इजरायलमा मारिएका विद्यार्थी गणेश नेपालीको शव काठमाडौं ल्याइयो
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये थप एक विद्यार्थीको शव बिहीबार नेपाल ल्याइएको छ।
नेपाल ल्याइएको शव बझाङको जयपृथ्वी-६ का गणेशकुमार नेपालीको रहेको परराष्ट्र मन्त्रालयका सहसचिव शरदराज आरणले बताए। फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे नेपालीको शव काठमाडौं ल्याइएको हो।
इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० विद्यार्थीमध्ये पाँच जनाको शव नेपाल ल्याइएको छ। अब बाँकी पाँच जनाको शव ल्याउन सम्बद्ध नातेदारको डीएनए सङ्कलन गरी पठाइएको र अन्य शव पनि चाडै नेपाल ल्याइने आरणले बताए।
हालसम्म दार्चुलाको मालिकार्जन-४ का लोकेन्द्रसिंह धामी, लेकम-५ का दीपेशराज विष्ट, कैलालीको घोडाघोडी-४ का नारायणप्रसाद न्यौपाने र बौनियाँ-३ का आशिष चौधरीको शव ल्याइसकिएको छ।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो। सुदूरपश्चिम विश्वविद्यालयमा अध्ययनरत उनीहरू कृषि क्षेत्रमा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत् इजरायल गएका थिए।
आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा धनुषाको सापही-६ का आनन्द साह, सुनसरीको मधुवन-१ का राजेशकुमार स्वर्णकार, डोटीको पचनाली-३ का राजन फुलारा, लामीखाल-८ का पदम थापा र सल्यानको सारदा-३ का प्रवेश भण्डारी रहेका छन्। आक्रमणमा परी कञ्चनपुरको भीमदत्त-३ का विपीन जोशी सम्पर्कबिहीन रहेका छन्।