दुर्गा मूर्ति विसर्जन गर्दा नदीमा डुबेका युवक मृत भेटिए
दुर्गाको मूर्ति विसर्जनका क्रममा नदीमा डुबेका युवकको बिहीबार शव भेटिएको छ।
रुपन्देहीको मर्चवारमा कात्तिक ७ गते दुर्गाको मूर्ति बिसर्जन गर्न गएका तीन युवक नदीमा डुबेका थिए। उनीहरूमध्ये दुई जनाको ज्यान गएको थियो भने एक जना हराइरहेका थिए। नदीमा डुबेर २४ वर्षीय अजयकुमार नाउँ र १८ वर्षीय अजय राजभरको मृत्यु भएको थियो।
उनीहरूसँगै मूर्ति विसर्जन गर्न गएका कोटहीमाई-१ का २० वर्षीय सन्तकुमार राजभर तिनाउ र दानव नदीको संगममा डुबेर बेपत्ता थिए। उनको आज शव भेटिएको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक राजेश बस्नेतले बताए।
तीन दिनदेखि स्थानीय बासिन्दा र प्रहरीले खोजीगरिरहेका थिए। बिहीबार अपरान्ह घटनास्थलबाट केही तल तैरिएको अवस्था शव फेला परेको प्रहरी निरीक्षक बस्नेतले बताए।