यो हो प्रेम (कविता)
एकोहोरो विस्मृतिले नछोडे पनि
बचाइराख्छ एउटा सफा स्मृति-चित्र
खड्कुलो-पानीभित्र पौडिरहेको मौन जून होइन
प्रज्वलित ताराकै एक धर्सो सम्झिरहने किरणको जरामा
गन्तव्य सहित बल्न छोड्दैन
तिम्रो-हाम्रो गतिशील जिन्दगीलाई निभ्न दिंदैन
यस्तो जिन्दगी के हो त?
अनेकन् परिभाषा जो-कसैले दिन खोज्लान्
तर न किताब जस्तो हो न त नदी जस्तो नै
‘जस्तो’ सँग दाँज्ने कुरा हुँदैन
संसारभरका मन पर्ने एउटै किताब,
हिमनदी छेवैको या फरक शहरबीचको एउटा प्राचीन किताबालय
त्यसभित्र एउटा अद्वितीय किताब
किताबभित्र पनि एउटा वाक्य
वाक्यभित्र पनि खास-
त्यही एउटा शब्द
शब्दहरू-वाक्यहरू हराउन बेर लाग्दैन
केही फरक पर्दैन
स्मरण गर्दै अहिलेसम्म नभनिएको कथा समेत पक्कै सम्झना हुनेछ
किनकि तिमी आउनेछौ
त्यही शहरमा, त्यही गल्लीमा, त्यही गोरेटोमा
त्यही हिमाल फेदीमा
त्यही अँधेरिंदो सामुद्रिक किनारमा
नयाँ नयाँ बाटोमा या कहिल्यै नकोरिएको नक्शामा
एक धर्सो अटुट किरण
असंख्य किरण भएर पोखिनेछ
यात्रापछि भन्दा यात्राअघि समेत लामो थकाइ लाग्न सक्छ
मशिनहरूको उकुसमुकुस घुइँचो
शासन, अत्याचार, आदेशहरू
किनबेच र सारा कृत्रिमताबाट निस्केर
यतिखेर,
किताबभित्र च्यापिएको एउटा सुक्खा पात झैं हलुङ्गो
या माकुराको जालोमा अल्झिएको चराको मुलायम प्वाँख
अथवा कुनै भुवाँ जस्तै
यो पृथ्वीमै सुस्तरी खस्दै
दोभानको एक हरियो खेतछेउ उभिएको रूखमुनि
हो, आरामले अन्तिम सास फेर्न मन लागेको छ
मृत्यु हुन्छ, एउटा समय न हो
यो अन्तिम डरलाग्दो डर होइन
तिमी मलाई जन्माउँछौ
म तिमीलाई जन्माउँछु
प्रेमका लागि पनि इतिहास जरुरी छ
हामी समय हौं
विगतभन्दा बेसी वर्तमान हो
अनि सधैं नयाँ यात्राको शुरूआत!
हिमाल दशैं साहित्यका थप सामग्री: