सख्यामा नाच्दै थारु बस्ती (तस्वीरहरू)
दशमीका दिन टीका र जमरा लगाएसँगै दशैंको रमझम कम हुँदै गएको छ, तर थारु बस्तीमा भने सख्या नाचले रौनक थपेको छ।
दशैंभन्दा एक साताअघिदेखि शुरु भएको सख्या नाच अहिले थारु बस्तीमा जारी छ। दशैंको छेको पारेर एक महीना नाचिने सख्या नाच अझै केही दिन थारु बस्तीमा देख्न सकिनेछ।
महाभारत कथासँग जोडिएको सख्या नाच सामूहिक रूपमा मादल र मञ्जिरा बजाउँदै, गीत गाउँदै नाचिन्छ। धार्मिक तथा सांस्कृतिक महत्त्व रहेको यो नाचमा थारु समुदायका हरेक देविदेउताका नामलाई सम्बोधन गरेर सख्या गीत गाइन्छ।
गाउँअनुसार, फरकफरक समयमा समाप्त गरिने भए पनि आउँदो शनिबारसम्म सख्या नाच जारी रहने दाङको दङ्गीशरणमा यसको संयोजन गरिरहेकी सिरु चौधरीले बताइन्।