नारायणी नदीमा मोटरबोट सरर
वर्षायाम सकिएसँगै नारायणी नदीमा मोटरबोट सञ्चालन हुन थालेका छन्।
असार, साउन र भदौमा नदीमा बाढी आउने भएकाले मोटरबोट बन्द गरिएको थियो। यस वर्ष असोजमा पनि नदीमा पानीको बहाव नघटेकाले अन्तिम सातादेखि मात्रै मोटरबोट सञ्चालन गरिएको नारायणी मोटरबोट व्यवसायी सङ्घका अध्यक्ष अशेष मल्लले बताए।
पछिल्लो समय नारायणी नदीमा मोटरबोट चढेर मनोरञ्जन लिने आन्तरिक पर्यटकको भीड नै लाग्न थालेको छ। यस वर्ष मनसुनका कारण नदीमा असोज अन्तिम सातासम्म बाढी आएकाले मोटरबोट सञ्चालनमा ढिलाइ भएको र अब जेठसम्म नियमित मोटरबोट सञ्चालन हुने मल्लले बताए।
बिदाका दिन मोटरबोट चढ्न आउनेको सङ्ख्या उल्लेख्य हुने गरेको छ । “अहिले दैनिक दुई हजारको हाराहारीमा मोटरबोट चढ्न नारायणी नदी किनारमा पर्यटक आउने गरेका छन्,” अध्यक्ष मल्लले भने, “दशैं र तिहारको समयमा उल्लेख्य मात्रामा पर्यटक आउने गर्छन्।”
२०७६ सालमा एउटा बोट शुरु गरिएको थियो। अहिले सानाठूला गरी ३२ वटा बोट दर्ता भएर सञ्चालनमा छन्। यस वर्ष १९ वटा मोटरबोटले सेवा शुरु गरिसकेकामा चौध वटा कम्पनी भरतपुर महानगरपालिकामा दर्ता छन्।
मोटरबोट कम्पनीले विभिन्न प्याकेजमा सेवा दिइरहेका छन्। नारायणी नदीको पुलदेखि मजुवा टापु पोखरा बसपार्कसम्मको दूरी, मजुवा टापु पोखरा बसपार्कदेखि गैँडाकोटको राधाकृष्ण मन्दिरसम्मको दूरी, मजुवा टापुदेखि पारिजात पार्क र नारायणी पुलदेखि देवघाटसम्मको दूरीमा मोटरबोट सञ्चालन हुने गरेका छन्। एकपटकमा ठूला मोटरबोटमा १८ देखि २५ जनासम्म यात्रु सवार हुन्छन्।
यस्तै साना मोटरबोटमा ६ देखि १२ जनासम्म यात्रु चढ्ने गरेका छन्। छोटो दूरीमा प्रतिव्यक्ति २५० रुपैयाँ र लामो दूरीमा प्रतिव्यक्ति एक हजार ५०० रुपैयाँसम्म शुल्क तोकिएको छ। त्यहाँबाट उठेको रकमको १५ प्रतिशत कर भरतपुर महानगरपालिकाले लिने गरेको छ। (रासस)