। “हामीले छिमेकी र मित्र राष्ट्रहहरूसँगको कूटनीतिक सम्बन्धलाई बलियो बनाएका छौं। अझै पनि बलियो हुनेछ,” दाहालले भने, “मैले भारत, चीन र अमेरिकाको भ्रमण पनि गरेँ। ती देशहरू नेपालको समृद्धि, विकासको विषयमा निकै सकारात्मक रहेको देखिन्छन्।”
वर्तमान सरकार गठनपछि सामाजिक न्यायको पक्षमा धेरै राम्रा काम भएको उनको दाबी थियो। “हामीले मिटरव्याजीलाई कारबाही गरेका छौं। नक्कली भुटानी शरणनार्थी, सुन काण्डमा मुछिएकालाई समातेका छौं,” दाहालले भने, “यो काममा गठबन्धनमा रहेका राजनीतिक दलहरुको ठूलो साथ र सहयोग रहेको छ।”